केपी ओली किन पुगे एमाले पुनर्गठनको निष्कर्षमा ?



हाम्रो इकोनोमि

 

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सत्ता–सङ्घर्ष शुरु भएपछि नेपालको कम्युनिष्ट आन्दोलन सङ्कटपूर्ण अवस्थामा पुगेको छ भने नेपालमा संसदीय प्रजातन्त्र ‘अफाप हुने’ सङ्केत देखिन थालेको छ ।

वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएयताका सत्तरी वर्षभित्र सात वटा संसदीय (दुई वटा संविधानसभासहित) निर्वाचन भएकोमा चार निर्वाचनमा एउटा दललाई स्पष्ट बहुमत प्राप्त भएको थियो । वि.सं. २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो भने २०७४ सालमा सम्पन्न संसदीय चुनावमा नेकपालाई झण्डै दुई तिहाइ स्थान हासिल हुन पुगेको थियो । २०४८ र २०५६ सालमा भएका निर्वाचनमा नेपाली काङ्ग्रेसले स्पष्ट बहुमतको सरकार गठन गर्ने मौका पाएको थियो । यसरी दुई तिहाइ या स्पष्ट बहुमत प्राप्त कुनै पनि सरकारले निर्धारित पाँच वर्षको कार्यकाल पूरा गर्न नसकेको हाम्रो इतिहास छ ।

२०१५ को आम निर्वाचनपश्चात् प्रधानमन्त्री बनेका बीपी कोइरालाको सरकार करिव डेढ वर्षमै सत्ताच्यूत भएको थियो । २०४८ सालमा बहुमत प्राप्त गर्न सफल भएर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकार साढे तीन वर्ष चलेर विस्थापित भएको र २०५६ को संदीय निर्वाचनमा बहुमत पाएर कृष्णप्रसाद भटराईको नेतृत्वमा गठन भएको सरकारलाई दश महिनामै हटाइएको थियो । कृष्णप्रसाद भट्टराईलाई हटाएर गिरिजा हुँदै, शेरबहादुर देउवासम्म प्रधानमन्त्री बन्न पुगेपछि २०५९ सालमा देउवाले संसद विघटन गराएका थिए र, त्यसको पाँच महिनापछि देउवाले पनि सरकारबाट अपमानजनक किसिमबाट हट्नु परेको थियो ।

२०७४ मंसिरमा सम्पन्न निर्वाचन तत्कालीन नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा लडेको र १२१ स्थानमा विजय हासिल गरेको थियो । पूर्ण बहुमत प्राप्त गर्न १३८ स्थान आवश्यक पर्ने भए पनि कुल १६५ स्थानका निम्ति भएको निर्वाचनमा १२१ सदस्य हात पार्नु भनेको दुई तिहाइभन्दा बढी मत हासिल गर्नु हो । निर्वाचनमा एमालेसँग गठबन्धन गरेकोले माओवादी पनि ३७ स्थानमा बाजी मार्न सफल भएको थियो र, देउवा नेतृत्वको काङ्ग्रेस पार्टीले पनि २३ सिट जितेर ‘ऐतिहासिक रेकर्ड’ कायम गरेको हो । त्यसबेला एमाले एक्लैले १३८ स्थान प्राप्त गर्न सकेको भए केपी शर्मा ओली माओवादीसँग पार्टी एकीकरण गर्ने बाध्यात्मक स्थितिमा सम्भवतः पुग्ने थिएनन् । प्रचण्डलाई बाहिर राखेर बन्ने सरकार अस्थिर हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी केपीले प्रचण्डलाई पार्टी अनुशासनमा बाँध्न आवश्यक देखेका हुन् ।

ठूलो पार्टीको अधिपति हुन निरन्तर प्रयासरत प्रचण्डले पनि केपी ओलीको कमजोर स्वास्थ्यस्थितिका कारण निकट भविष्यमै देशको शक्तिशाली कम्युनिष्ट पार्टी र सरकारकोे सम्पूर्ण मालिक बन्न पाइने ठानेर मात्र एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय लिएका हुन् । त्यसबेला काङ्ग्र्रेस पार्टी र कतिपय बाह्य शक्तिले प्रचण्डलाई प्रधानमन्त्री बन्न निकै कर गरेका थिए । काङ्ग्र्रेसको तर्फबाट कृष्णाप्रसाद सिटौला, डा. अमरेश कुमार सिंह र डा. शेखर कोइरालाले ‘पाँच वर्ष पूरै प्रधानमन्त्री रहने’ प्रतिवद्धतापत्र काङ्ग्रेस केन्द्रीय समितिको निर्णय गराएरै दिइने वचन दिएका थिए र, यस्तो प्रस्तावले प्रचण्डलाई केही साता दुविधाग्रस्त तुल्याएको पनि हो । तर, केपीको कमजोर स्वास्थ्य र भारतबाहेकका बाह्य शक्तिको दबाब प्रचण्ड पार्टी एकीकरणमा जाने निर्णायक कारण बन्यो ।

उल्लिखित तथ्यहरूले एमाले–माओवादी एकीकरण स्वस्थ नियत र स्वस्थ मनले भएको देखाउँदैन । काङ्ग्रेस–माओवादी गठबन्धन बन्न सक्ने भयले केपीलाई माओवादीसँग चुनावी तालमेल बनाउन र पार्टी एकीकरण गर्न बाध्य तुल्याएको थियो । जब केपीको स्वास्थ्य स्थिति सामान्य हुँदै गयो र उनको दोस्रो मृगौला प्रत्यारोपणसमेत सफल भयो, त्यसपछि प्रचण्डको धैर्य गुम्यो, अनि प्रचण्डले केपीलाई सरकारबाट पन्छाएर आफैं प्रधानमन्त्री बन्ने योजना बनाएका हुन् ।

गत वर्षको असारदेखि नै केपीलाई पदमुक्त गर्ने योजनामा प्रचण्ड रहेका भए पनि ‘दोस्रो मृगौला प्रत्यारोपण’पछि यो प्रयासलाई उच्च गति दिइएको थियो । आफैं प्रधानमन्त्री बन्ने इच्छा राख्दा माधवकुमार नेपालको साथ नरहने भएकाले नेपाललाई प्रधानमन्त्री बनाइदिने विश्वास प्रचण्डद्वारा दिलाइएको छ । आफू पार्टीको एकल अध्यक्ष बन्ने, माधव नेपाललाई प्रधानमन्त्री बनाउने र विद्या भण्डारीलाई पदमुक्त गरेर झलनाथ खनाललाई राष्ट्रपति बनाइदिने आपसी बाचाबन्धन भएपछि केपीविरुद्धको अभियानले गति लिएको हो । गत चैत महिनाभन्दा पहिले नै ओलीलाई हटाउने निर्णायक तयारीमा प्रचण्ड थिए । अचानक देखापरेको कोरोना सङ्कटले प्रचण्डहरूलाई बिथोलेको हो ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डको चाल थाहा थियो । त्यसैले माधव नेपाललाई विश्वासमा लिने र राजपालाई सरकारमा सामेल गराएर माओवादी बाहिरिएको अवस्थामा पनि सरकारलाई सुरक्षित गर्ने योजना केपीले बनाएका थिए । बालुवाटार जग्गा प्रकरणबाट भड्किएका माधवकुमार नेपाललाई विश्वासमा लिन केपी सफल भएनन् र, चैत (२०७६) मसान्तभित्र राजपालाई सत्ता साझेदार बनाउन गरिएको प्रयास पनि सफल हुन सकेन । उपेन्द्र यादव नेतृत्वको मधेशकेन्द्रित दल विभाजन भएर आउने एघार सांसदहरूको समर्थन प्राप्त गर्ने योजना पनि बीचमै तुहियो । उल्लिखित तीन प्रयास असफल भएपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने निष्कर्षमा ओली पुगे । आगामी संसदीय निर्वाचन भन्दा एक–डेढ वर्षअघि नै गौतमलाई सरकार जिम्मा लगाएर आफू चुनावी मैदानमा होमिने मानसिकता केपीले बनाएका थिए । बामदेवको अस्थिर भूमिकाका कारण केपीको यो इच्छा पनि पुरा हुने स्थिति बन्न सकेन ।

त्यसैले सरकार र पार्टी माओवादी (प्रचण्ड)लाई सुम्पिनुभन्दा नेकपा एमालेको पुनर्गठन गर्ने निष्कर्षमा केपी ओली पुगेका हुन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद निर्वाचित भएकोले केपी उक्त जिम्मेवारी छोड्ने पक्षमा छैनन् । पहिले एउटा पद छोड्न लगाउने, त्यसपछि अर्को पदबाट पनि हटाइदिने र मूख्यमन्त्रीहरू बदल्दै राष्ट्रपतिसमेत फेर्ने योजनामा प्रचण्डहरू रहेको स्पष्ट बुझिएकोले पनि केपी दुई जिम्मेवारी कुनै हालतमा नत्याग्ने दृढ अडानमा रहेका हुन् । पद त्याग गर्नुभन्दा एमालेको पुनर्गठन गर्नु नै उपयुक्त हुने देखिएपछि ओलीले निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामक पार्टी दर्ता गर्न लगाएका हुन् । प्रचण्डहरू पछि हटेनन् भने अब नेकपा विभाजन हुनबाट नजोगिने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...