एमालेको भावी अध्यक्षमा ईश्वर पोखरेलको दाबी
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको सचिवालय बैठकमा भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने भएका छन् । मंसिर २७-२९ को महाधिवेशन तयारीलगायतका विषयमा दिउँसो १ बजेदेखि डाकिएको बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षमा अघि सार्न प्रस्ताव राख्ने तयारी गरेको निकट स्रोतले बतायो ।
उक्त प्रस्तावमा सहमति नजुटे नेतृत्व चयन चुनावी प्रतिस्पर्धातर्फ अघि बढ्छ । त्यहीअनुसार तयारी हुन्छ’, एक पदाधिकारीले भने । आजको सचिवालय बैठकपछिको अवस्था हेरेर त्यसपछि कसरी कस्तो टीम बनाएर अघि बढ्ने रणनीति बनाइने ती पदाधिकारीले भने । पोखरेलले केही दिनअघि अपिलमार्फत् आफू अघि बढेको सन्देश दिएका थिए ।
उनको भनाइ थियो
आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । जबज को सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु ।
पार्टी सदस्यता नवीकरण नगरिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई साथ दिने निर्णय गरेकी छन् । सँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । त्यसमाथि भण्डारीको सदस्यता रोक्न नहुने मत राख्न नहुने तल्लो तहदेखिका नेताहरू एकठाउँमा छन् । ओली नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । उनले केहीले नेताहरू पार्टी पुनर्गठन भन्दै अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको भन्दै केही दिनअघि कडा अभिव्यक्ति दिएका थिए ।
उनको भनाइ थियो, ठिक छ, महाधिवेशनमा पुनर्गठन गरौँ न त । काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ । कसले काम गरेको छ, छैन कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्छ, यो दिनरातको र्याइँर्याइँ । प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै उनले असन्तुष्टि जनाइरहेका छन् । कोर टीमका नेताहरू ओलीबाहेक अरुले नेतृत्व गर्न नसक्ने तर्क दिइरहेका छन् । त्यो तर्कको पछाडि ओली बाहिरिँदा आफूहरू पनि पार्टीको मूलधारबाट बाहिरिनुपर्ने भयले काम गरेको अर्काथरि नेताहरूको दाबी छ ।


