श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु
श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ । बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । हालैका वर्षहरूमा श्रीलंकामा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपहरूमध्ये एक हो ।
डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला जिल्लामा राति आएको पहिरोमा २१ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएर लगेको देखिन्छ । प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएका छन् ।
यसैबीच, शुक्रबार थप खराब मौसमको सम्भावनासँग जुध्नका लागि श्रीलंका तयारी गरिरहेको छ, किनकि ‘दित्वाह’ चक्रवात यसको पूर्वी तटतर्फबाट अगाडि बढिरहेको छ । दित्वाह’ पहिले यसको पूर्वी तट नजिकै एक गहिरो दबाबको अवस्थाको रूपमा सुरु भएको थियो । पछि यो द्रुत गतिमा बढेर एक चक्रवात बन्यो। यो भारतको तटमा ल्यान्डफल (तटमा प्रवेश) गर्न सक्ने बताइएको छ ।
विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।
निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् ।
आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।


