सडकका डिजी, असुल्नमै ‘बिजी



हाम्रो इकोनोमि

 

‘जतिन्जेल जिम्मेवारीमा बस्ने हो, सो अवधिमा इमानदारी र निष्ठासाथ बस्छु’ भनेर आदर्शवादी कुरा गर्दै हिँड्ने गरेका सडक विभाग महानिर्देशक केशवकुमार शर्मा बिडारीले कमाउने धन्दा सुरु गरेका छन् ।

शर्माले विभागअन्तर्गतका परियोजना र विभिन्न ठेकेदारहरूसँग रकम संकलनमा जोड दिएको बताइएको छ । महानिर्देशक भए वापत आउने नियमित र वैधानिक मानिएको कमिसनका अतिरिक्त परियोजना प्रमुख र ठेकेदारहरूसँग मोलमोलाइ गर्ने गरेको एक ठेकेदारले बताए । ‘निष्ठा गुमाउनुभन्दा पद नै गुमाउनु राम्रो’ भन्दै आदर्श वाक्य जप्ने उनले उक्त पवित्र भावनाविपरीत काम गर्दा अहिले विभागभरि शर्माको बदनामी भएको बताइन्छ ।

आत्मप्रशंसामा अत्यन्त रमाउने उनी महानिर्देशक भएको केही महिनामै सम्मानपत्र लिन दौडेपछि काम गर्नुभन्दा पनि हल्लाखल्लामै रुचाउने प्रवृत्ति रहेछ भनेर उनको त्यतिबेलै चर्चा चलेको थियो । यसअघि विभागकै वैदेशिक समन्वय महाशाखामा रहेर काम गरेका उनी रवीन्द्र श्रेष्ठ सडक विभागको महानिर्देशक हुँदा उनीविरुद्ध मिडियामा समाचार लेखाउन लाग्ने गरेको पत्ता लागेपछि श्रेष्ठले शंकाको घेरामा राखेका थिए । महानिर्देशक शर्माले सडक सञ्जालको विकास, विस्तार र सम्भार सम्बन्धमा नेपाल सरकारको लक्ष्य एवं जनताको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक लाग्ने भन्दै हिँडे पनि सरकारको स्पिरिटअनुसार काम गर्न नसकेको बरु विभागमा संस्थागत घुसखोरीलाई प्रश्रय दिएको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ राम्रो कार्यसम्पादन भएका मन्त्रीमा पर्छन् । मन्त्री बनेयता उनले मन्त्रालयको कामलाई गति दिइरहेका छन् । तर, उनीमातहतको सडक विभागका महानिर्देशक बिडारी भने प्रधानमन्त्री केपी ओली र मन्त्री नेम्वाङको स्पिरिट र चाहनाविपरीत काम गर्न लागेको देखिएको छ ।

प्रधानमन्त्रीले शिलान्यास गरेका सडक र पुलहरूसमेत अलपत्र पारेर कमिसन आउने योजना–आयोजना मात्र अघि बढाउन तत्परता देखाउने गरेको बताइन्छ । तत्कालीन भौतिक मन्त्री रघुवीर महासेठलाई खुसी पारेर विभागको प्रमुख बन्न सफल उनी केही विवादमा परेका छन् । महानिर्देशक शर्माले मैलुङ–स्याफ्रुबेंसी सडकको ठेक्का निकाल्दा ठेकेदारसँग साँठगाँठ गरी मापदण्ड नै परिवर्तन गरी ठेक्का सूचना निकालेका थिए । २०७६ असोजमा निकालिएको ठेक्कामा उनले गरेको बदमासीको परिणाम अहिले देख्न थालिएको छ । लेनदेनमा कुरा नमिलेपछि ज्यादै कमजोर ठेकेदारले धेरै घटेर ठेक्का हालेकाले अहिले काम नै हुन नसक्ने अवस्था सिर्जना भएको बताइन्छ ।

यस्तै महेन्द्र राजमार्गको चिसापानी पश्चिम, पथलैया पूर्व र नारायणघाट–बुटवल खण्ड निकै कमजोर बनेका छन् । जताततै खाल्डाखुल्डी पर्नमा पनि डीजी शर्माको अक्षमता र लापरबाही भएको बताइन्छ । यता काठमाडौं उपत्यकाका सडक विस्तार पनि डिजी शर्माकै कारण अलपत्र परेको छ । चाबहिल–साँखु, भक्तपुर–नगरकोट, सातदोबाटो–गोदावरी, जोरपाटी–सुन्दरीजल, बालाजु–ककनी सडक अवस्था सातआठ वर्षदेखि अलपत्र छ । महानिर्देशक शर्मामाथि टेकु पुल र तीनकुने पुल अलपत्र पार्ने ठेकेदारलाई संरक्षण र बाँकी काम गर्नेतर्फ कुनै कारबाही अगाडि नबढाएको आरोप पनि लागेको छ । ठूला ठेकेदारको प्रलोभनमा उनले पुल निर्माण प्रभावित बने पनि चासो नदिएको देखिन्छ । फेसबुकमा विभिन्न जिल्ला र आयोजनाहरू घुमेको फोटो हालेर प्रचारमा रमाउने गरेका छन् ।

पछिल्ला दिनमा उनले मन्त्रीको निर्देशनसमेत अटेर गर्न थालेपछि मन्त्री नेम्वाङ पनि उनीसँग चिढिएको बताइन्छ । ठूला ठेकेदारसँगकोे अस्वाभाविक सम्बन्धका कारण महानिर्देशक शर्माले नेपालगन्ज कोहलपुर सडकमा पप्पु निर्माणलाई तीन करोड एलडी कट्टा गरेर उल्टै झन्डै ९ करोड क्षतिपूर्ति दिलाउन सहयोग गरेको आरोप लागेको छ । यसबापत उनले ठेकेदारबाट मोटो रकम कमिशन बुझेको चर्चा छ । उनले कार्यालयको सवारीसाधन निजी काममा दुरुपयोग गर्ने र सरकारी लोगो दुरुपयोग गरेर विभिन्न निजी इस्टिच्युटमा पढाउनसमेत हिँड्ने गरेको पाइन्छ । कर्मचारी सरुवामा कसैलाई थाहा नदिनु भन्दै भित्रभित्रै पैसा उठाउने गरेको आरोप पनि उनीमाथि छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...