एमालेले मधेसी जनताको भावना बुझेको छ



० तपाईं तमलोपाको माथिल्लो जिम्मेवारीमा रहेको मान्छे, किन त्यता छाडेर एमालेमा आउनुभयो ?

– म त्यहाँ बसेर सन्तुष्ट हुन सकिनँ । असन्तुष्ट हुनुका कारण धेरै छन् । अहिले मधेसी दलहरूमा एकरूपता देखिएन । उनीहरूको सुरुदेखि नै एकै खालको एजेन्डा छैन । कहिले उनीहरू एक मधेस एक प्रदेश भन्छन् त कहिले दुई मधेस भन्छन् । यस्ता विरोधाभासका कारण उहाँहरू आफ्नो एजेन्डामा एकमत हुनुहुन्न । अडिग हुनुहुन्न । अहिले मधेसी जनताको हितका तहमा उहाँहरू एकमत हुनुहुन्न । अहिले पनि छ पार्टी मिलेको छ तर उनीहरू ६ वटै पार्टीका अध्यक्ष मण्डलहरूका बीचमा अलगअलग धारणा छ ।

० धारणा जे जे भएपनि उधेश्य त मधेशकै हित त थियो होला नि ?

–उहाँहरूले मधेसी जनताको हकअधिकारबारे जति नै कुरा गरे पनि वास्तवमा त्यो देखावटी हो । पहिलो चरणको निर्वाचनका लागि पनि सबै मधेसी दलबीच एकरूपता आएन । मधेसी जनताका हकअधिकारका कुराहरू बिल्कुलै उनीहरूको स्वार्थका कुराहरू मात्र हुन् । उनीहरूले आफ्नो स्वार्थ छोडेको देखिन्न । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको म अहिले पनि राष्ट्रिय अध्यक्ष हुँ । दोस्रो चरणको निर्वाचनको मिति तोकिएपछि मैले निर्वाचन आयोगका प्रमुखलगायत विभिन्न दलका शीर्ष नेताहरूलाई रमजानको समयमा निर्वाचन नगरौं, सारौं भनेर आग्रह गरेको थिएँ । अन्तर्राष्ट्रिय स्तरमै संसारभरिका मुस्लिमहरूको यो महत्वपूर्ण चाड हो । मेरो यो आग्रहका सन्दर्भमा उहाँहरूले खासै पहल पनि गर्नुभएन । मुस्लिमका मुद्दामा उहाँहरूको गम्भीरता देखिएन । सबैभन्दा दुःखलाग्दो कुरा यो हो । मधेसमा मुस्लिमहरूको जुन दुर्दशा छ, त्यसमा उहाँहरूले कहिल्यै पनि ध्यान दिनुभएन । यी कुराहरूका कारण मलाई त्यहाँ बस्न विकर्षण भएको हो । अर्को कुरा देश टुक्र्याउने कुरामा पनि मुस्लिम समुदायले साथ दिनेवाला छैनन् ।

० मधेसीभित्र पछिल्लो समय देश टुक्र्याउनेसम्मका कुरा उठेको छ नि, यसलाई कुन रूपमा लिनुहुन्छ ?

– हामी नेपालभरि विभिन्न जिल्ला र क्षेत्रमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ जो छौं, सबै मिलेर देशलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्छ । देश टुक्र्याउनेसम्मका कुरा र आफ्नो मधेस हामी आफैं बनाउने भन्नेजस्ता कुरामा म सहमत हुन सकिनँ ।

० यो पार्टी छोडेर नेकपा (एमाले) नै चाहिँ किन रोज्नुभयो त ?

– एमालेको राष्ट्रवादी कुरा मलाई असाध्यै चित्त बुझ्यो । अर्को कुरा सबैको भावनालाई समेटेर यो पार्टी अघि बढेको छ । उत्पीडित समुदायको विषय पनि यही पार्टीले अघि सारिरहेको छ । त्यति मात्र होइन, राष्ट्रनिर्माण गर्दै राष्ट्रलाई कसरी बलियो र समृद्ध पार्ने र अन्तराष्ट्रिय जगतमा चिनाउने भन्ने चिन्ता बोकेको पार्टी एमाले हो । राष्ट्र निर्माणमा हामी अगाडि बढ्नुपर्छ भन्ने नाराका कारण म एमालेबाट प्रभावित भएको हुँ । देश र जनताका लागि हामी कहीँ न कहीँ अगाडि बढिरहेका थियौं । कमसेकम एमालेभित्र बसेर पनि त्यो काम गर्ने पाऊँ भन्ने मेरो चाहना थियो । त्योअनुसार नै म एमालेमा समावेश भएको हुँ ।

० मधेसीहरूले एकपछि अर्को माग राख्दै, सरकारले पूरा गर्दै, फेरि अर्को माग राख्दै आइरहेका छन्, यस हिसाबले यिनीहरू कतैबाट परिचालित पो छन् कि भन्ने आशंका गरिन्छ, तपाईंलाई के लाग्छ ?

– प्रथमतः कुरा एउटै किसिमका एजेन्डामा उहाँहरू अडिग हुनुहुन्न । समय अनुसार उहाँहरूको एजेण्डा परिवर्तन हुँदै जाने गरेको छ । जुन राष्ट्र निर्माणको कुरा छ, मधेसी जनताको हक अधिकारको सुनिश्चित गराउने पटकपटक समय आँउदा पनि उनीहरूले आफ्नो नारा मात्र बनाउने र मधेसीहरूलाई बलि मात्र चढाउने काम उहाँहरूबाट भइरहेको छ । विगतको उदाहरण हेर्दा बाबुराम भट्टराईको सरकार हुँदा पनि सबैभन्दा शक्तिशाली मन्त्रालयहरू गृह, भौतिक पूर्वाधर, स्वास्थ्य, सिँचाइ, रक्षा लगायतका महत्वपूर्ण  मन्त्रालय मधेसीहरूकै हातमा थियो । बाबुराम स्वयंले नै मधेसीलाई तर्पांइहरूले मन्त्रालय आफूलाई छान्नुस् र त्योबाहेकको हामीलाई दिनुस् भनेर त्यो सहमतिमा सत्ता गठवन्धन गरिएको हो । त्यो बेलामा पनि उहाँहरूले मधेसका विकासको कुरामा, मधेसी जनताको हक अधिकारको कुरामा सरकारमा रहँदा खासै चासो राख्नुभएन । सरकारमा हुँदा उहाँहरूले केही पनि गर्न सक्नुभएन तर सरकारबाट बाहिरिएपछि तयो मधेसका मुद्दाहरू याद आउने हुँदो रहेछ । मधेसी जनताका हकअधिकार याद आउने हुँदो रहेछ । त्यो नै सबैभन्दा बढी दुख लाग्दो कुरा हो ।

० एकाथरी मधेसीहरू आफ्नो एजेन्डाभन्दा पनि सीमापारि भारतको एजेन्डा बोकिरहेका छन्, उनीहरू प्रयोग भइरहेका छन भन्छन् नी ?

– यो गलत कुरा हो । भारत भनेको हाम्रो असल छिमेकी र एउटा असल मित्र हो । भारत सदैव नेपाललाई उन्नति र विकासका लागि सदाश्यता राख्छ भन्ने मेरो बुझाइ छ । मेरो पनि भारतका वरिष्ठ तहकै नेताहरूसँग सम्पर्क छ । जुन किसिमको भारतको सोचाइ छ, त्यो सधैं राम्रो होस्, देश विकासमा जाओस् भन्ने कुरा नै भारतको चाहना हो । किनभने सबैभन्दा असल मित्र मात्र होइन की सबैभन्दा नजिकको छिमेकी हो । छिमेकी पनि भाषा, संस्कृतिलगायतका हरेक कुरा मेल खाने छिमेकी हो । त्यसले गर्दा भारत नेपाललाई आफ्नो इशारामा नचाउ भनेर कहिल्यै पनि चाँहदैन । नेपाललाई बर्बादीको दिशातिर लैजाऊँ भन्ने उसको चाहना पक्कै हुँदैन । यस्ता यस्ता मधेसी दलका क्रियाकलापले गर्दा भारत पनि बदनाम भएको अवस्था छ ।

० दोस्रो चरणको निर्वाचनमा तराई–मधेसबाट एमाले बढारिने भन्ने हल्ला छ नि, तपार्इंको के बुझाइ छ ?

– यो बिल्कुलै गलत कुरा हो । अहिले पनि हेर्नुहुन्छ भने मधेसबाट धेरै सांसद एमालेकै जितेर आएका छन् । अहिले पनि मधेसमा एमाले कमजोर छैन । त्यहाँबाट राम्रो सिट आउने देखिन्छ ।
अहिले मैले पार्टी प्रवेश गर्ने क्रममा पनि बारा, पर्सा, रौतहट, मकवानपुरलगायतका क्षेत्रबाट जुन विभिन्न पार्टीमा रहेका साथीहरूले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । जिल्ला तहका नेताहरू प्रवेश गरेका छन् । त्यतिखेर उपस्थित हजारौं मासले पनि एमाले कस्तो र कत्रो बन्छ भनेर देखाउँछ । अहिलेको बसैको चाहना एमालेले जुन ढंगले काम गरिरहेको छ, देश विकासका लागि र राष्ट्र निर्माणका अभियानमा एमालेलाई सबैले साथ दिनुपर्छ भन्ने छ । सबैके रोजाइ अहिले एमाले भएको छ । त्यसले गर्दा पनि जुन एउटा भ्रम छ, एमाले त्यहाँबाट बढारिन्छ भन्ने त्यो गलत साबित हुनेछ । धरै टाढा नभएकाले हामीले यो चुनाव तत्काल पाउँछौं । यसपछि सबैको हैसियत थाहा भइहाल्छ । जनता पहिलाजस्तो होइन, सुझबुझपूर्ण छन्, उनीहरू हरेक किसिमले मूल्याङ्कन गर्ने क्षमता राख्छन् । यसको मुल्याङ्कन गरेर एमालेको जुन अभियान छ, यो अभियानमा जनताले साथ दिन्छन् भन्नेमा म विश्वस्त छु ।

० मधेसीलाई समेटेर मात्र निर्वाचन गर्ने भन्दै सार्ने कुरा उठेको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?

– पहिला पनि मधेसीलाई समेट्ने भनेरै एउटै मितिमा नगरी दोस्रो चरणको मिति तय गरिएको हो । अहिले पनि सार्ने कुरा आएको छ । यदी सबैलाई समेटेर सबैलाई चुनावमा सहभागी गराउने हो भने राम्रो पनि हो । यसले सबैलाई राम्रौ गर्छ । तर यदि फेरि सारेर पनि उहाँहरूले अर्को बहाना देखाएर चुनावमा भाग लिनुहुन्न भने यो साह्रै दुखलाग्दो कुरा हुन जान्छ । त्यसले गर्दा यो सार्ने कुरामा बृहत् छलफल गरेर साच्चै नै अबको मितिलाई चाहिँ कुनै तलमाथिी नगरी निर्वाचन गर्नुपर्छ । यद िसार्ने नै हो भने सबैको भावनालाई समेटेर यदी उहाँहरूले पनि ठिक छ, हामी आँउछौं भनेर निश्चीत गर्नुहुन्छ भने कुनै ठुलो कुरा होइन । तर विगतमा जस्तो फेरी सारियो अनि फेरी पनि अन्य माग राखेर चुनाव नगर्ने नियत राख्नुभयो भने यो नकारात्मक पक्ष हुन जान्छ ।

० तराईमा मधेसीहरूले हामी मात्र भूमिपुत्र हुन्, यहाँसम्म पहाडियाहरू आएर थिचोमिचो गरेको गरेको छ भनेर आरोप लगाइरहेका छन्, वाश्तवमा निर्वाचन भएमा मधेसीको हैसियत कस्तो बन्ला मधेसमा ?

– स्थानीय तहको निर्वाचनमा मान्छेहरूले पार्टीभन्दा पनि व्यक्ति हेरेर मत दिन्छन् । मधेसमा बसेका पहाडी मूलका पनि धेरै मान्छेहरू छन्, जो लोकप्रिय पनि छन् । मधेसमा मधेसी बसे भन्दैमा यो उनीहरूको मात्र वपौती पक्कै होइन । त्यो भूमि भनेको सबैको हो । भूगोलमा कस्तो प्रकारको नेताहरू छन् ति मध्येबाट राम्रोलाई छानिन्छन् । मूल्यांकन जनताले नै गर्छन् । मधेसमा मधेसीले मात्र जित्छन् भन्ने कुनै निश्चीत छैन । पहाडीले पनि जित्न सक्छन् । जनतालो आफ्नो सम्मान गर्ने र स्वाभिमान बचाउने नेता नै खोज्छन् । पहिलो चरणमा एमालेप्रति जसरी लोकप्रियता झल्किरहेको छ, त्यस आधारले हेर्दा मधेसमा पनि एमाले राम्रै पोजिसनमा आँउछ ।

० चुनाव असार ९ गते सार्ने निर्णयलाई के भन्नुहुन्छ ?

– यो गलत भयो । मिति सार्ने नै भए हप्तादिन होइन हाम्रो रमजानपछि सारिया्स् । हाम्रो महान पर्व रमजानको व्रत सुरु भयो । सार्ने नै भए असार १५ पछि सानुपर्छ भन्ने हाम्रो माग छ । सबै मुस्लीम दाजुभाइ मजाले सहभागी हुन सक्ने मिति भनेको असार १५ पछिको मिति हो । अहिले गर्मी पनि छ । व्रतको बेला अधिकांश हाम्रा मुस्लिम दाजुभाइहरू भोकोपेटमा ३–४ घण्टा लाइन बसेर भोट हाल्न सम्भव छैन । बिहान साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म पानी पनि नखाई गर्ने व्रत छ । उहाँहरूलाई निक्कै समस्या पर्छ ।                                                                                    पहिलोन्युजको सहयोगमा

प्रतिक्रिया दिनुहोस
माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ