नेपाली अर्थराजनितिका मियो, लोकप्रिय नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
हेमराज सिलवाल
एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्वअर्थमन्त्री पाण्डेले नेकपा एमालेको ११ औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिएका छन् । धादिङमा जन्मिएका पाण्डेले विगतमा देशका विभिन्न भूगोलमा गएर पार्टीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका उनै पाण्डे संँग ओली निकट मानिएका शंकर पोखरेलले दोश्रो कार्यकालका लागि महासचिवमा प्रतिस्पर्धा गर्दैछन् । प्रारम्भिक जीवन सुरेन्द्र पाण्डेको जन्म वि.सं. २०१७ सालमा धादिङ जिल्लाको तत्कालीन गजुरी गाविस वडा नं. ८ (हाल गजुरी गाउँपालिका) मा भएको हो । उहाँका पिता नेत्रप्रसाद पाण्डे र माता मनमाया पाण्डे हुनुहुन्छ। पाँच दाजुभाइमध्ये माइला छोराका रूपमा जन्मिएका पाण्डे सामान्य तर आत्मनिर्भर परिवारिक वातावरणमा हुर्कनुभएको हो । पाण्डेको परिवारमा श्रीमती र दुई छोरा छन् ।
राजनीतिक यात्रा वि.सं. २०३० सालदेखि नै राजनीतिमा सक्रिय रहनुभएका पाण्डे २०३१–२०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुनुहुन्थ्यो । सिक्किममा चर्किएको विद्यार्थी आन्दोलनले उहाँलाई अझ गहिरो रूपमा राजनीतितर्फ आकर्षित गर्यो । उहाँका जेठा दाजु राजेन्द्रप्रसाद पाण्डे पनि राजनीतिमा सक्रिय भएकाले त्यसले समेत प्रेरणा दिएको देखिन्छ । राजनीतिक यात्राकै क्रममा तत्कालीन को–अर्डिनेशन केन्द्र (कोके) सँग सम्पर्क स्थापित भई भूमिगत राजनीतिमा सक्रिय हुनुभयो । केही समय शिक्षकको रूपमा पनि काम गर्नुभएका पाण्डे स्वभावतः शालीन, भद्र र अध्ययनशील नेताका रूपमा चिनिनुहुन्थ्यो । पेशागत जीवन र पूर्णकालीन राजनीति शिक्षक पेशा छोडेर नेपाल बैंक लिमिटेडमा सेवा प्रवेश गर्नुभएका पाण्डे छात्रवृत्तिमा चार्टर्ड एकाउन्टेन्सीअध्ययनका लागि विदेश जाने तयारीमा हुनुहुन्थ्यो। तर व्यक्तिगत करियरभन्दा देशको राजनीतिक परिवर्तनलाई प्राथमिकता दिँदै बैंकको जागिर र उच्च अध्ययनको अवसर त्यागी पूर्णकालीन राजनीतिमा होमिनुभयो ।
वि.सं. २०४६ सालसम्म नेकपा मालेमा जिम्मेवारी सम्हाल्नुभएका पाण्डे २०४७ सालदेखि २०७७ सालसम्म निरन्तर नेपाल कम्युनिस्ट पार्टी (एमाले हुँदै पछि नेकपा) को केन्द्रीय सदस्य रहनुभयो । उहाँ तत्कालीन नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा समेत रहनुभएको थियो । चितवनमा सम्पन्न १० औं महाधिबेशनबाट उहाँ पार्टी केन्द्रिय कमिटीको उपाध्यक्षमा निर्वाचित हुनुभयो । संसदीय र सरकारी अनुभव वि.सं. २०५४ सालमा पहिलो पटक राष्ट्रियसभाको सदस्य बनेका पाण्डेले सामाजिक न्याय समितिमा काम गर्नुभयो। दुई वर्षपछि २०५६ सालमा राष्ट्रियसभाको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गर्नुभयो । २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएका पाण्डे संवैधानिक समितिको सदस्यका रूपमा सक्रिय रहनुभयो। २०६६–२०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । चुनौतीपूर्ण परिस्थितिमा पनि अर्थ मन्त्रालय कुशलतापूर्वक सञ्चालन गरेकाले पाण्डेलाई आज पनि सफल अर्थमन्त्रीका रूपमा स्मरण गरिन्छ ।
२०७० सालमा चितवन–१ बाट संविधानसभा सदस्य निर्वाचित भई संविधान निर्माण प्रक्रियामा राजनीतिक संवाद समितिको सदस्यका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०७४ सालमा पुनः चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । २०७९ सालको निर्वाचनमा भने पाण्डे पराजित हुनु भएको थियो । शिक्षा, लेखन र अध्यापन सुरेन्द्र पाण्डेले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ । अर्थ–राजनीतिसँग सम्बन्धित उहाँका पुस्तकहरू बजारमा उपलब्ध छन् । निरन्तर अध्ययन, अनुसन्धान र विश्लेषणमा सक्रिय पाण्डे नेपालका विभिन्न कलेजहरूमा उहाँले अतिथि प्राध्यापकका रूपमा अध्यापनसमेत गराउँदै आउनुभएको छ । पाण्डे त्रिभुवन विश्वविद्यालयबाट एमफिलमा त्रिवि प्रथम भएका विद्यार्थी पनि हुन् । पाण्डेले अहिले डाटा पुँजीवादसँग सम्बन्धित रहेर त्रिविबाट पिएचडी गर्दै छन् । अर्थमन्त्रीका रूपमा गरेका प्रमुख कार्यहरू अर्थमन्त्री रहँदा सुरेन्द्र पाण्डेले थुप्रै दीर्घकालीन र सामाजिक न्यायमुखी कार्यक्रमहरू सुरु गर्नुभएको थियो ।
तीमध्ये केही प्रमुख कार्यहरू यसप्रकार छन्– मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम हुलाकी मार्ग निर्माणको सुरुवात, द्वन्द्वपीडितलाई खेतीबाली क्षतिपूर्ति तथा ऋण ब्याज मिनाहा , सामाजिक सुरक्षा कर र सामाजिक सुरक्षा प्रणालीको प्रारम्भ , गरिब परिचयपत्र, गरिब जनता आवास कार्यक्रम र दलित संरक्षण पहल , ३० हजार सरकारी विद्यालयमा इन्टरनेट सेवा , ७५ वर्षमाथि र १५ वर्षमुनिका नागरिकका लागि निःशुल्क उपचार , दलित–गैरदलित विवाह र विधवा विवाह प्रोत्साहन अनुदान , पोखरा विमानस्थल, माथिल्लो तामाकोशी, त्रिशूली थ्री–ए जस्ता ठूला पूर्वाधार आयोजना , जेष्ठ नागरिक आरोग्य आश्रम, राउटे समुदायलाई मासिक भत्ता , शिक्षामा ऐतिहासिक बजेट वृद्धि र पोषणयुक्त खाजा कार्यक्रम , सडक दुर्घटना पीडितका लागि तेस्रो पक्ष बीमा व्यवस्था , लोडसेडिङ समाधानतर्फ माथिल्लो तामाकोशी आयोजना सुरुवात सुरेन्द्र पाण्डे राजनीतिक इमान्दारिता, सैद्धान्तिक स्पष्टता र आर्थिक विषयमा गहिरो पकड भएका नेता मानिन्छन् ।
विद्यार्थी राजनीतिदेखि अर्थमन्त्री हुँदै पार्टीको उपाध्यक्षसम्मको उहाँको यात्रा नेपाली कम्युनिस्ट आन्दोलनभित्र अनुभव, संघर्ष र नीतिगत निरन्तरताको उदाहरणका रूपमा हेरिन्छ । काठमाण्डौमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।


