बहु-विवाहलाई फेरि निरन्तरता दिन थालिएको हो : ईश्वरी सिहं



हाम्रो इकोनोमि

 

 

नेपालको कानुनले बहुविवाहलाई अपराध मानेको छ।तर कानुन मन्त्रालयले विवाहित पुरुषले अर्कि महिलासङ्ग सम्बन्ध राखेर गर्भधारण गराएमा वा सन्तान जन्माएमा त्यसलाई दोश्रो विवाहकोलागी मान्यता दिने संशोधनको मस्यौदा तयार पारेको छ । जुन कानुन बन्ने प्रक्रियामा पनि छ । यस्तो कानुन निर्माण गरेर नेपाली समाजलाई कुन दिशा तर्फ लान खोजिएको हो ?

यो प्रश्नले मेरो मनमा आज उथल-पुथल पारेको छ । कानुन निर्माण गर्दा सम्पुर्ण जनताको हितमा बनाइनु पर्ने हो तर यहाँ त हामिले चुनावमा जिताएर पठाएका नेताहरुले आफ्नो ब्यक्तिगत जिवनमा उपयोग गर्नकोलागी कानुन बनाउन लागेको होकि भन्ने चर्चा चल्न थालेको छ । महिलाकोलागि कानुन बलियो हुँदा त हाम्रो समाजना महिलाहरुमाथी हिंसा भइरहेको अवस्थामा यस्तो कानुन बन्यो  भने धेरै महिलाहरू पीडित हुनेछन् । परा-पुर्वकालमा यथावत रहेको  वा पश्चिमी संस्कृति अनुसार अधिकांश पुरुषहरूले बाहिर राखेका अनैतिक सम्बन्धलाई मान्यता दिन थालिएको हो कि ? कुरो बुझ्न अलि गार्हो पर्यो । घरपरिवारलाई छलेर घर बाहिर राखिएको बाहरवालिलाइ गर्भवती बनाएर घर भित्राउने कानुन ल्याउँदा हाम्रा दिदी बहिनी र छोरिहरुको जीवन एउटा खेलौना बन्नेछ भन्ने सोंच बिचार नगर्ने संसदमा हामिले कस्ता नेताहरु जिताएर पठाएका रहेछौं त ?

आदरणीय प्रधानमन्त्री ज्यु लगायत संसदका सम्पुर्ण नेतागणहरुले यस बारेमा बुझ्दै न बुझी मस्यौदा अघि सारेको जस्तो लाग्यो । म आफ्नो बारेमा बोल्न चाहान्न थिएँ तर आज मलाई सरकारले बोल्न बाध्य बनायो । म आज चुपचाप बंसे भने धेरै महिलाहरुको जीवन बर्बाद हुनेछ । त्यसैले मेरो भित्री आत्मा देखि तिमी बोल्नु पर्छ भन्ने आवाज आयो र म लेख्न बाध्य भएँ । म बहु-विवाहको मुद्दा लड्दै गरेकि एउटा एक्कल महिला हुँ । दुई बच्चा सहित कानुनी लँडाइ लड्दै गरेकी आमा पनि हुँ ।

पुरुषले श्रीमतिलाइ थाहै न दिई बाहिर अनैतिक सम्बन्ध निर्माण गर्छन् । बाहिर सम्बन्ध राखेपछि उनिहरुलाइ घरकी श्रीमती जति राम्री र कुशल भए पनि राम्री लाग्दैन । बारम्बार झै झगडा गर्ने,कुटपिट गर्ने र अपमान गर्ने गर्छन् । म माथी पनि यस्तै भयो । परिवारको इज्जत,बालबच्चा,समाजले निर्माण गरेको नीति नियम र परिधिमा रहेर एउटा अशल गृहणि बनेर मैलेपनि धेरै हिंसा सहें । म माथी हिंसाले पराकाष्ठा नै नाघ्यो तै पनि म चुपचाप बसि रहें । शारीरिक रुपमा हुने हिंसा भन्दा पनि मानसिक रुपमा हुने हिंसाले मेरो आत्म सम्मानमा परेको चोटको लेखाजोखा नै छैन । मैले तपाईंहरुको सामु ती भोगाइहरु राखेर सहानुभूति लिनु पनि छैन । म यति मात्र चाहान्छु मलाई जस्तो अरु कुनै महिलाले भोग्न नपरोस् । म यति मात्र चाहान्छु यदि कोहि महिलामाथी हिंसा हुन्छ भने मैले जस्तोगरि सहेर नबस्नुहोस् । जब एउटा पुरुषले घरबाहिर अनैतिक सम्बन्ध राख्दछ त्यसपछि घरको श्रीमतिसङ्ग शारीरिक सम्बन्ध राख्दैन,सानो -सानो कुरामा असन्तुष्टि हुने, सानो गल्तिलाइ ठूलो बनाएर अपमान गर्ने जस्ता ब्यवहार देखाउन थाल्छन् ।

म माथी पनि यस्तै भयो । तँ मेरो लायक छैनस्, तैँले आफ्नो अनुहार हेरेकी छस् । तँ मेरो खुट्टाको औंला बराबर पनि छैनस्, यस्ता -यस्ता शब्दहरुको प्रहार र महिलाइ गरिने उपनाम गालिहरु सुन्दा -सुन्दा म मानसिक रुपबाट बिक्षिप्त भएकी थिएँ । सङ्गै एउटै घरमा बसेर पनि हामी एक-अर्काकोलागी अन्जान थिँयौ । मेरो भावनामाथि हुने गरेको आक्रमण मलाई सहन गार्हो हुन्थ्यो । म एक्लै चिच्याउँथे, रुन्थें,कराउँथे तर आवाज न निकालीएको त्यो चिच्याहट सुनिदिने कोहि थिएन । यसरी नै मेरो दैनिकी चली रहेको थियो । म एउटा जिँउदो लास जस्तै भएकी थिँए । एकदिन मेरो दुधे बालक र मलाई छोडेर अर्कै महिला लिएर उ हिँडेछ । म माथी त सौता पो हालेछ । मलाई लाग्थ्यो उसले म माथी जति हिंसा गरे पनि म सहन्छु । एक न एक दिन त मन पलाउला नि तर मानवको स्वभाव भए पो पग्लिन्थ्यो । प्रहरी चौकी कति धाँए,संघ संस्थाहरु कति धाँए कहिँ कतैबाट मलाई सहयोगको हात अघि बढेन ।

अनि मैले निर्णय गरें अब म आफ्नो लँडाइ आफै लड्छु । म डिप्रेसनको सिकार पनि भएँ । मैले हाँस्न र खुशी हुन बिर्सी सकेकी थिएँ । म आफैले आफैलाइ सोध्ने गर्थें मेरो के गल्ती थियो ? जवाफ खोजी रहें र आफुलाइ सम्हाल्दै अगाडि बढें । मेरो कुरो सुनी दिने,मेरो अवस्था बुझी दिने १-२ जना साथी बाहेक कोहि थिएनन् । उनिहरुले मलाई आँट र हौसला दिए । म पत्रकारिता,कलाकारिता र सङ्गितकर्मी भएको कारणले गर्दा आफुलाइ सम्हाल्न सजिलो भयो ।  टिकटक हेर्ने र भिडियो बनाउँदै आफैमा रमाउन थालें । श्रीमानले छोडेकी महिला भनेर समाजले गर्ने गरेको ब्यावहारले मेरो जीवन नै समाप्त भयो भनेर नारायणीको पुलमा कति चोटि मर्छु भनेर पनि गएँ तर त्यतिखेर म भइन भने मेरो छोराहरु टुहुरो हुन्छ भनेर कानुनी लडाँइ लड्ने निर्णय गरें ।

मलाई उसले ब्यक्तिगत रुपमा कमजोर बनाउन नम्बर फेरि-फेरि फोन गर्दै धम्काउने,समाजमा मेरो बदनाम र चरित्रहिन साबित गर्न संयौ प्रयासहरु गर्यो तर म आफ्नो अडानबाट नडग्मगाइ बसि रहें अहिले पनि मेरो अडान यथावत नै छ । म मेरो माइती घरमा बसेर आफ्नो लँडाइ लडि रहेकी छु म माथी सौता हालेपछि बहु-विवाहको मुद्दा त मैले हाल्नै पर्यो तर प्रमाण बिना कसरी मुद्दा हाल्ने ? म माथी यो एउटा समस्या बनेर आयो । त्यस्पछी उसले मलाई फोन गरेर जति अपमान गरे पनि मेरो बारेमा मेरा साथिभाइहरुलाइ जे -जे सुनाए पनि चुपचाप बसें । किनकी मेरो साथमा संसार नभए पनि मेरो भगवान हुनुहुन्थ्यो ।

मेरो सत्यता थियो । त्यसैले केही समयको पर्खाइ पछि मैले उनिहरुको विरुद्धमा प्रमाण जुटाँए । प्रमाण सहित मैले कालिमाटी महिला सेलमा जाहेरि दिँए । प्रहरी मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भयो र कार्वाही प्रक्रिया पनि अगाडि बढ्यो । कति पेशी धाँए,उनिहरुलाइ पक्राउ गराएर थुनामा हाँले,सम्पुर्ण प्रमाणहरु भएर पनि उनिहरु काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटे । न्याधिशले उनिहरुलाइ सफाइ दिनुभयो । म माथी अन्याय गर्नुभयो भनेर न्यायधिवक्ता कार्यालयमा न्यायाधीश विरुद्ध निवेदन पनि हालें ।

तर आज सम्म केही खबर आएको छैन । मेरो मुद्दा सरकारवादी भएकोले सरकारी वकिलले हेरेपनि व्यत्तिगत रुपमा केहि अधिवक्ता साथिहरुले पनि हेर्नू भएको छ । मेरो मुद्धा अहिले उच्च अदालतमा पुगेको छ । आज ६ /७ बर्ष भयो म मुद्धा लडिरहेकीे छु । कानुन बलियो हुँदा त मैले न्याय पाउन सकेकी छैन । यदि बहु विवाहको खुल्ला कानुन लागु भयो भने मैले न्याय कसरी पाउने ?

पुरुषले त अनैतिक सम्बन्ध राखेर गर्भवती बनाएको महिलालाई दोस्रो श्रीमतीको रुपमा घर भित्राउँछ तर यहि कानुनको दुरपयोग गर्न महिलाहरुपनि पछि परदैनन । उनिहरुपनि अनैतिक सम्बन्धबाट गर्भवती भई पुरुषहरुलाई फसाउन थाल्छन ।  केही समय अगाडिको कुरो हो उस्ले मलाई फोन गरेर तेरो कानुनले मलाई केही गर्न सक्दैन । तँ उच्च अदालत गए पनि, सर्वोच्च अदालतमा गए पनि मेरो कसैले केही बिगार्न सक्दैन भन्दै मलाई उल्टो धम्की दिँदै थियो । यस्ता अपराधिहरुकोलागी कानुन ल्याउन लागिएको हो भने सरकारलाई मैले भन्नू केही छैन । यदि त्यसो होइन भने नेपाली समाजलाई फोहोर न बनाइ दिनु होला । यस्तो कानुनले कसैलाई पनि हित गर्दैन । म ब्यक्तिगत र सम्पुर्ण नेपाली महिलाहरुको तर्फबाट सरकार लगायत सम्पुर्ण सांसदहरुलाई यस्तो बिवादित कानुन ल्याएर म लगायत हिंसा पीडित महिलाहरुको जिवनको फाइल बन्द न गरिदिनु हुनकोलागी अनुरोध गर्दछु । अनुरोधलाई बेवास्ता गरेर कानुन ल्याउने नै हो भने यदि कुनै महिलाको श्रीमान् जड्या भएमा, कुटपिट गर्ने भएमा, शारीरिक मानसिक र आर्थिक रुपमा सबल नभएमा, निकम्मा भएमा र सन्तान जन्माउने क्षमता नभएमा समानताको आधारमा सम्बन्ध बिच्छेद बिना नै महिलाले पनि दोश्रो बिवाह गरेर पहिलो श्रीमानकै घरमा बस्न पाउने कानुनपनि बनोस न हुन्न ?

के छ र लोग्नेले स्वास्नी थुपार्ने, स्वास्नीले लोग्ने थुपार्ने, सम्बन्ध र संस्कार भताभुङ्ग पारेर हाम्रो समाज भद्रगोल बनाउँ । देशको अरु राम्रा प्रगती होस् वा नहोस् मोजमस्ती गर्ने कानुनले चाहिँ प्रगती गरोस् । संसद भवनमामा भएका महिला सांसदहरु मुखमा दहि जमाएर बस्नुहोस् । हामिले तपाईंहरुलाइ त्यही गर्नलाई सांसद बनाएर पठाएका हौं ?  महिलाको जिन्दगी खेलौनाको रुपमा प्रयोग हुँदा पनि के फरक पर्छ र हैन ?  पुरुषले आफ्नो अनुकुल कानुन बनाउने महिला हस- हस भन्दै मुन्टो हल्लाएर बस्ने ।

(लेखक- ईश्वरी सिहं)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...