खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान



हाम्रो इकोनोमि

 

 

इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी क्षेत्रमा ‘हजारौं’ सैनिक पठाएको छ । इरानले अमेरिकी सैनिक खाडी देशतर्फ परिचालित हुनुलाई इरानको कुनै टापु कब्जा गर्ने उद्देश्य हुनसक्ने आशंका गरेको छ ।

इरानका सभामुख मोहम्मद बघेर घलिबाफले यदि कुनै छिमेकी देशले ‘शत्रु’हरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी बुधबार दिएका छन् ।

‘इरानी सेनाले शत्रुहरूको गतिविधि निगरानी गरिरहेको छ । यदि उनीहरूले कुनै कदम चाले भने, हामी निरन्तर र कठोर रूपमा त्यस क्षेत्रीय देशको महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्नेछौं, सभामुख गलिबाफले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्टमार्फत भनेका छन् ।

तर उनले देशको नाम भने खुलाएका छैनन् । केही विश्लेषकहरूले भने इरानी सभामुखको चेतावनी संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लक्षित हुन सक्ने बताएका छन् । ‘कतिपयको बुझाइमा, उनले यूएईलाई संकेत गरेका हुन्, जसले अमेरिकालाई खार्ग टापु कब्जा गर्न सहयोग गर्न सक्छ,’ अल जजिराले लेखेको छ ।

 

खार्ग टापुमा अमेरिकाको नजर

अल जजिराका अनुसार अमेरिकाको नजर खार्ग टापुतर्फ छ । खार्ग सानो र खुला टापु हो, जुन इरानको मुख्य भूमिसँग नजिक छ । यो व्यापारिक र रणनीतिक हिसाबले संवेदनशील मानिन्छ ।

इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै, यदि इरानी टापुहरू वा अन्य कुनै क्षेत्रमा सैन्य कारबाही भयो भने इरानले रेड सागरको प्रवेशद्वारमा लडाइँको नयाँ मोर्चा खोल्न सक्ने जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले पनि रक्षा मन्त्रालय पेन्टागनले खाडी क्षेत्रमा ‘हजारौं हवाई सैनिक’ र जल सैनिक पठाइरहेको जनाएका छन् । समाचारमा लेखिएअनुसार अमेरिकी सेनाको ८२ औं एयरबोर्न डिभिजनका करिब २ हजार सैनिकलाई खाडी क्षेत्रतर्फ जान आदेश दिइएको छ ।

 

 

८२ औं एयरबोर्न डिभिजन भनेको अमेरिकाको सबैभन्दा छिटो परिचालन गर्न सकिने, आकाशबाट प्यारासुटमार्फत् निश्चित ठाउँमा उत्रिनसक्ने विशेष प्रशिक्षित आक्रमणकारी सेना हो । यसलाई सामान्यतया ‘प्याराट्रुपर फोर्स’ पनि भनिन्छ ।

यसअघि नै दुई अमेरिकी मरीन टुकडी (जल सैनिकको टोली) प्रस्थान गरिसकेको छ । ठूला जहाजमा सवार मरीन टुकडीमध्ये पहिलो टोली केही दिनमै गन्तव्यमा पुग्ने अनुमान गरिएको छ । यदि आशंका गरिएझैं खार्ग टापुमा अमेरिकी सेना उत्रिएमा बाब–अल–मन्देब समुद्रीमार्गमा खतरा सिर्जना गर्ने सम्भावना छ ।

 

बाब–अल–मन्देब कहाँ पर्छ ? यो किन संवेदनशील छ ?

बाब–अल–मन्देब जलडमरू क्षेत्र अफ्रिका र एसियाको बीचमा पर्ने एक महत्वपूर्ण समुद्री मार्ग हो । यसले रेड सागर र एडेन खाडीलाई जोड्छ । यसको एकतर्फ यमन (एशिया) र अर्कोतर्फ जिबुटी र इरिट्रिया (अफ्रिका) पर्छन् । यसले स्वेज नहर हुँदै भूमध्यसागरसम्म जाने मार्गलाई जोड्छ । एशिया–युरोप बीचको धेरै सामान यही बाटो ढुवानी हुन्छ । विशेष गरी तेल र ग्यास ढुवानीका लागि यो अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

 

 

 

विश्वको ठूलो हिस्सा तेल र ग्यास यही मार्गबाट गुज्रिन्छ । यदि यहाँ समस्या आयो भने तेल र ग्यासको आपूर्ति अझै प्रभावित भई विश्वभरि झन् मूल्य बढ्न सक्ने जानकारहरु बताउँछन् ।

अमेरिका, युरोप र मध्यपूर्वका देशहरूका लागि यो सैन्य रूपमा संवेदनशील क्षेत्र हो । यहाँ तनाव भयो भने जहाज आवागमन रोकिन सक्छ । यदि यो बन्द भयो भने जहाजहरूलाई अफ्रिकाको दक्षिण घुमेर जानुपर्छ, जसले समय र खर्च धेरै बढाउने छ ।

इरानी समाचार एजेन्सी तस्निमले स्रोतलाई उद्धृत गर्दै आवश्यक परे इरान समर्थित यमनका हुथी विद्रोहीहरू समेत बाब–अल–मन्देब जलमार्ग नियन्त्रणमा भूमिका खेल्न तयार रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...