नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण



हाम्रो इकोनोमि

 

 

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो ।गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा गरिएको छैन । केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटन आगमन ३० प्रतिशतले बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात, आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान छ । जलविद्युत् र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यसवर्ष जलविद्युत् उत्पादन चार सय ५० मेगावाट थपिने र धान उत्पादन चार दशमलव तीन प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यस्तै, मुद्रास्फीति सन् २०२५ मा पाँच प्रतिशत र सन् २०२६ मा साँढे चार प्रतिशत रहने पनि विश्व बैंकको अनुमान छ । मुद्रास्फीति सन् २०२३ मा सात दशमलव सात प्रतिशत र सन् २०२४ मा पाँच दशमलव चार प्रतिशत रहेको छ । विश्व बैंकको श्रीलङ्का, नेपाल र माल्दिभ्सका देशीय निर्देशक डेबिड सिस्लेनले पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई राम्रो टेवा दिने भए पनि आप्रवासन, बाह्य क्षेत्र व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । पछिल्ला वर्षमा नेपालको आर्थिक वृद्धिदर निरन्तर बढ्दो क्रममा रहेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढ्नु र बैंकको नाफा घट्नुलाई समस्याका रुपमा देखाइएको छ । त्यस्तै, बजेट कार्यान्वयन निकै कमजोर रहेको र पुँजीगत खर्च बढ्न नसकेको, सार्वजनिक ऋणको दायित्व बढेकोलगायतका विषयलाई नेपाल डेभलपमेन्ट अपडेटमा औँल्याइएको छ । राष्ट्र बैंकले नीतिगत दर घटाएको, चालु पुँजी कर्जा मार्गदर्शनमा सहजीकरण गरेको, ब्याजदर घटेकोलगायत लचिलो नीतिका कारण निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ । व्याघार घाटा बढ्दा सरकारको चालु खाता बचत भने घट्ने अनुमान गरिएको छ । चालु आवमा निजी क्षेत्रको खपत एक दशमलव आठ प्रतिशत र सरकारी क्षेत्रको खपत पाँच दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसवर्ष चालु खाता बचत जिडिपिको दुई दशमलव छ प्रतिशत रहने र सरकारी राजस्व २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...