भरतपुरको मेयरमा रेणु नै उम्मेदवार, कांग्रेसले विद्रोह गर्ने चेतावनी
आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ । माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ ।
गठबन्धनका बैठकहरुमा नियमित सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको छ । भरतपुरको मेयर कांग्रेसले नपाउने निश्चित भइसक्यो । गठबन्धनले बनाएको मापदण्डले पनि यसअघि माओवादीले जितेको भरतपुरमा कांग्रेसको दाबी कमजोर भइसकेको छ । सभापतिले प्रचण्डलाई वचन दिइसक्नुभयो’, कांग्रेसका एक नेताले भने ।
ती नेताका अनुसार चितवनमा कांग्रेसको तर्फबाट हुनसक्ने विद्रोहलाई राजनीतिक रुपमा व्यवस्थापनको प्रयास भने गरिनेछ । ‘अहिले चितवनमा कांग्रेसले एउटा गाउँपालिकामात्रै जितेको छ । भरतपुरको मेयर माओवादीले पाएपनि चितवनमा कम्तिमा पाँच स्थानीय तहमा नेतृत्व र अन्यमा सह–नेतृत्व कांग्रेसले लिनेछ । त्यसबाट गठबन्धनको माहोल बन्न मद्दत पुग्नेछ’, ती नेताले भने ।
भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठकमा चितवनमा एक्लै लडेर कांग्रेसले नजित्ने दाबी गरेका थिए । चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर माग गरेका थिए ।
निरन्तरको आग्रहका बावजुद भरतपुरमा कांग्रेसले मेयर नपाए अन्तरघात र बागी उम्मेदवारीको अधिक सम्भावना देखिन्छ । ‘यदि भरतपुरको मेयरमा कांग्रेसको च्याप्टर क्लोज भएको हो भने जसले यस्तो निर्णय लिए परिणामको भागीदार पनि उनीहरु नै हुनुपर्छ’, चितवन कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार माओवादीले भरतपुरको मेयर पाए कांग्रेसको असन्तुष्टिले परिणाममा असर पार्नसक्छ । मंगलबार मात्रै भरतपुर महानगरका २९ वटा वडाका कांग्रेस सभापतिहरुले मेयर नपाए विद्रोह गर्ने लिखित चेतावनी दिइसकेका छन् ।
सभापति देउवाले निकटस्थ नेताहरुले चुनावी तालमेल नगर्दा पुनः वामएकता हुनसक्ने खतरा औंल्याउने गरेका छन् । स्थानीय निर्वाचनमा सुदृढ तालमेल भए त्यसले संसदीय निर्वाचनमा पनि लाभ पुग्ने र चुनावपछि पनि आफ्नै नेतृत्वमै सरकार बन्ने देउवाको बुझाइ छ । गत चैत १७ गते नै सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।
गठबन्धनको मंगलबारको बैठकले वैशाख ५ गतेभित्र स्थानीय तहको तालमेलको खाका केन्द्रमा पठाउन गठबन्धनको तल्लो तहका संयन्त्रहरुलाई निर्देशन दिएको छ । महानगर र उपमहानगरको सिट बाँडफाँ६को निर्णय केन्द्रबाटै टुंगो लगाउने निर्णय गठबन्धनले गरिसकेको छ । ६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने निश्चित छ । भरतपुर माओवादीले पाउने निश्चित हुँदा नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्जमा दाबी गरेका छन् ।
कांग्रेस नेतृत्व वीरगञ्जमा जसपालाई छाड्न तयार भएपनि पोखरामा मेयर छाड्न तयार देखिएको छैन । ‘पोखरामा कुरा मिलिसकेको छैन । सकभर समाजवादीलाई उपमेयर दिएर मनाउन खोज्छौ , नभए पोखरा समाजवादीकै भागमा पर्न पनि सक्छ’, कांग्रेसका एक नेता बताउँछन् ।