लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह
प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको भन्दै सरकारलाई यस नियन्त्रणका लागि प्रभावकारी नीति अवलम्बन गर्न आग्रह गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले युवाहरूमा लागू औषधको लत फैलँदा सामाजिक अपराधको दरसमेत बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
विशेषगरी नेपाल–भारत सीमावर्ती जिल्लाहरूमा लागू औषध तस्करी नियन्त्रण गर्न सरकारले कडा कदम चाल्नुपर्ने उनको धारणा थियो । उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले फागुन १७ गतेदेखि सञ्चालनमा ल्याएको लागू औषधविरुद्धको महाअभियानको प्रशंसा गर्दै यसको सफलताको कामना गरे । साथै, यस्ता अभियान सीमावर्ती क्षेत्रमा पनि तीव्र रूपमा सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । सांसद तामाङका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कञ्चनपुरमा मात्रै लागू औषधसम्बन्धी ९९ वटा मुद्दा दर्ता भएका छन् ।
सोही अवधिमा १५७ जना पक्राउ परेका छन् भने २२ किलो चरेस र २७६ ग्राम ब्राउन सुगर बरामद भएको छ । कञ्चनपुर कारागारमा रहेका कैदीहरूको करिब ४५ प्रतिशत लागू औषधसम्बन्धी अभियोगमा जेल परेकाले यो समस्या गम्भीर बन्दै गएको उनको भनाइ थियो । यसै सन्दर्भमा उनले लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशव्यापी अभियान सञ्चालन गर्न, सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाउन तथा यससम्बन्धी अपराध नियन्त्रणका लागि कडा नीति ल्याउन सरकारलाई निर्देशन (रुलिङ) दिन सभामुखमार्फत गृहमन्त्रालयलाई आग्रह गरे ।