एमालेले चुनाव जित्ने यस्ता छन् बलिया आधार



 

 

शंकर पोखरेल

नेकपा (एमाले) जस्तो लोकतान्त्रिक व्यवस्थालाई अंगिकार गरेर अघि बढेको पार्टीले अब फेरी सशस्त्र क्रान्तिको परिकल्पना गर्न सक्दैन । तसर्थ अब संसदीय क्रान्ति अर्थात जनमत प्राप्त गरेर जनताले चाहे अनुसारको व्यवस्था ल्याउँन नेकपा (एमाले) चाहिएको छ । यसका लागि नेकपा (एमाले) र (एमाले) मा मिश्रित हुनसक्नेहरुलाई स्पष्ट दुई तिहाई मत चाहिएको छ । यसका लागि सबै आधार तयार भइसकेको छ ।

अब प्राविधिक विषय मिलाउँन चुनाव गर्न र जनताको मत बाकसमा माग्न मात्र बाँकी छ । एमालेले जित्ने आधारहरु स्पष्ट छन् । बाहिर हल्ला गरिए जस्तो एमाले विभाजन भयो । यसले गर्दा एमाले कमजोर छ भन्ने तर्क तथ्यमा आधारित छैन । तथ्य तत्कालिन दल विभाजन गर्न गरिएको प्रयास नै काफी छ । दल विभाजन नेता वा जनमतको आधारमा हुन्छ । एमाले नेताका आधारमा विभाजित भएको हो ।

जनप्रतिनिधिको आधारमा हैन । एमाले विभाजन हुँदा जनमत केन्द्रमा १० प्रतिशत मात्र अर्कोतर्फ गएको थियो । तर स्थानीय जनमत मुस्किलले ४ प्रतिशत मात्र जनमत विभाजन भयो । पार्टी विभाजनले पार्टीलाई केन्द्रीय तहमा जति असर परेको छैन ।

अघिल्लो स्थानीय तहको चुनावमा एमाले एक्लैले ४० प्रतिशत स्थानीय तहमा चुनाव जितेको थियो । त्यो बेला माओवादी र कांग्रेसले विभिन्न तरिकाले चुनावी तालमेल गरेका नै हुन् । एउटा मनोविज्ञान के छ भने, चुनावको नजिक उस्तै विचार भएका पार्टीका मतदाता र कार्यकर्ताले संगठन कमजोर भएका पार्टीलाई छोडिदिन्छन् । अहिले सिँधा हेर्दा कम्युनिस्ट पार्टीहरुमा एमाले एक मात्र बलियो पार्टी हो ।

यसैले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्ता र मतदाताहरु धमाधम एमालेमा आइरहेका छन् । अघिल्लो चुनाव हेर्ने हो भने एमालेबाट विभाजन भएको जनमत एउटा पालिकामा मुस्किलले ७ देखि ८ सय भोट हो ।

समग्रमा हेर्दा सबै पालिकामा ४–५ लाख मत एमालेबाट विभाजन भएको छ । तर अहिलेको पुष्पकमल दाहाल प्रचण्डको पार्टी (नेकपा माओवादी केन्द्र) बाट यो भन्दा बढी मतदाताहरु नेकपा एमालेमा आउँनुभएको छ । त्यसैले माधव नेपालको नेतृत्वमा विभाजन भएको समूहबाट एमालेलाई कुनै असर छैन । यता सानो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चा विघटनको संघारमा छ । गण्डकी र लम्बिनी प्रदेशमा यसको केही प्रभाव छ । राष्ट्रिय जनमोर्चाको ठूलो हिस्सा एमालेमा आँदैछ । यो एमालेको एक नाफा हो । गत चुनावमा एमालेलाई मधेस प्रदेशमा बन्देज जस्तै थियो ।

एमालेले त्यहाँ प्रचार समेत गर्न पाएको थिएन । अहिले अति आकर्षण एमालेमा छ । अरु कुनै ठाँउमा प्रतिकुल परिणाम आए मधेसबाट आउने नतिजाले एमालेलाई निक्कै राम्रो पूर्ति हुन्छ । चुनावी मनोविज्ञान के हो भने कुनैपनि दलप्रति प्रतिवद्व नहुँने तर राष्ट्र र राष्ट्रियताको हितलाई सर्वोपरी ठान्ने र केही व्यक्तिगत लाभका कारण चुनाव नजिक केही मतदाताहरु चलाएमान हुन्छन् । चलाएमान मतदाता ८० प्रतिशत एमालेमा आएका छन् । २० प्रतिशत मात्र अरु दलमा गएको प्रष्ट छ । यसबाट एमालेलाई ६० प्रतिशत नाफा भएको छ ।

पहिलेदेखि नै नेपालको चुनावी परिणाम नियाल्ने हो भने संगठित मतदाता एमालेमा हुन्छन् । असंगठित मतदाता कांग्रेसमा हुन्थे । तर अहिले संगठित त एमालेमा छँदैछन् । असंगठित समेत घरका नयाँ सदस्यको दवावमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नेकपा एमालेले गरेका काम, भावी लक्ष्य हेरेर देश एमालेबाट बदलिन्छ भन्दै एमालेमा आइरहेका छन् । कपिलवस्तुका पूर्ण प्रसाद साह कांग्रेका संस्थापक नेता हुनुहुन्छ ।

उहाँले एक सन्देश दिनुभयो । केपी शर्मा ओलीले साँच्चै देश बदल्नुहुन्छ । उहाँको कुरा सुन्दा र काम गर्ने शैली हेर्दा अब उहाँको पछाडी लामबद्ध हुनुपर्छ भन्ने आफ्नै नातीको विश्वास र सम्झाउने शैलीका कारण अब म एमालेमा रहे उहाँले सन्देशमा भन्नुभएको छ । कांग्रेसका संस्थापक नेताहरुमा अब जिवित अति नै कम छन् ।

यसको उदाहरण के हो भने पछिल्लो युवा पुस्ता नेकपा एमाले र केपी शर्मा ओलीप्रति आकर्षित छन् । अहिलेको चुनावमा अत्याधिक ठूलो संख्यामा युवा र नयाँ मतदाता छन् । उहाँहरुको मनोविज्ञान नेकपा एमाले नजिक छ । उहाँहरुको मत सूर्यमा छ भन्ने कुरा कसैलाई ढाँटेर भन्नुपर्ने छैन । तथ्य नै छर्लंग छ ।

अर्को कुरा के भने गठबन्धनका माध्यमबाट देशमा स्थायित्व हुन्छ भन्ने प्रयोग असफल भयो । हामीले तत्कालिन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर भोट माग्यौँ । पछि पार्टी एकता गरेर नै सरकार बनाएका थियौँ । एउटै विचार भएका दलहरुबीच त गठबन्धन टिक्न सकेन ।

अब बन्ने कांग्रेस, माओवादीका साथमा अनेकौँ विचारको खिचडी स्थायी राजनीतिक शक्ति हुँनै सक्दैन । स्थायित्वका लागि एउटै दल जरुरी छ भन्ने नेपालको राजनीतिक प्रयोगको निचोड भएका कारण नेकपा एमालेको नेतृत्वमा देश बन्छ भन्ने विश्वास आम मानिसमा छ । यसैले अब एमाले एक्लैलाई बहुमत दिन मतदाता तयार हुनुहुन्छ । २१औँ सताब्दिका मतदाता अब सबै सचेत हुनुहुन्छ ।

गठबन्धन टिक्न नसक्नुमा केही न केही केपी ओलीमा समस्या थियो नै भन्ने आँकलन केहीको देखिन्छ । तर अब बुझ्न जरुरी छ । समस्या ओलीसँग व्यक्तिगत केही होइन । उहाँ र हामी सबैले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नचिन्नु ठूलो कमजोरी हो ।

यसको तथ्यपनि यो होकी जतिबेला नेकपा विवादमा थियो । त्यतिबेला प्रचण्ड र माधव एउटा पानाको दुई सिक्का जस्ता थिए । प्रचण्डले जे बोल्छन् माधवको बोली त्यही हुन्थ्यो । प्रचण्डले जे गरौँ भन्थे माधवले त्यही गर्थे । तर जब पार्टी विभाजन भयो । एमाले, एमाले रह्यो र नेकपा माओवादी केन्द्र फुटेर गयो । माधव नेपालले नेकपा एकीकृत समाजवादी नामको अर्को दल बनाए । नेकपा बचाउनु छ भन्ने उनीहरुमा थियो भने त उनीहरु एक ठाउँ हुन्थे होला ।

अदालतले त पुनः एकता वा वैधानिक बाटोबाट अर्को दल बनाएर आउ भनेको थियो । एमाले अध्यक्ष ओलीले अर्को पार्टी बनाएर जाऊँ भनेर सम्वाद गर्नुभएको थियो । उनीहरु स्वार्थको बाटोमा थिए । उनीहरु मिल्न सकेनन् । तर केपी शर्मा ओली नेतृत्वको एमालेले तत्कालिन नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, मतदाता सबै समेटेर बामपन्थीहरुको एकता बचाएर राख्नुभएको छ । अब बाँकीपनि सबै यसैमा सामेल हुने हो ।

एउटा तथ्य स्मरण गराउन चाहान्छु । तत्कालिन नेकपा एमालेको नेतृत्वका सबैसरकार असलफ भएर ढलेका हैनन् । देशलाई गलत गर्न बनेको गठबन्धनले गरेको षड्यन्त्रका कारण हटेको हो ।

मलेसिया र सिंगापुरका तत्कालीन राजनीतिज्ञहरुलाई केपी ओलीलाई खेदेजस्तै खेदिएको थियो । त्यहाँ जनताको सहयोगमा त्यस्ता षड्यन्त्र चर्चामा आएका राजनीतिज्ञले चिरे । यसैले आज मलेसिया र सिंगापुर विकासको चरम विन्दुमा छ । अब केपी ओलीलाई जनताले साथ दिने हो भने यो देश परिवर्तन हुन्छ ।

साथ दिन सबै बामपन्थी र न्यायप्रेमी नागरिक गोलवद्ध हुनुहुनेछ । किनकी बामपन्थी एकताको सही बाटोमा एमाले छ । नेकपा विवादपछि हेर्नुहोस् नेकपा एकीकृत समाजवादीमा एक जना मा माओवादी छैनन् र माओवादीमापनि एक जनापनि एमाले छैनन् । तर एमालेसँग माओवादीको तत्कालिन नेतृत्व छ । ठूलो जनमत छ ।

पार्टी विभाजन अघि प्रचण्ड र माधव नेपाल एकसाथ थिए । तर पार्टी फुटेपछि त उनीहरु नै विभाजन भए । मिल्न सकेनन् । किनकी उनीहरुको सम्बन्ध स्वार्थको थियो । हो यसैले अब माओवादी र एसमा रहेका नेता, कार्यकर्ताहरुपनि एक–एक गर्दै एमालेमा नै समाहित भइसक्नुहुनेछ । एउटा मुल विषय स्मरण गराऔँ । हाम्रो राजनीति अहिलेपनि सकसपूर्ण रुपमा रहनुको कारण देशका प्रधान सत्रु दलसँगपनि संविधानका लागि मिल्नुपर्ने त्यो बाध्यता थियो ।

एमालेले नवौं महाधिवेशनमा नै संविधानका लागि कांग्रेससँग समेत सहकार्य गरेर संविधान जारी गर्ने, संविधान बनिसकेपछि प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस नै मान्ने थियो । यही हाम्रो कार्यदिशाका कारण मात्र संविधान जारी भएको थियो ।

निक्कै सकसपूर्ण अवस्थाबाट संविधान नै बन्न नसक्ने भएका बेला बुर्जुवा शक्ति कांग्रेससँग एमाले र तत्कालिन माओवादी समेत मिल्नुपर्ने बाध्यता त अहिले सबैलाई थाहा छ । त्यो बेलाका दस्तावेज र लेखहरु हेर्नुहोस् । तत्कालिन माओवादीले प्रधान शत्रु राजा र त्यसको मतियार नेपाली कांग्रेस, अझ भनौँ त्यो बेलाका प्रधानमन्त्री शेर बहादुर देउवालाई नै प्रधान शत्रु मानेर युद्धमा होमिएको हो ।

१७ हजार नागरिक मारेर आएपछि फेरी उही बुर्जुवा कांग्रेससँग तालमेल गरेर चुनाव लड्नु जनताका सामु कुन हदसम्मको अपराध हो उनीहरुकै पार्टीका नेता–कार्यकर्ताले मनन गरिरहेका छन् । मतदाताले भने बुझिसकेका छन् । अब नेपालको राजनीति मुलभुत ५ आधारमा केन्द्रीत छ । ती सबै आधारमा एमाले अब्बल छ ।

 

राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित

विपक्षमा हुँदा समेत नेकपा एमालेले नै राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितमा चर्को नारा लगाउने गरेको श्रव्य, दृष्य र छपाईहरु सुरक्षित नै छन् । नारा त अरुलेपनि लगाए । तर सत्तामा आउँदा खै के गरे । तर सत्तामा आउँदा काम गर्ने पहिलो नाम केपी शर्मा ओलीको नै आउँछ ।

नेकपा एमाले नै पहिलो दर्जामा छ । भारतको अघोषित नाकाबन्दीका विरुद्ध चट्टान झै उभिएर मुकाविला गर्ने साहास एमाले अध्यक्ष ओलीले नै गर्नुभयो । नाकाबन्दी त तत्कालिन नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा भएको थियो । उनी डटेर लड्न सकेनन् । तर ओलीको साहास र गरिएको कुटनीतिक कदमले सहजै जित्यो । नेपाल र नेपालीको स्वाभिमान उचो भयो । भौगोलिक अखण्डताका लागि देशको जमिनको रक्षाका लागि केपी ओलीले खेलेको भूमीका सामान्य हैन ।

नक्सा छाप्न त सकिन्थ्यो । केही हल्का जवाफ फर्काएको सुन्छु । तर नाक्सा छापेर निशान छापमा प्रमाणिकरण गर्नु, सर्वसम्मतमा संविधान नै संशोधन गरेर संविधानको अनुसूचीमा लेख्नु दुनियाँको राजनीतिमा विरलै उपलब्धि हो । त्यो पनि नेपाल जस्तो देश जसले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ । कयौ राजनीतिक दल र कयौँ विचारको जनमत हुँदा समेत सर्वसम्मतमा संविधान संशोधन गर्नु त्यो नेपालका लागि मात्र हैन विश्व राजनीतिमा विरलै घटना हो ।

 

अन्तर्राष्ट्रिय सम्बन्ध

छिमेकी र बाह्य मित्रराष्ट्र कोहीसँगपनि चीसोपना नबढाई कसैले नसोचेका उपलब्धि हात पार्नु सामान्य कुरा हुनै सक्दैन । नाकाबन्दीको जवाफ अर्को उत्तरी छिमेकी चीनसँग समेत ब्यापार सम्बन्ध कायम गर्नु, त्यहाँको बन्दरगाह उपभोग गर्न पाउँनेगरी सम्झौता हुँनु, पेट्रोल, विद्युत जस्ता अति आवश्यकीय बस्तु खरिदका लागि सम्झौता गर्नु, विकास साझेदारीका लागि ठूला परियोजना भित्र्याउँनु नेपालका लागि कोषेढुंगा सावित भयो ।

आजको लोडसेडिङ अन्त्य कसैको जादुको छडी हैन । नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको दुरदर्शी निर्णयको परिणाम हो । भारतसँग अन्नरदेशीय ट्रान्समिसन विस्तारको सम्झौता, भारतसँग विद्युत खरिदको सम्झौतापनि एमाले सत्तामा पुगेपछि नै भयो । भारतले त्यो अघि सम्झौता गर्न अस्वीकार गर्दै आएको थियो । त्यही भएर त्यसअघि बनेको कयौँ सरकारले काम गर्न सकेको थिएन । तर ओलीको कन्भिन्स गर्न सक्ने क्षमताले आज देश उज्यालो भयो ।

काम गर्ने ओली तर कुनै एक कर्मचारी जनताको हिरो बनाइयो । त्यसपछि आउने मन्त्री उज्यालोका नायक भनियो । तर तथ्य भूल्नु हुन्न ओलीको दरदर्शी निर्णयका कारण आज नेपाल लोडसेडिङ मुक्त छ । स्वदेशमा विद्युत उत्पादन गरेर विदेशमा विजुली बेच्न सक्ने हैसियतमा छ । कुलमान घिसिङ भार व्यवस्थापनमा इमान्दार र कुशल कर्मचारी चै हुन् । तर दुई सय देखि अढाई सय मेघावट विद्युत कर्मचारीको कुशलताले पूर्ति हुन सक्दैन थियो । विद्युत खरिद र अन्तरदेशीय विद्युत खरिदका लागि बनाइएको ट्रान्समिसनले त्यो सुनौलो दिन ल्याएको हो ।

भारतसँग सम्बन्धमा कुनै दखल नगरी नेपाल–भारतबीचको असमान सन्धि पुनरवलोकनको सहासिलो कार्य एमाले नेतृत्वमा भयो । पहिलो पटक एमालेका तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उठाउनुभयो । त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारका वेला विज्ञहरुको टोली गठन भयो । ८ जनाको दुई देशीय विज्ञ टोलीले नेपालको पक्षमा प्रतिवेदन दियो । त्यो कार्यन्वयन रोकिएको छ । आशा छ त्यो चाँडै कार्यन्वयनमा आउँने छ । दुई देशबीच भएको समझदारीबाट बनेको प्रतिवेदन भारतले बुझ्न मानेको छैन । त्यो बुझेर कार्यन्वयन गर्नुपर्ने छिमेकी भारतको बाध्यता हो त्यसमा एमालेले अझै थप काम गर्नेछ ।

मधेसमा डुवानको समस्या थियो । भारतले बनाएका एकपक्षीय संरचनाका कारण नेपालको तराई कयौँ बर्ष अघिदेखि डुविरहेको सबैलाई थाहा थियो । कोही चुइक्क बोल्न सकेनन् । तर ओली प्रधानमन्त्री बनेपछि भ्रमणकै बेला सभ्य भाषामा भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यू नेपालका जनता भारत बिरोधी हुनुको कारण डुवानपनि एक हो । यसलाई हल गरौँ । डुवान सम्वन्धमा कहाँ–कहाँ समस्या भन्ने दुई देशबीचको टोली गठन भयो । टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले संरचना हटाउने कार्य गर्ने थियो ।

तर एमाले नेतृत्वको सरकार हटाइयो । अब आएर फेरी बाँकी काम गर्छ । यता उत्तरको छिमेकी चीनसँगपनि इतिहासकै राम्रो सम्बन्ध छ । चीनले बन्दरगाहा प्रयोग गर्न नेपाललाई दिने सम्झौता गरेको छ । अब नेपालले कुनै एक देशले चाहेमापनि कहिलै नाकाबन्दीको समस्या भोग्नुपर्ने छैन ।

 

विकास सम्बन्धमा

राजनीतिक लडाई विभिन्न क्रान्तिबाट भए । अब विकासमा क्रान्ति ल्याउँनुपर्छ भनेर विकास र संवृद्धिको जग नै केपी ओलीले बसाउनु भयो । पहिलो पटक प्रधानमन्त्री बन्दा जनताका मुर्छित योजनालाई देखाइदिनुभयो । दोस्रो पटक प्रधानमन्त्री बन्दा विकासको नमुना नै देखाउँनुभयो । आज पालिका–पालिका जोड्ने सडक पक्कि हुँदैछन् ।

राईका सहरमा सडक चौडा भएका छन् । शानदार सरकारी भवनहरु बनेका छन् । कल्पना नै गर्न नसक्नेगरी दैनिक सडक कालोपत्रे भएको छ । रेल, इन्धन पाइपलाईन, सुरुङ्ग, भत्किएका संरचना पुर्ननिर्माण, खानी उत्खनन, उद्योग स्थापना, रोजगारीको सृजना सबै तर्फ हेर्दा जो कोहीले देख्नेगरी काम भएको छ ।

संविधान

संविधान जारी गर्न नदिन अनेकौँ षड्यन्त्र भएका थिए । छिमेकीले नै आजै संविधान जारी गर्ने कुरा रोक्नुस् भन्ने सन्देश पठाएका खबर अहिलेपनि खोज्दा भेटिन्छन् । तर एमाले एक इन्च पछि सरेन, सहमति गर्न एमाले अगुवा बन्यो । सहमतिमा संविधान एमालेकै बलमा जारी भयो ।

संविधान जारीपछि घृणाको राजनीति सुरु भएको थियो । संविधानप्रति मधेस केन्द्रीत दल असन्तुष्ट थिए । तर एमालेले सहकार्यको राजनीतिको उदाहरण देखाईदियो । देशको चिन्ता गर्ने नेताले मात्र त्यो गर्न सक्छ । कम्युनिस्टको बहुमत भएपनि मधेसवादी ल्याएर सरकार एमालेले बनायो ।

मधेस केन्द्रीत दलहरुमापनि उपेन्द्र यादव र महन्थ ठाकुर समूहमा जनमत विभाजित थियो । सुरुमा नै उपेन्द्र यादव नेतृत्वलाई सरकारमा समावेश गराएर संविधान स्वीकार गर्ने एमालेले बनायो । महन्थ समूहका मागपनि सम्वोधन गरेर संविधान सर्वमान्य एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाउनुभयो ।

नेत्र विक्रम चन्द विप्लव समूह र डाक्टर सिके राउत जस्ता तत्कालका लागि समस्या हुने हुन् की भन्ने रुपमा बुझिएका शक्तिलाई मुलधारको राजनीतिमा ल्याउनुभयो । देशका सबै समस्या हल भए राजनीतिक सहमतिमा बनेको नेपालको संविधान सर्वमान्य, सर्वस्वीकार्य बनाउने काम एमाले अध्यक्ष ओली कै नेतृत्वमा भयो ।

सरकार

बुर्जुवा विचार बोकेको पार्टीले कसरी सरकार चलाउँछ । नेपाली कांग्रेसको शासनकालमा आम नागरिकले देख्नुभएको नै छ । तर हामी जनताको बहुदलीय जनवाद (जवज) बाट निर्दिष्टहरु सामाजिक न्यायको पक्षमा छौ भन्ने हाम्रो नेतृत्वको सरकारका कामले नै देखाएको छ । समाजवादको बाटो चाँडै आउँछ भन्ने दिशा एमालेले दिइसकेको छ ।

एमालेले नै सुरु गरेको वृद्ध भत्ता आज एक जना वृद्धले जिविको चलाउन सक्ने रकम बनेको छ । सरकारी कर्मचारीले मात्र पेन्सन पाउने अवस्थालाई चिर्दै नीजि क्षेत्रका रोजगारदाता र श्रमिकले समेत योगदानमा आधारित कोषबाट पेन्सन पाउँने व्यवस्था गरियो  धनी र हुनेबाट प्रमियम संकलन गरेर असाहाय, बृद्ध र निश्चित समूहलाई सरकारले नै प्रिमियम बुझाईदिने गरी स्वास्थ्य वीमा कार्यक्रम सुरु गरियो । आज बृद्धले एउटा वीमा कार्ड मात्र बोकेर अस्पताल गए । औषधी र उपचार मात्र हैन शल्यक्रिया समेत निशुल्क हुन्छ ।

भविष्य

अबपनि नेपालको भविष्य यही हुन्न । देशको विकास गर्नका लागि यो व्यवस्थाले सम्भव हुन्न । राजनीतिक स्थायीत्व नभएसम्म विकास हुन्न । राजनीतिक स्थायीत्वका लागि देशमा दुई मात्र विचारधाराका राजनीतिक दल अस्तित्वमा हुन जरुरी छ । नेपाली राजनीतिको ध्रुबिकरण गर्न अब एमाले मात्र सक्षम छ । दुई विचार वा पार्टी मात्र बनाउन एमालेले मात्र गर्न सक्छ । बुर्जुवाहरु कांग्रेसतर्फ खुम्चिन्छन् । बामपन्थीहरु सबै एमालेतर्फ आउँछन् । चुनावपछि नै यो हुन्छ । चुनावको नियम नै हो । आफ्नै दृष्टिकोण र राजनीतिक दिशा नभएका पार्टीहरु विघटनतर्फ जान्छन् ।

त्यसका नेता कार्यकर्ताहरु आफ्नो विचार मिल्ने पार्टीमा समाहित हुन्छन् । अहिले आफ्नै दिशा भएको बामपन्थी एमाले मात्र हो । यसैले नेकपा माओवादी केन्द्र, नेकपा, माओवादी, नेकपा एस, वैद्य माओवादी, विप्लव माओवादी जे–जे नाममा दल वा बामपन्थी समूह भएपनि यो चुनावपछि सबै शक्ति एमालेमा समाहित हुन्छन् ।

सम्मानपूर्व सबैलाई स्वागत गर्ने तरिका र नीति एमालेमा मात्र छ । तर प्रचण्ड र माधव नेपालहरु भने देउवासँगै हुन्छन् । उनीहरुसँग रहेका नेता र कार्यकर्ता विना सर्त सबै एमालेमा आउँछन् । एउटा सानो बुर्जुवा शक्तिको रुपमा नेपाली कांग्रेस हुन्छ । दुई तिहाई जनमत सहितको विशाल राजनीतिक बामपन्थी शक्ति नेकपा एमालेको नाममा सुसंगठित हुनेछ । त्यो बेलासम्म यो देश नेपाल विश्वको एक सुन्दर टुक्राको रुपमा विश्वभरी नाम लिएर पुकार्न थालिन्छ ।

(एमाले केन्द्रीय प्रचार विभागद्वारा काठमाडौँमा आयोजना समारोहमा महासचिव शंकर पोखरेलको सम्बोधनको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही