गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा भ्रममा नपर्न आग्रहसहित एक वक्तव्य निकालेका छन् । मुलुकको विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र बृहत् एकता खोज्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न खड्काले गगन पक्षलाई चेतावनी दिएका छन् ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गते १५ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा केहीले विधान र प्रक्रिया विपरीत विशेष महाधिवेशनको नाममा अवैध गतिविधि गरेको खड्काले पुनस् दोहोर्याएका छन् । १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुन नयाँ सदस्यता लिने भन्ने निर्णयमा देउवा पक्षको आपत्ति छ । खड्काले विज्ञप्तिमा भनेका छन्, कुनै नेताले आवेग वा उत्तेजनामा भाषण गरेकै भरमा सदस्यता खारेज हुन सक्दैन ।
यो सदस्यता त योद्धाको योगदान र सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो । क्रियाशील सदस्यता पार्टीको ऐतिहासिक जीवन र निरन्तरताको प्रमाण भएको भन्दै खड्काले विधानबमोजिम बाहेक कसैले पनि आम सदस्यको सदस्यता खारेज गर्न नसक्ने बताएका छन् । यसअघि १५ औँ महाधिवेशनको कार्यतालिका भित्रै रहेर नवीकरण र वितरण गरिएको सदस्यतालाई खारेज गरी फेरि नवीकरण गर्ने कुरा पूर्वाग्रही र आपत्तिजनक रहेको देउवा पक्षको जिकिर छ । खड्काले भ्रम र निराशाबाट टाढा रहन पनि कांग्रेसजनमा अपिल गरेका छ्न् ।



