नेकपा विवाद : हलो अड्कियो प्रधानमन्त्रीको राजीनामामा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउने प्रयास भइरहेको छ । बैठक स्थगित गरेर गरिएको अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद मिल्न बाँकी रहेको बताइएको छ ।
ओली–प्रचण्डबीच सोमबार भएको छलफलमा केही विषयमा सहमति जुटेको बताइए पनि प्रधानमन्त्रीको राजीनामाका विषयमा कुरा मिल्न सकेन । ओली केही मुख्यमन्त्री हेरफेर गर्न र मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएको स्रोतले बताएको छ ।
‘दुवै अध्यक्षबीच भएको छलफलमा केही कुरा मिलेका छन् । जसमा मुख्यमन्त्री हेरफेर, मन्त्रिपरिषद हेरफेर र सरकार सञ्चालन गर्न संयन्त्र बनाउने विषयमा सहमति भएको छ,’ स्रोतले भन्यो ।
जबकि जेठमा बसेको सचिवालय र जारी स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको छ । ओली भने दुवै पदबाट राजीनामा दिन भने सहमत भएका छैनन् ।
दुवै अध्यक्षबीच भएको छलफलमा अरु सबै कुरामा सहमत भए पनि राजीनामा दिने कुरामा सहमत हुन नसक्ने बताएको स्रोतले उल्लेख गरेको छ ।
नेकपामा पद र शक्ति बाँडफाँटमा कुरा नमिलेपछि पछिल्लो समयमा विवाद बढेको छ । अझ ११ असारबाट जारी स्थायी कमिटीको बैठकले समस्या र विवाद हल गर्नुको सट्टा झन् बढेको छ ।
१४ असारमा मदन भण्डारीको जन्मोत्सवमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्ति र आफ्नै पार्टीका नेताहरू आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको बताएका थिए ।
त्यसपछि विवाद झन् बढेको थियो । बैठकमा नै सचिवालय सदस्यहरूले प्रधानमन्त्रीसँग प्रमाण भए बैठकमा देखाउन भनेका थिए । विवाद बढेको समयमा नै ओलीले चालू संसद अधिवेशन नै अन्त्य गरे ।
अझ राष्ट्रपतिलाई अर्को समूहले महाअभियोग लगाउन लागेको भन्दै राष्ट्रपतिलाई ब्रिफिङ गरेपछि नेकपाको राजनीतिमा राष्ट्रपति पनि तानिइन् । जसले गर्दा विवाद बढ्दै गएको थियो ।
तर नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा हल्ला मात्रै भएको प्रष्ट पारेका थिए । प्रचण्ड–नेपाल समूह भने ओलीलाई दुवै पदबाट राजीनामा नगराई नछोड्ने भन्दै छलफलमा जुटेका थिए । यहीबीच विवाद कम गर्ने भन्दै अध्यक्षद्वय र दोस्रो पुस्ताका नेताहरू दैनिक जसो छलफलमा जुटिरहेका छन् ।


