दोस्रो अध्यक्ष र भागवण्डामा माधव नेपाल मिल्ने संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता गराउने विघटित कार्यदलका नेताहरुको प्रयास जारी रहे पनि दुई नेताको भेट तय हुन सकेको छैन । विहीवार अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालसँग कुरा गर्न र सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । सोही बमोजिम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए ।

उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुवै नेताबीच संवादको पहल गरिरहेका छन् । यसपटक माधव नेपाल ‘प्याकेज सहमति’को ठोस प्रस्तावबिना वार्तामा बस्न अनिच्छुक रहेको नेपाल निकट स्रोतले जनाएको छ । दुई नेताबीच विहीवारै वार्ता प्रयास भएको थियो । तर नेपालको सचिवालयले वार्ताको समय तय नभएको भन्दै सहमतिको प्रस्ताव बिना वार्तामा बस्न नचाहेको सन्देश दियो ।

एमाले केन्द्रीय कमिटीको विहीवार सम्पन्न बैठकले पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ओलीले एकताको लागि आफू लचिलो बन्न र सबैलाई आम माफी दिन तयार रहेको बताएका छन् । पछिल्लो समय आफ्नो हात माथि परेको महशुस गरेका नेपालले ओलीसँग एकताका लागि केही शर्त अघि सारेका छन् । साना मसिना कुरादेखि पावर शेयरिङसम्मको प्याकेजमै सहमति भएमात्र ओलीसँग संवाद हुने नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘१० बुँदे सहमति अपूर्ण छ,त्यसलाई संशोधन गरेर विस्तृत प्याकेज सहमति हुनुपर्छ । यो भनेको तलदेखि माथिसम्म नेता कार्यकर्ताको सुरक्षा र पार्टी एक बनाउने कुरा हो ।’

ओलीले पार्टी जोगिन्छ भने आफू माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । नेपाल पक्षले भने छलफलमा आएको कुरालाई ओलीले बाहिर ल्याएर एकताको वातावरण बिगार्ने र माधव नेपाललाई पदलोलुप सिद्ध गर्न खोजेको टिप्पणी गरेको छ । त्यसो त अहिले ओली र माधव नेपालबीच नमिलेको भनेको शक्ति बाँडफाँड (पावर शेयरिङ) नै हो । विधान संशोधन गरेर अर्को अध्यक्ष पद सिर्जना गर्न सकिने कुरा एमालेमा चलिरहेको छ । कार्यदलमा भने यो विषयमा नेताहरुले छलफल गर्न चाहेनन् र दुई नेतालाई जिम्मा दिए ।

आफूसँगको कुराकानीमा नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बताएका छन् । तर नेपाल पक्षका नेताहरु भने दोस्रो अध्यक्ष भन्नु पनि माधव नेपालको अपमान हुने भन्दै दुई अध्यक्ष भन्न सकिने बताउछन् । नेपाल निकट ती स्थायी कमिटी सदस्यले भने–पावर शेयरिङको विषय बाहिर हल्ला गर्ने भन्दा पनि दुई नेताबीच समझदारी हुनुपर्छ । अर्को अध्यक्ष भने पनि भयो,हरेक निर्णयमा माधव नेपालको समेत हस्ताक्षरमात्र कानूनी रुपमा आधिकारिक हुने सम्झौता भए पनि हुन्छ । मुख्य कुरा ओलीको एकलौटी रोक्न पावर शेयरिङ चाहिएको हो ।

माधव नेपालले प्याकेज सहमतिमा पावर शेयरिङभित्र अर्को अध्यक्षका साथै फागुन २८ यताका सबै निर्णय खारेज, केन्द्रीय कमिटीमा आफ्नो पनि बराबरी हिस्सा मनोनयन, स्थायी कमिटीमा बराबर संख्या खोजेका छन् । तल्ला कमिटीदेखि माथिल्लो तहसम्म एकैपटक प्याकेज सहमति नगरे फरि धोखा हुन सक्ने भन्दै लिखित प्रस्तावमाथि छलफल हुने गरी ओलीसँग संवादमा बस्ने नेपालको अडान छ ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...