अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी
गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारका मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेका छन् ।
गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ ३ दिनअघि टीमसहित राईलाई भेट्न पुगेका थिए । उनले सरकारको तर्फबाट पूर्णसाथ रहने प्रतिवद्धता पनि जनाएका छन् ।
‘सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस् । तपाईँलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस् म दिन तयार छु । कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस् । हाम्रो साथ रहनेछ’ राईसँग गृहमन्त्रीको संवादबारे स्रोतले भन्यो ।
गुरुङको ढाडससँगै हिजो दल र नेताको दबाबमा रोकिएका ‘ठूला माछा’ मुछिएका दर्जनौँ काण्डको अनुसन्धानलाई अख्तियारले तीव्रता दिएको स्रोत बताउँछ ।
गृहमन्त्रीसँग राईले यसअघि पनि आफूले निष्पक्ष अनुसन्धानसहित पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरू मुछिएका ठूला भ्रष्टाचारका काण्डको अभियोजन गरेको जानकारी गराएका थिए ।

