ठुलो र्दुघटनाबाट जोगियो बुद्ध एयर



हाम्रो इकोनोमि

 

 

सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको वुद्ध एयरको विमान प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा ल्याण्ड हुन नसकी काडमाडौंमा आएर अवतरण गर्‍यो । यसक्रममा जहाजले झण्डै १० पटकसम्म आकाशमै फन्को मारेको थियो ।

उडिरहेको विमानभित्र सामान्य समस्या आउँदा पनि त्यसलाई निकै संवेदशनशील मानिन्छ । एक-पटक, दुई पटक होइन पटक-पटक ल्यान्ड गराउने प्रयास असफल भएपछि विमानमा सवार यात्रुहरू अत्तालिनु स्वभाविक थियो । केही यात्रु रुन कराउन थालिसकेका थिए । एयरहोस्टेसहरूले उनीहरुलाई सम्झाउने प्रयास गरे पनि उनीहरु आफैं ‘नर्भस’ थिए ।

काठमाडौंबाट केही मिनेटको यात्रापछि विराटनगर ओर्लनुपर्ने यात्रुहरू दुई घन्टासम्म आकाशमै रहे । त्यो बेला उनीहरूको मनोदशा पक्कै सहज भएन । एक यात्रु भन्छन्, ‘मैले त बाँच्ने आशा नै मारिसकेको थिएँ ।’

काठमाडौंबाट विराटनगर उडेको जहाज कलसाइन ९ एनएएनटीआई विमानभित्र वयस्क ६८, र बच्चा ५ जना गरी ७३ यात्रु सवार थिए । विमान काठमाडौंमा फर्केर सुरक्षित अवतरण गरेपछि बल्ल उनीहरूले सन्तोकको सास फेरे ।

के भएको थियो ?

बुद्ध एयरका अनुसार जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको थियो । टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरेका थिए ।

जहाजमा ल्याण्डिङ गियरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ- प्राइमरी र सेकेन्डरी । प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखिएको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेकै मानिन्छ ।

‘सुरक्षामा शून्य सहनशीलता’ को सिद्धान्तअनुसार क्याप्टेनले जहाज तुरून्तै काठमाडौंमा फर्काउने निर्णय लिए । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिएका थियो ।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी पाइटलले सुरक्षित अवतरण गराएको बुद्ध एयरले जनाएको छ ।

सम्भावित दुर्घटनाको खतरा बुझेर नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोली सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेको थियो । जहाजभित्रका यात्रुहरू त्रिभुवन विमानस्थलमा प्रहरी र एम्बुलेन्स देखेपछि झन् आत्तिएका थिए । बुद्ध एयरले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

यात्रुको बयानः ‘ढोका खोल्दिनुस्, हाम्फाल्छौं’ समेत भन्यौं

बिराटनगरमा ल्यान्ड हुन नसकेपछि हामीले सोध्दा प्लेनमा थोरै समस्या निस्किएको छ भनियो । त्यहाँ क्याप्टेन साहेवले धेरै दुःख गर्नु भयो । ६/७ पटक नै प्रयास गर्नु भयो तर सक्नु भएन । फेरि काठमाडौं ब्याक गर्नु भयो ।

काठमाडौं आउनेबेलासम्म मलाई त केही भएको थिएन, ढुक्क नै थिएँ । अब जहाज अवतरण हुन्छ होला भन्ने भयो । तर, काठमाडौं आएपछि पनि जहाज ८/१० पटक घुमाएको घुमाइ गर्दाखेरी चाहिँ मनमा चिसो लाग्न थाल्यो । बाहिर हेर्दा नेपाली सेनालगायत सुरक्षाकर्मी रेडि पोजिसनमा हुनुहुन्थ्यो । त्यसपछि चाहिँ जिन्दगी यति नै रहेछ जस्तो लाग्यो । यो प्लेनमा दुर्घटना हुन्छ नै भन्ने भयो ।

जहाजभित्र रुवाबासी नै चलेको थियो । हामीले त ढोका खोल्दिनुस्, हामी हामफाल्छौं समेत भन्यौं । तर, एयरहोस्टेज धेरै राम्रो हुनुहुँदो रहेछ । उहाँहरुले नआत्तिनुस्, तपाईंहरूलाई बचाउने सक्दो प्रयास गर्छौं भन्नु भयो । फ्यूल माथि सकेर तल पानी राखेर फर्म ओछ्याएर सेफ ल्याण्डिङ गर्छौं भन्नुभएको थियो । फ्यूल सकेपछि आगो लाग्दैन भनेर हामीलाई भनिरहनु भयो ।

त्यसपछि क्याप्टेनले लास्ट एकपटक ट्राइ गर्छु भन्नु भयो । र, सेफ ल्याण्डिङ भयो । मान्छेहरु १/२ जना बेहोस पनि भए । त्यो अवस्थामा जस्तोसुकै मुटु दरो भएको मान्छे पनि कमजोर बन्छ । एयरहोस्टेसको आँखामा पनि आँशु आएको देख्न सकिन्थ्यो । आजको यात्रामा हामी सफल भयौं ।

मैले त घरमा म्यासेज गरिसकेको थिएँ, यति नै रहेछ भनेर । बाँचे भने भेटौला, मर्‍यो भने यति नै भनेर ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...