क्वारेन्टाइनमा बस्न कोही पर्यटक नेपाल आउँदैनन् : चन्द्र रिजाल, उपाध्यक्ष नेपाल पर्यटन बोर्ड



 

 

अहिले नेपालको समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?

एकदम अकल्पनीय र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । अहिले नेपालमा पर्यटक भरिभराउ हुने मौसम हो, तर आएका छैनन् । दिनमा एक–दुईजना पर्यटकको अनुहार कता–कता देखिन्छ, त्यति हो । सरकारले नबुझेको हो कि, बेवास्ता गरेको हो, कुनै ठोक कार्यक्रम ल्याउन सकेको छैन ।

कोभिडले नेपाललाई गाँजेकै हो तर, भ्याक्सिन लगाएका मानिस त आउन पाउनु पर्ने हो नि ? अहिले नेपालमा पर्यटक आउन नसक्नुको मुख्य कारण नै सरकारले बनाएको क्वारेन्टाइन हो ।

दुईवटा भ्याक्सिन लगाएको र २४ घण्टाको पीसीआर रिपोर्ट लिएर आएका पर्यटक क्वारेन्टाइनमा १० दिन विताएपछि मात्र घुम्न पाउने व्यवस्था छ । क्वारेन्टाइनमा बस्न नमान्ने पर्यटकलाई एयरपोर्टबाटै फिर्ता पठाइएको छ । १०–१२ दिनका लागि घुम्न आउने पर्यटकले १० दिन क्वारेन्टाइन बस्नुपर्ने भएपछि कोही नेपाल घुम्नलाई आउँला ?

विश्वका कतिपय देशमा जस्तो नेपालमा कोभिड फैलिएको पनि होइन । अब त धेरैले भ्याक्सिन पनि लगाएका छन् । सरकारले सोच्नु पर्ने हो । तर सरकार अझै यो विषयमा उदासिन छ ।

अहिले नेपालमा पर्यटक आउने स्थिति छ । नेपालमा पर्यटक आउन पनि चाहन्छन् तर नेपालले अन्तर्राष्ट्रिय समुदायलाई लबिङ गर्न सकेको छैन । नेपालको पर्यटन क्षेत्रको अत्यन्त दयनीय अवस्थामा हुँदा पनि सरकार मुकदर्शक मात्र बनेको छ ।

२० प्रतिशत व्यवसायी त कहिल्यै पनि यो व्यवसायमा नआउने गरी पलायन भइसकेका छन् । बैंकको ऋण तिर्न नसकेर धमाधम भएका भौतिक पूर्वाधार बेच्नु परेको अवस्था छ । घरबेटीलाई भाडा बुझाउन सकेका छैनन । धेरै मजदुरको रोजीरोटी पनि खोसिएको छ ।

सरकारले गर्नुपर्ने के काम गरेन त ?

सरकारले अहिलेसम्म कोही पनि पर्यटन विज्ञसँग छलफल नै गरेको छैन, अब के गर्ने भनेर । पर्यटन बोर्डको सुझावलाई पनि सरकारले लत्याउने गरेको छ । देशमा पर्यटक भित्र्याउनका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र विज्ञकै कुरालाई मान्नुपर्ने हुन्छ । तर, त्यसो हुन सकेको छैन ।

साथै नेपालको पर्यटक क्षेत्रलाई निजी क्षेत्रले नै ‘होल्ड’ गरेको छ । पर्यटन बोर्ड निजी क्षेत्र र सरकारको स्वामित्वमा बनेकाले बोर्डको सुझाव सरकारले मान्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन ।

अन्य मुलुकमा दुई डोज भ्याक्सिन लगाएका मानिस खुलेआम घुम्न थालिसके । हाम्रोमा अझै क्वारेन्टाइन मापदण्डमा राखिरहेका छौं । यो विषय विज्ञको कुरा नमान्दाको प्रतिफल हो ।

हाम्रो कर्मचारी संयन्त्र, राजनीति दल, राज्य संयन्त्रमा बसेका व्याक्तिहरुको अनविज्ञताका कारण समयमा निर्णय नगर्ने परिपाटीले पर्यटन व्यवसाय झन्–झन् धराशायी बनेको छ ।

विश्वका धेरै देशले भ्याक्सिन लगाएका पर्यटकलाई खुला गरेका अवस्था छ । तर, हाम्रोमा अझै निर्णय भएको छैन ।

आन्तरिक पर्यटनको स्थिति चाहिँ कस्तो छ ?

विगतका वर्षहरुमा आन्तरिक पर्यटकलाई पर्यटन व्यवासयीले नपत्याएको साँचो हो । तर, कोभिड–१९ पछि गत वर्ष आन्तरिक पर्यटकले केही महिना नेपालको पर्यटन व्यवसायलाई चलायमान बनाए । यसले के देखाउँछ भने अब आन्तरिक पर्यटकले पनि नेपाललाई धान्न सक्ने रहेछ ।

अहिले सरकारले तोकेको मापदण्ड पूरा गरेर नेपाली जनता घुम्न निस्कनु हो भने नेपालको पर्यटन व्यवसाय चलायमान हुन्छ । तर, यस विषयमा सरकार अहिले पनि पुरानै पारामा काम गरिरहेको छ ।

जस्तो चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई भत्ता दिएर १० दिन देश घुम्न पठाउने उल्लेख गरेको छ । तर, अहिलेसम्म सरकारले त्यसको कार्यन्वयन गरेको छैन ।

कस्ता खालका व्यवसायी बढी असर परेको छ ?

खासगरी साना व्यवसायी र त्यहाँ कामगर्ने मजदुर पलायन नै भएका छन् । भर्खर व्यवसायमा हात हालेकाहरु मारमा परेका छन् । जसले करडौं रुपैयाँ ऋण लिएर काम गरेका थिए उनीहरु पलायन भएका छन् । ठूला व्यवसायीलाई पनि यो व्यवसायमा रहन धौ–धौ परेको छ ।

अब पर्यटन व्यवसायको पुनरुत्थानका लागि कस्ता कार्यक्रम ल्याउनु पर्छ ?

सबैभन्दा पहिले क्वारेन्टाइन खोल्नुपर्यो । नेपाल घुम्न जाँदा क्वारिन्टाइन बस्नु पर्दैन भन्ने भए अहिले पनि पर्यटक आउन तयार छन् । साथै, पर्यटक आउना साथ एक महिनाको फ्री भिषा दिने कुरा कार्यान्वयन गरिनु पर्छ । अत्यन्त मारमा परेका व्यवसायीलाई राहत प्याकेज ल्याउनु पर्छ । उनीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनु पर्छ । यदि सरकारले अहिले पर्यटन व्यवसायीको इनिसिएसन नलिने हो भने यसको असर पछिसम्म रहनेछ ।

पर्यटन बोर्डले चाहिँ के गरिरहेको छ त ?

लामो समयदेखि पर्यटन बोर्डले जति काम गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको थिएन । व्यवस्थापकीय पक्ष, राजनीतिक अस्थिरता र बोर्डमा हुने भ्रष्टाचारका कारण राम्रोसँग काम भएको थिएन । अहिले हामी व्यवसायी नै बोर्डमा आएपछि केही सुधार भएको छ । यद्यपि, अझै धेरै गर्न बाँकी नै छ ।

अब कहिले पर्यटन क्षेत्र पहिलानै स्थितिमा आइपुग्ला ?

सरकारले पर्यटक आगमनमा सहज गराउने हो भने चाँडै नै पर्यटन क्षेत्र रिभाइव हुन्छ । सरकारले विश्वासिलो वातावरण बनाउने हो भने तुरुन्त नेपालमा पर्यटक आउन थाल्छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो : अर्थमन्त्री पुन

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

    निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र

एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी

    नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन्

गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्दो

     केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले