एमसिसी जसरीपनि पासगर्ने देउवाको चेतावनी
एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका छन्। माओवादी केन्द्रले एमसिसीको विपक्षमा भोट हाले पनि एमसिसी पारित गर्न सकिने कांग्रेसको आँकलन रहेको प्रधानमन्त्रीनिकट एक नेताले बताए। ‘अब कांग्रेस ब्याक हुँदैन। भोलि एमसिसी संसदमा टेबल हुनुपर्छ। टेबल भएपछि पास हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद अवरोध जारी राख्ने र मतदानमा भाग नलिने हुँदा सरकारबाहिर रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सहयोगमा एमसिसी पास गराउने रणनीति बनाएको छ। त्यसबाहेक सत्तारूढ जनता समाजवादी पार्टीका सबै सांसदले मत नदिए पनि केही सांसदहरूले एमसिसीको पक्षमा भोट हाल्ने कांग्रेसको आकलन छ।
नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका केही सांसदले एमसिसीको पक्षमा मतदान गरे भने माओवादी केन्द्र र अन्य दलका केही सांसदले विपक्षमा मत दिए पनि एमसिसी पास हुने बलियो सम्भावना छ। मतदान भए माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का धेरै सांसद अनुपस्थित हुने कांग्रेसको ठहर छ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६३ सांसद छन्। त्यसमध्ये मोहम्मद अफ्ताब आलम र विजयकुमार गच्छदार निलम्बित छन् भने सांसद प्रदीप गिरि भारतमा उपचार गराइरहेका छन्। संसदमा कांग्रेसका ६० जना सांसद उपस्थित हुन सक्छन्। लोकतान्त्रिक समाजवादी पार्टीका १२ सांसद छन्। जनता समाजवादी पार्टीमा बाबुराम भट्टराईसँग नजिक रहेका कम्तीमा ८ सांसदले पनि एमसिसीको पक्षमा मत हाल्ने कांग्रेसको विश्वास छ। यसरी आफूले टेबल गरेको एमसिसी पास गर्नुपर्ने पक्षमा ८० भन्दा बढी मत पुग्ने कांग्रेसको हिसाब छ।
माओवादीका ४९, राप्रपा, जनमोर्चा र नेमकिपाका गरेर ३ सांसदले विपक्षमा मत हाले भने पनि ५२ सांसद पुग्छन्। एमालेले संसद अवरोध जारी राखेर मतदानमा भाग नलिने निर्णय गरे पनि भीम रावललगायत केही सांसदले एमसिसीको विपक्षमा मत हाल्ने सम्भावना रहेको कांग्रेसका ती नेताले बताए।
‘त्यस्तै एकीकृत समाजवादीका झलनाथ खनाल र केही सांसदले पनि विपक्षमा मत हाल्न सक्छन्,’ ती नेताले भने,‘त्यति हुँदा पनि एमसिसीका विपक्ष भन्दा पक्षमै बहुमत पुग्छ।’ प्रतिनिधि सभामा बैठक सञ्चालन २७५ को एक चौथाइ सांसद उपस्थित हुनुपर्छ। अर्थात् ६९ जना सांसद उपस्थित भए पनि त्यसको बहुमत कुनै पनि प्रस्ताव पारित गर्न सक्छ।
त्यसैले एमाले अवरोध गरेर अनुपस्थित भए पनि संसद बैठक बस्न सक्छ। माओवादी केन्द्रको संसदीय दलले कम्तीमा गठबन्धन दलबीच सहमति नभई एमसिसी टेबल गर्न नहुने र ‘जबरजस्ती’ टेबल गरिए आफूहरूले त्यसको विपक्षमा मत हाल्ने निर्णय गरेको छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदमा टेबल भए के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन। एकीकृत समाजवादीले या त एमसिसीमा मतदान हुँदा अनुपस्थित रहने या सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गर्नेछ भन्ने कांग्रेसको विश्वास छ।
‘एकीकृत समाजवादीले आफ्ना सांसदलाई स्वविवेक प्रयोग गर्न दियो भने पनि केही सांसदले एमसिसीका पक्षमा भोट हाल्छन्। मतदानमा अनुपस्थित हुने निर्णय गर्यो भने पनि हाम्रो बहुमत पुग्छ,’ कांग्रेसका ती नेताले भने। जनता समाजवादी पार्टीले पनि अहिलेसम्म एमसिसीबारे निर्णय गरेको छैन। सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्णय गरेपछि मात्र आफूले निर्णय गर्ने उसले बताउँदै आएको छ।
‘मतदानमा जसपाले अनुपस्थित हुने वा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गर्यो भने पनि एमसिसीका पक्षमा बहुमत पुग्छ,’ ती नेताले भने। सभामुख अग्नि सापकोटाले एमसिसी संसदमा टेबल गर्छन् वा गर्दैनन् अझै प्रष्ट छैन। कुनै पनि विषय छलफल लागि संसदमा लैजाने निर्णय सभामुखले गर्छन्। नेकपाको सरकार भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गराएको एमसिसीको प्रस्ताव छलफलमा लैजान सापकोटाले अस्वीकार गरेका थिए। सापकोटाअघिका सभामुख कृष्णबहादुर महराले पनि एमसिसी संसदमा टेबल गर्न मानेका थिएनन्।
बिहीबार साँझ हुने सत्तारूढ दलका नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले भोलि सभामुखले एमसिसी संसदमा टेबल गर्नैपर्ने कुरा राख्नेछन्। योभन्दा अघि पनि उनले एमसिसीको पक्ष वा विपक्ष जेमा भोट हाले पनि संसदमा छलफल हुन एमसिसी टेबल हुनुपर्ने मत राख्दै आएका छन्। एमसिसी संसदमा टेबल गर्ने वा नगर्नेबारे सभामुख सापकोटाले आफैं धारणा नबनाउने र प्रचण्डको निर्णयमा त्यो भर पर्ने कांग्रेस नेता बताउँछन्।
एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। उनीहरूबीच आधा घन्टा जति कुराकानी भएको थियो। गत शनिबार बालुवाटारमा भएको देउवा, प्रचण्ड र नेपालबीचको छलफलमा प्रचण्ड र नेपालले संसदमा एमसिसी टेबल गर्ने र आफूहरू अनुपस्थित भएर पास गर्न सहयोग गर्ने सहमति गरेका थिए। शनिबार साँझ विभिन्न मिडियाहरूमा अन्तर्वार्ता दिँदै प्रचण्डले ‘अब संसदमा एमसिसी टेबल हुन्छ या त सबैको समझदारीमा या मतदान भएर एमसिसीको विषय टुंगिन्छ’ भनेका थिए।
बुधबार बिहान भने माओवादी केन्द्र संसदीय दलको बैठकले संसदको अवरोध नखोली र सहमतिबिना एमसिसी टेबल गर्न नहुने निर्णय गरेको थियो। बैठकलगत्तै प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको निर्णय सुनाएका थिए। दुबै नेताको सहमतिमा बुधबारको संसद बैठकमा एमसिसी टेबल गर्न रोकिएको थियो। अर्को बैठक शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको छ।
‘भोलिको बैठकमा एमसिसी टेबल हुनैपर्छ। त्यसको अर्को विकल्प छैन,’ कांग्रेसका ती नेताले भने,‘सभामुखले टेबल गर्न मानेनन् भने हामीले त्यसको पनि विकल्प खोज्नुपर्छ। कांग्रेस एमसिसीमा अघि बढिसक्यो, हामीसँग ब्याक गियर छैन।’आज साँझ हुने गठबन्धनको बैठकमा पनि प्रधानमन्त्री देउवाले यो कुरा स्पष्टसँग राख्ने ती नेताले बताए।
बिहीबार नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न आफू लागिपरेको बताएका छन्।