पार्किङ निषेधपछि तनाबमा न्युरोड व्यवसायी



 

व्यापारिक हबका रूपमा चर्चित काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि व्यापारी विरोधमा उत्रिएका छन् । व्यापार सुस्ताउने डरमा उनीहरूले मंगलबार प्रदर्शनमा उत्रिएका हुन् । पार्किङ निषेधको विरोध जनाउँदै उनीहरू बुधबार थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छन् ।  ‘आर्थिक मन्दीले सुस्त रहेको व्यापारमा महानगरपालिकाको निर्णयले थप धक्का पुगेको छ । मोटरसाइकल, गाडीबाहेकले न्युरोडमै सवारी राखेर सामान किन्न पाउनुपर्छ । दिनभर पार्किङ गर्नेलाई विकल्प खोज्नुपर्छ,’ राष्ट्रिय व्यापार संघ, न्युरोडका महासचिव वैकुण्ठ दाहालले भने, ‘नभए हामी चरणबद्ध रूपमा विरोधका कार्यक्रम गर्छौं ।’ धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको महानगरपालिकाले जनाएको छ । पार्किङ निषेधको निर्णय मंगलबारदेखि नै लागू भएको महानगरको दाबी छ । न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिरहँदा विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइने महानगरको भनाइ छ । यस ठाउँमा ३ सय वटा चारपांग्रे र ७ सय वटा दुईपांग्रे सवारी पार्किङ गर्न सकिने महानगरले जनाएको छ । तर व्यापारीहरूले भने महानगरले तोकेको स्थान पायक नपर्ने भनिरहेका छन् । ‘महानगरले पार्किङका लागि काठमाडौं टावर भने पनि त्यो पायक पर्दैन । सवारी पार्किङ सुविधा नभए व्यापार हुँदैन,’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले भने, ‘विकल्पबिना गरिएको पार्किङ निषेध हामीलाई मान्य छैन ।
’ विरोधस्वरूप व्यवसायीले मंगलबार खिचापोखरी, न्युरोड क्षेत्रमा ५/६ घण्टा सदर बन्द गरे । केहीले प्रदर्शनसमेत गरे । ‘न्युरोड क्षेत्रमा सटरको भाडा लाखौं रुपैयाँसम्म तिर्नुपर्छ । व्यापार बन्द हुँदा व्यापारीको बिचल्ली हुन्छ,’ अध्यक्ष कार्कीले भने, ‘महानगरको निर्णयले अर्बौं रुपैयाँको नोक्सानी हुने देखिन्छ ।’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले पनि व्यापारिक चहलपहल हुने ठाउँमा पार्किङ निषेध गर्नु षड्यन्त्र भएको दाबी गरे । न्युरोड क्षेत्रको बजारलाई अन्य सहरतिर लैजान यस्तो प्रपञ्च रचिएको उनको भनाइ छ । ‘धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपास क्षेत्रमा सबैभन्दा बढी व्यापार हुन्छ । तर यही चहलपहल बढी हुने ठाउँमा पार्किङ नभएपछि व्यापार अवरुद्ध हुन्छ,’ अध्यक्ष शाक्यले भने,
‘महानगरले व्यापारिक गन्तव्यलाई पर्यटकीय गन्तव्य बनाएर व्यापार निषेध गर्न खोजेको छ ।’ व्यापारिक क्षेत्रमा एकतर्फी पार्किङको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । यसले व्यापारी र ग्राहक दुवै पक्षलाई फाइदा पुर्‍याउने शाक्यको भनाइ छ । ‘आर्थिक शिथिलताको समयमा व्यापार राम्रो हुने ठाउँमा पार्किङ निषेध गर्दा अर्थतन्त्रलाई थप असर पुर्‍याउँछ,’ उनले भने । नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कटवालले भने मगंलबारको विरोध प्रदर्शन सांगठनिक नभएको बताए । आफूहरूको आधिकारिक निर्णय छिट्टै आउने उनको भनाइ छ । ‘महानगरको निर्णय एकलौटी रूपमा आउनु गलत हो । तर सबै सिस्टममा जानुपर्छ । अहिले पार्किङमा सिन्डिकेट छ । वडा, पालिकासँग मिलेर केहीले अथाह पैसा कमाएका छन् । पार्किङ जहाँ भए पनि निःशुल्क हुनुपर्छ,’ कटुवालले भने, ‘सहर सुन्दर बनाउने काममा सबैले साथ दिनुपर्छ । तर त्यो विकल्पसहित चाहिन्छ ।’ पार्किङ निःशुल्क हुँदा व्यापार नमर्ने उनको दाबी छ ।काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरले पनि पार्किङस्थल तोकेरै निषेध गरिएको प्रस्ट्याए । न्युरोड, खिचापोखरीलगायत क्षेत्रका लागि पार्किङको विकल्प काठमाडौं टावर, काठमाडौं प्लाजा र धरहरा रहेको उनले जनाए । ‘न्युरोड क्षेत्र सफा होस् भन्ने हाम्रो चाहना हो । दरबारमार्गको पार्किङ हटेको छ । न्युरोडमा यत्तिकै छाड्दा दरबारमार्गका व्यापारीलाई न्याय हुँदैन,’ उनले भने, ‘न्याय सबैका लागि हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउँछ : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई

चितवनका एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल

    नेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध

मतगणना थाल्नुअघि इलाममा सर्वदलीय बैठक सुरू

    इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न

बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राष्ट्रिय बाल अधिकार