न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न



हाम्रो इकोनोमि

 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना गरिएको छ। न्यूयोर्कबाट सञ्चालन हुँदै आएको एभरेष्ट टाइम्स अनलाइन पत्रिका र मार्फा कग्यु धर्म संरक्षण केन्द्र, काठमाडौंको सहकार्यमा निर्माण भएको यो पुस्तकालय फेब्रुअरी २४, २०२५ मा एक औपचारिक समारोहबीच उद्घाटन गरियो। यस पुस्तकालय स्थापनाका लागि अमेरिकामा बसोबास गर्ने समाजसेवी साङ्दोर्जे शेर्पा र बायो कान्छा शेर्पाले आर्थिक सहयोग गरेका थिए। कार्यक्रमको संयोजन एभरेष्ट टाइम्स न्यूयोर्ककी पासाङ छेल्हामो शेर्पाले गरिन्। विद्यालयको ४९ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त समारोहमा नगर उपप्रमुख मन्जु तामाङ प्रमुख अतिथि रहनुभएको थियो। पुस्तकालयको उद्घाटन प्रमुख संयोजक पासाङ छेल्हामो शेर्पाले गर्नुभयो।

 

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर शेर्पा, स्थानीय पुस्तकालय संयोजक दाऊ छिरी शेर्पा, वडाध्यक्ष आङ्गदोर्जे शेर्पा, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता थियो। पुस्तकालय उद्घाटनसँगै, मार्फा कग्यु धर्म संरक्षण केन्द्रले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको थियो। साथै, लायन्स क्लब अफ नेपाल शेर्पाजले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई १२०० थान कापी, १२०० थान कलम, पेन्सिल र ६ थान कार्पेट सहयोग गरेको थियो। यसले विद्यार्थीहरूको अध्ययन वातावरण सुधार्ने विश्वास गरिएको छ। विद्यालयका प्रधानाध्यापक साङ्गे शेर्पाका अनुसार, पुस्तकालयमा धार्मिक ग्रन्थ, विज्ञान, कृषि, सीपमूलक जानकारी, सफल व्यक्तित्वका आत्मकथा तथा शिक्षासम्बन्धी पुस्तकहरू समावेश छन्। पुस्तकालयको प्रमुख संयोजक पासाङ छेल्हामो शेर्पाले विकट गाउँका विद्यार्थीहरूका लागि शिक्षाको पहुँच अभावकै कारण यस्तो परियोजना आवश्यक रहेको बताइन्। उनले नेपालका ग्रामीण क्षेत्रमा शिक्षाको अवसर सीमित भएकाले विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर पार्ने र पुस्तकालयजस्ता शैक्षिक स्रोतहरूले उनीहरूको सोचलाई फराकिलो बनाउने उल्लेख गरिन्। स्थानीय समाजसेवी दाऊ छिरी शेर्पाले विद्यालय र सहयोगी संस्थाहरूबीच समन्वयकारी भूमिका निर्वाह गरेका थिए। वडाध्यक्ष आङ्गदोर्जे शेर्पाले पुस्तकालय स्थापनासँगै विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको अभाव महसुस हुन नदिने वातावरण सिर्जना भएको बताए।

 

भूमेश्वरी विद्यालयमा हाल ७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले २०७८ शैक्षिक सत्रमा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो। त्यस्तै, खेल सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा विजयी भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो। नगर उपप्रमुख मन्जु तामाङले विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूको सक्रियता र समर्पणको प्रशंसा गर्दै सीमित स्रोत र साधनका बाबजुद विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरेको बताइन्। शिक्षक, अभिभावक र विद्यार्थीहरूको सामूहिक प्रयासले उज्जवल भविष्य निर्माण गर्नेमा उनले विश्वास व्यक्त गरिन्। यो पुस्तकालय स्थापनाले शिक्षा प्राप्त गर्न कठिनाइ झेलिरहेका विद्यार्थीहरूका लागि उज्जवल अवसर सिर्जना गरेको छ। न्यूयोर्कका नेपाली समुदायको सहयोगमा सञ्चालन भएको यस पुस्तकालयले भविष्यमै अन्य ग्रामीण भेगका विद्यालयहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...

६ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...

म रहरले प्रधानमन्त्री भएको होइन : सुशीला

    प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन...