मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी



 

 

नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौताको गृहकार्य सुरु गरेको छ । मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा बीटुबीसम्बन्धी गृहकार्य सुरु भएको हो । निगमका अनुसार दोस्रो चरणमा दुईवटा पाइपलाइन निर्माण कार्य अघि बढाइएको छ । जसअनुसार झापाको आरआलीदेखि भारतको सिलिगुडी र अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पाइपलाइन निर्माण हुनेछ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुवै पाइपलाइन निर्माण गर्ने विषयमा द्विपक्षीय सम्झौता भइसकेको छ । जेठमा भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल र मोदीबीच सम्झौता भएको हो ।

प्रधानमन्त्री तहमा सम्झौता भए पनि परियोजना कार्यान्वयनमा लैजान बीटुबी पनि गर्नुपर्छ,’ नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘सम्झौता भएको ६ महिनाभित्रमा बीटुबी गरिसक्नुपर्ने भएकाले मंसिरमा भारतीय आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल निगमबीच यो प्रक्रिया सम्पन्न गर्न लागेका छौं । बीटुबीमा जानुअघि आईओसीका टोलीहरु स्थलगत अध्ययन गरी अहिले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काममा खटिएका छन् । यो प्रतिवेदन तयार भएर अन्तिम रुप लिएपछि बीटुबी प्रक्रियामा जाने निगमले जनाएको छ ।

निगमका अनुसार जीटुजी सम्झौताअनुसार भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा झापाको चारआलीदेखि भारतको सिलिगुडीसम्मको ५० किलोमिटर खण्डमा पाइपलाइन बिछ्याइनेछ । यस्तै चारआलीमा निर्माण हुने ४२ हजार किलोलिटर (४ करोड २० लाख लिटर) क्षमताको भण्डारण गृह (ग्रिन फिल्ड टर्मिनल)मा पनि भारतकै आर्थिक तथा प्राविधिक सहयोग हुने उल्लेख छ । यो भण्डारण गृहमा पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेल भण्डारण गर्ने लक्ष्य राखिएको निगमका प्रवक्ता ठाकुरले जानकारी दिए । चारआली-सिलिगुडीको पाइपलाइन निर्माण गर्न २ अर्ब ७८ करोड भारु रकम लाग्ने र भण्डारण गृह निर्माण गर्न ५ अर्ब भारु लाग्ने प्रारम्भिक चरणको लागत खर्च निकालिएको छ ।

यसैगरी भारत सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा अमलेखगन्जदेखि चितवनको लोथरसम्मको ६२ किलोमिटर खण्डमा पाइपलाइन निर्माण गरिनेछ । लोथरमा १ लाख १ हजार किलोलिटर (१० करोड १० लाख लिटर) क्षमताको भण्डारण गृह निर्माण गरिनेछ । यो भण्डार गृह निर्माणमा लाग्ने खर्च नेपाल सरकारले व्यहोर्नेछ भने प्राविधिक सहयोग आईओसीले गर्ने सम्झौतामा उल्लेख छ । यो भण्डारण गृहमा डिजेल र पेट्रोलमात्रै भण्डारण गरिनेछ ।

‘अहिले दुवै परियोजनाको विस्तृत परियोजना प्रतिवेदनको विषयमा काम भइरहेको छ, सकिएलगत्तै बीटुबी गरी निर्माण कार्य सुरु गरिहाल्ने योजना हो,’ ठाकुरले भने । भारतले सम्झौता भएको ५ वर्षभित्रमा दुवै परियोजनाको निर्माण कार्य सकिसक्नुपर्ने समयसीमा तोकेको छ । पहिलो चरणमा दक्षिण एसियामै पहिलो नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपालमा बनेको थियो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ६९.२ किलोमिटर खण्डमा यो पाइपलाइन बिछ्याइएको थियो । यो पाइपलाइनको कुल दूरीमध्ये भारततर्फ ३२.६५ किलोमिटर र नेपालतर्फ ३७.२५ किलोमिटर पर्छ ।

२०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओली काठमाडौंबाट र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल प्रविधिमार्फत दिल्लीबाट संयुक्त रुपमा रिमोट थिचेर यो पाइपलाइनको उद्घाटन गरेका थिए । सोही दिनबाट यो पाइपलाइनबाट नेपालमा डिजेल आपूर्ति सुरु भएको हो । पाइपलाइन निर्माण भएपछि ढुवानी शीर्षकमा हुने ठूलो रकम जोगिएको छ । आगामी दिनमा निर्माण हुने थप दुई पाइपलाइनका कारण अझै ठूलो परिमाणमा ढुवानीबापतको रकम जोगिने निगमले जानकारी दिएको छ । यो दुई पाइपलाइन निर्माणपछि सुदूरपश्चिम क्षेत्रमा मात्रै ट्यांकरमार्फत भारतको बन्थरा र गोण्डास्थित आईओसीको रिफायनरी केन्द्रबाट इन्धन आयात हुनेछ ।

२०७२ सालमा भारत सरकारले नेपालतर्फ एकतर्फी रुपमा गरेको ६ महिने अघोषित नाकाबन्दीबाट पाठ सिकेर तत्कालीन सरकारले कम्तीमा ३ महिना पुग्ने गरी इन्धनको भण्डारण गृह निर्माण गर्ने बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो । सोहि अनुसार निगमले विभिन्न स्थानमा भण्डार गृह निर्माण गर्न लागेको हो । भण्डारण गृह निर्माण गर्न निगमले आर्थिक वर्ष २०७३/७४ मा सर्लाही, झापा, चितवन र रुपन्देहीमा २ अर्ब ६६ लाख ४८ हजार रुपैयाँमा ६८ बिघा जग्गा खरिद गरेको छ । तर, जग्गा खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको भन्दै तत्कालीन विभिन्न संसदीय समितिले छानबिन गरी दोषीमाथि कारबाही गर्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
५९ अंकले बढ्यो नेप्से, १५ अर्ब बढीको कारोबार

    नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ समर्थन हुने पक्का

    प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा दुई तिहाइ समर्थन

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरूङलाई बुझायो ३० बुँदे सुझाव

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार तथा