सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक
नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बंैकिङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताए । विगतको तथ्याङ्कलाई हेर्दा आर्थिक वृद्धिदरमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा एक तहले मात्र अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले पछिल्लो समयमा सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र बैंकले नीति बनाएर कार्यान्वय गर्ने जानकारी दिए ।
प्रदेश कार्यकारी निर्देशक घिमिरेले आम्दानीबाट बचत गर्ने र सोहीबाट बचेको रकमलाई खर्च गरेमा बचत वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । वित्तीय बैंकको पहुँचका कारण सुदूरपश्चिम प्रदेशमा आर्थिक वृद्धिदरसमेत बढ्दै गएको निर्देशक घिमिरेले जानकारी दिए । आर्थिक वृद्धिका लागि बैंक ग्रामीण भेगमा पुग्नु र बैंकमा खाता खोल्नु अत्यावश्यक भएको घिमिरेको भनाइ छ । उनले गाउँपालिकामा वित्तीय बैंक सञ्चालन भएपछि गाउँका नागरिकले बैंक बचतका सिकाउनु नपर्ने हुँदा खुशी व्यक्त गरे । गाउँपालिकाको आयोजनामा गरिएको ‘एक घर, एक बैंक खाता’ सञ्चालन नमूना घोषणा कार्यक्रममा निर्देशक घिमिरेले देशमा राजनीतिक दललेसमेत आर्थिक मुुद्दालाई विशेष प्राथमिकता राख्दै आएको उल्लेख गर्दै भौगोलिक विकट भए पनि आर्थिकरूपमा अघि बढाउन गाउँपालिकामा भएका जैविक विविधताका सम्भावनालाई प्रयोग गरी आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए ।