पदाधिकारीको संख्या बढाउने एमालेको तयारी
नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने र स्थायी कमिटीको संरचना कायम राख्नेगरी विधान संशोधन प्रस्ताव लैजान दबाब बढेको छ । गत भदौ तेस्रो साता सम्पन्न विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या ३०१ बाट घटाएर २५१ सदस्यीय बनाएको थियो । तर जेनजी आन्दोलनपछि भएको महाधिवेशन प्रतिनिधि छनौटमा एमालेले ४० वर्षमुनीका युवाको क्लस्टर बनाएरै प्रतिनिधि छनौट गरेको छ ।
यस हिसाबले देशभरका १६५ निर्वाचन क्षेत्रका क्लस्टर र अन्य संगठन र क्लस्टरका समेत गर्दा ४० वर्षमुनीका युवाको प्रतिनिधित्व महाधिवेशनमा २० प्रतिशत हाराहारीमा हुने अनुमान छ । सो समूहको प्रतिनिधित्व केन्द्रीय कमिटीमा पनि गराउनेगरी विधान संशोधन हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।
विधान महाधिवेशनको बेला मस्यौदा कार्यदलमा रहेका एक नेताले भने–हामीले महाधिवेशन प्रतिनिधिमै ४० वर्षमुनीको युवा प्रतिनिधिको लागि निर्वाचन क्षेत्र नै तोकिसकेको अवस्थामा उनीहरुको क्लस्टर केन्द्रीय कमिटी निर्वाचनमा पनि अनिवार्य भयो ।
केही नेताले बरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ६ वा ७ बनाउन सुझाव दिएका छन् । सचिवको संख्या ७ र उपमहासचिवको संख्या ३ कायम राखेर उपाध्यक्षमात्र बढाउने र युवा क्लस्टरको केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गर्न शीर्ष नेतृत्वलाई दबाब बढेको छ ।
त्यसो हुँदा केन्द्रीय कमिटीको आकार पहिलेकै जस्तो हुनसक्छ । अहिले पार्टीमा सबैको व्यवस्थापन गरेर जानुपर्ने दबाब बढिरहेको हुनाले पदाधिकारी पनि १९ नै पुग्ने र स्थायी कमिटी ४५ सदस्यीय कायम गर्नेगरी विधान संशोधन प्रस्तावको अनौपचारिक छलफल चलिरहेको छ ।
अहिले विधानले हटाएको स्थायी कमिटी पुनस्र्थापित गर्दा धेरै नेताको सम्मानजनक व्यवस्थापन हुने तर्क नेताहरुले गरेका छन् । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विधान संशोधन आवश्यक भएमा कमिटीले निर्णय गरेर महाधिवेशन हलमा लैजान सक्ने बताए । अहिलेसम्म त्यो ढंगले निर्णय नभएको उनको भनाइ छ ।


