नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं : भारत
भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुस्खी भएका छौं, मन्त्रालयले विज्ञप्तिमा भनेको छ, मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।


