नेपालको जनसंख्या ३ करोड नाघ्यो, १० बर्षमा ४० लाख थपिए



हाम्रो इकोनोमि

 

नेपालको जनसंख्या ३ करोड नाघेको छ । जनसंख्या घडी अनुसार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।.केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो ।

बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको विभागका निर्देशक लामिछानेले जानकारी दिए ।

मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ ।

कुनै पनि व्यक्ति अक्सर बसोबास (६ महिनाभन्दा बढी) गरेको स्थानबाट उसको गणना गर्ने गरिन्छ ।

०६८ को तथ्याङ्कमा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र ४८ दशमलव ५ प्रतिशत पुरुष रहेका छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।

अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको छ ।

दश वर्षमा काठमाडौं जिल्लाको जनघनत्व ६१ दशमलव २३ प्रतिशतले बढेको थियो भने मनाङको जनघनत्व ३१ दशमलव ८० प्रतिशतले घटेको थियो । कुल भूभागको १७ प्रतिशतमात्र ओगटेको तराईको जनसंख्या चाप ५० दशलमव २७ प्रतिशत छ । जनघनत्व प्रतिवर्गकिलोमिटर १ सय ८० जनसंख्या बसोबास गर्दछन् ।

१९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औँ राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।

घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ । त्यसमा १ करोड ५६ लाख ४३ हजार ८ सय ५३ महिला हुनेछन् । त्यसैगरी पुरुषको संख्या १ करोड ४७ लाख ३४ हजार २ सय १ जना हुने निर्देशक लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...