१५ लाख भूमिहीनलाई पुर्जा दिने सरकारको तयारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पूर्जा उपलव्ध गराउने सरकारको तयारी रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीको बिबरणबारे छलफलमा मन्त्री अधिकारी जानकारी दिए ।
हालसम्म ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहिन सुकुम्बासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको बिबरण संकलन गरिएको मन्त्री अधिकारीले बताए ।
उनले अझै पनि २ सय ८ पालीकाले बिबरण संकलनको काम सम्पन्न गर्न नसकेकाले करिव भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीको संख्या करिव १५ लाख पुग्न सक्ने अनुमान गरिएको धारणा राखे । भूमिहिन सुकुम्बासी र दलितको हकमा अहिले बसेको स्थानमा नै त्यही ठाउमा जग्गा दिने व्यवस्था गरिएको उनले बताए ।


