एमसीसीको विपक्षमा मतदान गर्ने माधव नेपालको चेतावनी
मधेश प्रदेशका जिल्लाहरुको आवासीय भ्रमण सकेर अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । बुधबार साँझदेखि झण्डै पाँच घण्टा चलेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी, सत्ता गठबन्धन र आगामी चुनाव केन्द्रित छलफल गरेको छ ।
सचिवालय बैठकले निकालेको निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट अन्तिम रूप दिने एकीकृत समाजवादीको तयारी छ । ‘हतार, हतपत र उत्ताउलो पारामा जाँदैनौं । स्थायी कमिटी बैठकबाट मुलुक, व्यवस्था र संविधान अनुकुल निर्णय गर्छौं’, उपमहासचिव गंगालाल तुलाधार भन्छन् ।
सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबार र माओवादी केन्द्रले बुधबार एमसीसीबारे निर्णय गरेपछि एकीकृत समाजवादी दबाबमा परेको थियो । ‘हामी गठबन्धन र एमसीसीबारे सचेत छौं । अध्ययन र छलफलबाट उपयुक्त निर्णय पनि लिन्छौं’, तुलाधर भन्छन् ।
विशेषगरी एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेताहरूको दबाब बढेपछि बुधबार निकै लामो बैठक चलेको थियो । बैठकले एमसीसी, गठबन्धन र आगामी चुनावबारे मोटामोटी निष्कर्ष समेत निकालेको एक नेता बताउँछन् । ‘लगभग सबै बिषयमा हामी प्रष्ट भएका छौं । पार्टीको आधिकारिक फोरममा थप छलफल गरेर सार्वजनिक गर्छौं’, ती नेता भन्छन् ।
कांग्रेस र माओवादी केन्द्रको निर्णय हतारमा
एकीकृत समाजवादीले कांग्रेस र माओवादी केन्द्रको निर्णय हतारमा गरिएको निष्कर्ष निकालेको छ । कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसी सम्झौता संसद बैठकमा पेश गर्ने र अनुमोदन गराउने निर्णय गरेको छ भने माओवादी केन्द्रले संसदीय दलकै बैठकबाट विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस र माओवादी केन्द्रको निर्णयले विपक्षी नेकपा एमालेलाई लाभ पुग्ने एकीकृत समाजवादीको निष्कर्ष छ ।
‘गठबन्धन टुटोस् र फेरि सरकारमा फर्कन पाइयोस् भन्ने केपी ओलीको चाहना छ । त्यसलाई बल पुग्ने गरी कदम चाल्न हुन्न भन्नेमा सबै नेताहरू सहमत छौं’, अर्का पदाधिकारी भन्छन् ।
कांग्रेस र माओवादी केन्द्रको निर्णयले गठबन्धनमा समस्या आउने भएकाले सघन छलफलमा जोड दिने बैठकको निष्कर्ष छ । त्यसका निम्ति अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले अग्रसरता लिनुपर्नेमा एकीकृत समाजवादीका नेताहरु सहमत भएका छन् ।
‘गठबन्धन जेसुकै होओस् भन्ने पक्षमा छैनौं । गठबन्धनका कुनै पनि दल रमिता देखाउने गरी जानु हुँदैन’ ती पदाधिकारी भन्छन्, ‘जुन उद्देश्यले गठबन्धन बनेको हो । त्यसमा सचेत रहनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।’
पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको दबाब झेल्न नसक्दा माओवादी केन्द्रले हतारमा एमसीसीबारे निर्णय लिएको एकीकृत समाजवादीको निष्कर्ष छ । ‘संसदीय दलमा लगेर प्रचण्डले निर्णय लिनुभयो । पार्टीभित्र एमसीसी र राष्ट्रिय राजनीतिबारे गहन छलफल गर्नुभएको भए अर्कै परिस्थिति बन्न सक्थ्यो’, ती पदाधिकारी भन्छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भने अमेरिकाको दबाब झेल्न नसक्दा पार्टी निर्णय गराएको एकीकृत समाजवादीको बुझाइ छ । अध्यक्ष नेपालले एमसीसीबारे छलफल गरेर उचित निर्णय लिन अझै समय रहेको ब्रिफिङ गरेका छन् । ‘फागुन १६ गते आउन अझै बाँकी छ । यस्तो समस्याबारे पार्टीभित्र पर्याप्त छलफल गरेर उपयुक्त निर्णय लिनुपर्छ’, नेपालले बैठकमा भनेका थिए ।
केही नेताहरुले भने दोहोरो चरित्र देखाउन उपयुक्त नहुने भएकाले एमसीसीबारे विपक्षमा निर्णय गरेर जानुपर्ने तर्क गरेका थिए । ‘सत्तामा पनि बस्ने र सडक विद्रोहमा उत्रने राम्रो हुन्न भन्ने मत पनि थियो’, उनीहरुको भनाइ थियो ।
एमसीसीकै कारण गठबन्धन भत्कन नदिन एकीकृत समाजवादीले सम्वादको पहल गर्ने भएको छ । ‘कांग्रेसलाई एक्लो बनाएर जानु हुँदैन । कम्तीमा आगामी चुनावसम्म वाम–लोकतान्त्रिक सहकार्य गर्नुपर्छ’, बैठकमा अध्यक्ष नेपालले भनेका छन् ।
त्यसका निम्ति अहिले देखिएको एमसीसीको समस्या हल गर्न विभिन्न विकल्पमा खुला हुनुपर्ने अध्यक्ष नेपालको प्रस्ताव छ । तर गठबन्धन जोगिने वा नजोगिने भन्ने निर्णयक भूमिका प्रधानमन्त्री देउवा र कांग्रेसकै हातमा रहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।