संविधानमा जनयुद्ध स्वीकार गरिएको छ : माधव सापकोटा
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने स्वीकार्य नहुने बताएका छन् । जनयुद्ध दिवसको अवसरमा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धले ल्याएको व्यवस्थाबाट वडा सदस्यदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपति हुन तर जनयुद्धलाई अपमान गर्न नमिल्ने बताए । उनले भने, ‘जनयुद्धलाई वैधानिक रूपमा लिने कि नलिने भन्ने बहस छ। संविधान निर्माणको बेलामा पनि यो निकै ठूलो छलफल र बहस पनि भयो । ठूलो बहस भएपछि संविधान सशस्त्र संघर्ष लेख्ने र व्याख्यात्मक टिप्पणीमा जनयुद्ध लेख्ने भन्ने व्यवस्था गरिएको छ । संविधानमा सशस्त्र संघर्ष लेखिए पनि व्याख्यात्मक घोषणामा जनयुद्ध भन्ने शब्द लेखेको छ ।
नेपालको संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकार गरिएको जिकिर गरे । उनले थपे, ‘संसदमा पनि बहस भइरहेको छ, हामीले जनयुद्धलाई के शब्द भन्ने भन्ने धेरै हिसाबकिताब गरेका छैनौँ । यो के हो ? भन्ने कुरा भोलि मान्छेहरूले खोज अनुसन्धान गर्छन् । जनयुद्धलाई कसैले सशस्त्र संघर्ष भन्ला, कसैले हिंसा भन्ला त्यो मुख्य कुरा होइन। तर, जनयुद्धले ल्याएको उपलब्धिलाई अपमान गर्न मिल्दैन । हामीले संसदमै बोलेको पनि तपाईँहरूले सुन्नुभएकै होला । सार्वजनिक रूपमै पनि भनेका छौँ । नेपालको संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकारिएको छ ।