ओली र दाहालबीच भेटवार्तापछि मन्त्रिपरिषद् बैठक बालुवाटारमा
मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएसंगै बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको थियो।
उनीहरूबीच पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल भएको थियो । ६ असोजमा बसेको नेकपा सचिवालय बैठकले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्न, संवैधानिक निकायमा रिक्त पदपुर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो। यसैबिच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद फेरवदल गर्न लागेका छन् । केही मन्त्रालय टुक्राएर, केही मन्त्रीलाई विदा दिएर नयाँ मन्त्रीपरिषद पुर्नगठन गर्न लागेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली निकट स्रोतकाअनुसार चार मन्त्रालय विभाजन गर्न लागिएको छ । आजको मन्त्रीपरिषद बैठकबाट चार मन्त्रालय टुक्राउने प्रस्ताव गरिदैछ ।
भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिचाई, उद्योग वाणिज्य तथा आपुर्ति, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय टुक्राउने तयारी गरिएको छ । १२ बजे बस्ने मन्त्रीपरिषदको बैठकले थप ४ नयाँ मन्त्रालय निर्माण गर्ने भएको छ ।
सामान्यतयाः मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओली आज आकस्मिक बैठक आह्वान गरेका हुन्।


