देउवालाई मत दिएका ओली पक्षीय सांसद के भन्छन् ?



हाम्रो इकोनोमि

 

 

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मत दिने क्रममा अनेकन विचित्रका घटनाहरू देखिए । पार्टीले कुनै किसिमको ह्वीप जारी गर्न नसक्ने भएपछि सांसदहरूले मनलाग्दी गर्न भ्याए । सांसदहरूले आफ्नो धरातल समेत बिर्सिएर आफ्नो अधिकार प्रयोग गर्दै शेरबहादुर देउवालाई विश्वासको मतबाट विजयी गराए ।

खासगरी नेकपा एमालेभित्रको विवादको फाइदा उठाउँदै प्रधानमन्त्रीले आइतबार हतार–हतार विश्वासको मत लिने निर्णय गरे । तर, बेलुकी बैठक शुरू हुनै लाग्दा देउवालाई एमालेको १ मत पनि नचाहिने अवस्था बन्यो । तर, एमालेका केही सांसदहरूले भने देउवाकै पक्षमा मतदान गरेर आफूलाई ‘बहादुरी’ सावित गराए । आइतबार प्रतिनिधिसभामा देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपालपक्षीय ११ जना सांसद उक्त मतदानमा अनुपस्थित भए । मत दिएकामध्ये ओलीको पक्षधर मानिएका र ओली मन्त्रिपरिषद्‌मा सदस्य रहेका समेत छन् ।

अन्तिम समयसम्म ओलीको पक्षमा रहेका तर आइतबार देउवालाई विश्वासको मत दिएका एक सांसदले ‘आफूले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न’ देउवालाई मत दिएको दाबी गरेका छन् । ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गरेको हो मैले । सर्वोच्च अदालतले विश्वासको मत दिने बेलासम्म कुनै ह्विप लाग्दैन भनेको छ,’ ती सांसदले भने । आफूलाई जनताले पाँच वर्षका लागि चुनेर पठाएको र पाँचै वर्ष संसद टिकाउनका लागि आफूले योगदान गरेको ती सांसदको भनाइ छ ।

पटक–पटक संसद् विघटन भइरहेको अवस्थालाई दृष्टिगत गर्दै आइतबार पनि आफूले विश्वासको मत नदिँदा संसद् पुनः विघटन हुने चिन्ताका साथ शेरबहादुर देउवालाई मत दिएको ती सांसदले बताए । विश्वासको मत हालेकै आधारमा पार्टीले आफूलाई कारबाही गर्न नसक्ने दाबी समेत उनको छ । तर, आजै बसेको नेकपा एमालेको १०औं केन्द्रीय समितिको बैठकले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरिसकेको छ । यद्यपि, विश्वासको मत दिने सांसदलाई कारबाही नगर्नू भन्ने सर्वोच्च अदालतको फैसलाबमोजिम फ्लोर क्रस गर्ने सांसद वा पार्टी सदस्यलाई कारबाही गर्ने निर्णयले खासै अर्थ नराख्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...