माओवादीहरु एकजुट, पूर्वएमालेचाहिँ चार चिरा, यस्तो छ भित्रि कारण
सत्तारुढ नेकपाका नेताबीच नदेखिँदो ‘सलह’ को खुब चर्चा छ ।
आन्तरिक असहमति हल गर्न अनौपचारिक विधि अपनाउने उद्देश्यसहित सारिँदै आएको स्थायी कमिटी बैठककै बीचमा त्यस्तो ‘सलह’ दुबैतिर सल्बलाएको शीर्ष नेताहरु बताउँछन् । र, यस्तै कारण पार्टीभित्र अविश्वासको स्थिति पनि सिर्जना हुँदैछ ।
यसबीच बाहिरबाट देखिँदा केही कुरा विकास भएका छन् । जस्तो– दुई अध्यक्षबीच एक्लाएक्लै कुरा हुने, भित्र भएका सबै सल्लाह बाहिर नल्याइने, चितवन पुगेर प्रचण्डले नरम भाषामा विवाद हल हुने बताउने र यता बाढी, पहिरोका नाममा देशवासीलाई संबोधन गर्दा पार्टीको झगडाबारे प्रधानमन्त्री इतिहासकै सबभन्दा नरम शैलीमा पेश हुुने † यसैमा शुरु भएको छ केही नेताको खेलो । यो तानातानको बीचमा पूर्वमाओवादी केन्द्रका नेता हरिबोल गजुरेल (शीतलकुमार) ले दुई अध्यक्षबीच कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीमा लेनदेनको सहमति हुने विज्ञप्ति नै जारी गरिदिएका छन् ।
अर्थात्, अन्तिममा प्रचण्डले एकल अध्यक्षमा कुरा मिलाएर केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने वा आफू प्रधानमन्त्री भएर केपीलाई अध्यक्ष छाड्ने सहमति हुँदैछ भन्ने हल्ला व्यापक छ । यस्तो भयो भने प्रचण्ड, माधव, झलनाथ, वामदेवबीच फाटो आउने निश्चित हुन्छ, प्रचण्डबाहेकका नेतालाई धोका हुन्छ । माधवहरु फेरि पनि हिस्स परेपछि त्यसले केपीलाई ताली बजाउन राम्रो मौका मिल्छ । एउटै आन्दोलनका सहयात्री भएर पनि ओली–नेपालबीच महिनौंदेखि फोन सम्पर्कसमेत छैन ।
यो बजारिया अनुमानमात्रै नभएर यही अनुमानमा टेक्दै सन्तुलित छविका पार्टी महासचिव विष्णु पौडेल घरी प्रचण्डसँग, घरी माधव नेपालसँग साउती मार्न व्यस्त देखिनुहुन्छ । उहाँलाई नै ती नेताहरु ‘नदेखिँदो सलह’ का नामले चित्रित् गर्दैछन् ।
केपी र प्रचण्ड दुबैको समानता भनेको जोखिम मोल्न तयार हुने हो † ‘एकको ढाडमा टेकेर अर्कोको टाउकोमा हान्ने’ नीति फरक सन्दर्भ, फरक शैली र घटनाक्रममा अबलम्बन हुँदै आएको पनि हो । त्यस्तो खतरा देखाउँदै विष्णु पौडेल माधवसँग भन्दै हुनुहुन्छ, ‘भोलि प्रचण्ड र केपी मिलेर पजल हुनुभन्दा अहिल्यै केपी र तपाईं मिल्नु राम्रो हुन्छ । यो कुराको मध्यस्थता गर्न म तयार छु ।’ विष्णुले तीन घण्टाको भेटमा भन्नुभएको छ, ‘तपाईंले हिजो पनि १५ वर्ष पार्टी चलाएकै हो । आज माओवादीहरु प्रचण्डका कुरामा एकजुट भएर मिल्ने, हामी पूर्वएमालेचाहिँ चार चिरा–किरामिरा जस्तो भएर किन नष्ट हुने ? त्यसो गर्नुभन्दा जबजको रक्षा र विकासकै लागि भए पनि केपी र तपाईं मिल्नु राम्रो हुन्छ ।’
अनि, उनै विष्णुमाथि प्रचण्डकहाँ पुगेर ‘तपाईं किन भविष्य बिगार्नुहुन्छ, अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा छान्नुस्, कुरा सकिइहाल्छ’ भन्दै साउती मार्ने गरेको आरोप छ । र, फेरि मर्निङवाकबाटै वामदेवलाई तानेर ‘तपाईं किन प्रचण्ड–माधवहरुका लागि अध्यक्ष, प्रधानमन्त्री भन्दै कराउनुहुन्छ । अध्यक्ष त तपाईं नै हुने हो नि † केपीले त्यत्तिकै तपाईंलाई उपाध्यक्ष बनाएका हुन् र, अध्यक्ष बनाउनै त हो नि † तपाईं अध्यक्ष भएको पार्टी चुनावमा जान्छ । बहुमत आउँछ र तपाईं नै प्रधानमन्त्री बन्नुहुन्छ †’ भन्ने गरेको समेत सूर्य थापाको रिपोर्टिङ छ ।
वास्तविकता कस्तो छ भने, एक महिनायता प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेवबीच एक–एक छिनमा फोन, भाइबर र ह्वाट्सयापबाट कुराकानी हुन्छ । बालुवाटारबाट यी नेताको फोन ट्यापिङ हुन थालेको सूचना पाएपछि मोबाइलको सिमबाट हत्तपत्त कुरा हुँदैन, धेरै भयो भने सांकेतिक शैलीमा एसएमएस आदानप्रदानसम्म हुन्छ । अनि, ती कुराकानीमा विष्णुले माधवलाई के भन्नुभयो, प्रचण्डसँग कस्तो कुरा भयो, वामदेवलाई कसरी फकाउन खोजियो भन्ने सूचना साटासाट गरिन्छ ।
उता, चितवनबाट काठमाडौं फर्किएपछि प्रचण्डले सोमबार साँझ प्रधानमन्त्रीसँग फोनमा कुरा गर्न खोज्नुभयो । तर, फोन उठ्यो पिए राजेश बज्राचार्यबाट । हिजो मंगलबार दुई अध्यक्षबीच निश्कर्षविहीन संवाद भयो । अब साउनको २ गते, अर्थात् पर्सि शुक्रबार नसार्ने गरी स्थायी कमिटी बैठक बसाउनुपर्छ, त्यहीँबाट कुराको छिनोफानो लाग्नुपर्छ भन्नेमा प्रचण्ड–माधवको जोड रहेको बताइन्छ ।


