प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको बताएका छन् । माओवादी सशस्त्र युद्ध सुरूको ३०औं वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित विशेष समारोहमा नेता शर्माले प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताएका हुन् ।
‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्याएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन । अहिले आएको यो सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् । पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए (शक्ति बस्नेत) तर केही भएन । अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।
पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको लागि राहत, उद्धारलगायतका काममा आफू शुरूदेखि नै संलग्न रहेको बताए । उनले रुकुमले धोका दिन नजाने तर धोका खाने गरेको प्रसंग समेत कोट्याउँदै पार्टीमा सुधार ल्याउनुपर्छ भन्दा आफूमाथि अनेक लाञ्छानाहरू लगाइएको बताए ।