राज्यले दुर्गम क्षेत्रको उडान नियमित गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याउनुपर्छ



 

 

नेपालको ठूलो भू–भाग पहाडी र हिमाली भेगमा पर्छ । सडक यातायात पुर्‍याउन कठिन हुने र यातायातका अन्य माध्यम नहुने हुँदा यी भेगका जनताको जीवन निकै कष्टकर बन्ने गरेको छ । त्यसकारण दुर्गम भेगका लागि हवाईजहाज यातायातको साधन मात्रै होइन, जीवन बचाउने एम्बुलेन्स पनि हो । दुर्गम भेगका उडान अनियमित हुने गरेका छन् । यसो हुनुमा हवाई इन्धन अत्यधिक महँगो हुनु, दुईतर्फी यात्रुको अभाव, छिटो–छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी फर्कनुपर्ने कारण मुख्य हुन् । यसलाई सम्बोधन गर्न राज्यको तर्फबाट सहुलियतका कार्यक्रम ल्याउनुपर्छ ।

त्यसो नगर्दा दुर्गम भेगका गन्तव्यको उडान महँगो पर्न जान्छ । यसले यात्रुलाई मात्रै होइन, वायुसेवालाई पनि उत्तिकै आर्थिक भार पर्छ । किनकि भाडा महँगो हुँदा यात्रु कम हुन्छन् । जसले गर्दा वायुसेवा कम्पनीले बाध्य भएर उडान झिक्नुपर्ने अवस्था आउँछ ।

भोक मेटाउन चाहिने चामल बोक्ने ट्रकको काम पनि हवाई यातायातले गरेको छ । पैदल यात्रामार्फत कैयौं दिन लाग्ने समयलाई केही मिनेटमा छोट्याएर जीवन सहज बनाएको छ । पर्यटकलाई दुर्गम भेगमा पु¥याउन होस् वा स्थानीयको सेवामा; वायुसेवा कम्पनीले निकै चुनौतीका बावजुद आफ्नो सेवालाई निरन्तरता दिइरहेका छन् । तर, दुर्गम भेगमा उडान नियमित हुन नसकेकोदेखि महँगो भाडादरसम्मका गुनासो यात्रुबाट सुनिन्छ । आजको दिनसम्म दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीले आफ्नो क्षमताले जति गरिरहेका छन्, त्यसमा राज्यबाट प्रोत्साहन प्राप्त हुनसकेको छैन । उल्टो कहिलेकाहीं हतोत्साही बनाउने काम हुन्छ ।

नेपालमा दुर्गम क्षेत्रका विमानस्थल आवश्यक पूर्वाधारको अभावमा चलिरहेका छन् । कतिपय अत्यावश्यक उपकरण नहुँदा मौसममा आउने सानो परिवर्तनका बेला पनि जहाज चलाउन सक्ने अवस्था रहँदैन । दुर्गम क्षेत्रमा बनेका विमानस्थलहरू पूर्णरूपले भौतिक पूर्वाधारयुक्त बनिसकेका छैनन् ।

ती विमानस्थलमा आवश्यक नेभिगेसन उपकरण, यात्रु टर्मिनल भवन तथा तारबार नहुँदा सुरक्षा जोखिम बढेको छ । रारास्थित ताल्चा विमानस्थलमा विमानस्थललाई घेरेर तारबार गरिएको छैन । देशभरका विमानस्थलहरूमा जहाज अवतरणका दौरान कुकुर तथा अन्य जनावर आएर ओभरसुट गर्नु परेको घटना धेरै छन् । यसले वायुसेवा कम्पनीले मात्र घाटा बेहोर्दैनन्, यात्रुको ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ ।

केही समय अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान र अवतरण हुने विमानस्थलको मात्र नभई ‘इनरुट’को पनि मौसमी विवरण लिएर मात्र उडान गर्न निर्देशन दियो । तर, नेपालमा १० हजार फिट भन्दा तलको इनरुटको मौसमी विवरण दिने प्रणाली नै विकास भएको छैन । पोखरा–जोमसोम रुटमा तीन/चार वटा जहाज दुर्घटनामा परिसके । यहाँ बीचमा केही बेर एटीसी र जहाजबीच सञ्चार विच्छेद हुन्छ भनिन्छ । त्यो समस्या समाधान गरी सुरक्षा अभिवृद्धिमा ध्यान दिएको पाइँदैन ।

यो रुटमा सीसीटीभी क्यामरा राख्ने प्रक्रिया प्राधिकरणले अगाडि बढाएको छ । यो कति प्रभावकारी उपाय हो, परीक्षण हुन बाँकी छ । विमानस्थल तथा इनरुट मौसमको जानकारी दिने आधुनिक उपकरण जडान गरी दुर्गग भेगमा नियमित उडान योग्य वातावरण बनाउनुपर्छ । नेपालमा हवाई यात्रामा आम यात्रु आकर्षित हुन थालेको धेरै भएको छैन । लामो समयसम्म हवाई यात्रालाई विलासिता मानिन्थ्यो । आज यो जनताको पहुँचमा पुगेको छ । यो उत्साहजनक अवस्था हो ।

तर, यसलाई वायुसेवा कम्पनीको व्यापारका रूपमा मात्रै हेर्नुहुँदैन । हरेक मानिसको समयको मूल्य हुन्छ । वायुसेवा कम्पनीका कारण बचेको समयलाई मानिसले उत्पादनमा लगाउँछ । त्यसले समग्र अर्थतन्त्रमा योगदान गर्छ । त्यसकारण राज्यले दुर्गम क्षेत्रको उडान नियमित गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याउनुपर्छ । छोटो धावनमार्ग भएका साना विमानस्थलमा नियमित उडान गराउने हो भने वायुसेवा कम्पनीले छुट्टै कार्यालय स्थापना गर्नुपर्छ । आवश्यक कर्मचारी राख्नुपर्छ । यस कामका लागि दक्ष कर्मचारी चाहिन्छ । दुर्गम भेगमा कर्मचारी टिकाएर राख्नु आफैंमा चुनौतीपूर्ण काम हो ।

कहिलेकाहीं सुनिन्छ, ‘हप्ताको एउटा भए पनि उडान गरिदिए हुन्थ्यो ।’ वायुसेवा कम्पनी त सबै विमानस्थलमा साताको सबै दिन उडान गर्न तयार छन्, त्यसको ग्यारेन्टी छ त ? नभए वायुसेवा कम्पनीले कर्मचारी मात्रै पालेर किन राख्छ ? यो त व्ययभार हो नि ! त्यसकारण वायुसेवा कम्पनीलाई हतोत्साही बनाउनुहुँदैन । त्यसो गरियो भने यहाँ थप लगानी आउन सक्दैन । भएको लगानी पनि विस्थापित हुन्छ र दुर्गम भेगका उडान सदाको लागि बन्द हुने अवस्था आउँछ । त्यसबेला राज्यले अर्बौं रुपैयाँ लगानीमा बनाएका यी पूर्वाधारको अवस्था के हुन्छ ? अब सोच्नुपर्ने बेला आएको छ ।

अनलाईनखबरबाट साभार

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्