काठमाडौलाई कोरोनामुक्त र सुशासनयुक्त बनाउन जोड
राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी अधिकारीहरु र सरोकारवालाले काठमाडौ उपत्यकालाई कोरोना जोखिममुक्त तथा सुशासनयुक्त र अपराधमुक्त बनाउनु पर्ने आवश्यकता औल्याएका छन् । यस्तो संकटको समयमा सबै प्रकारका कालोबजारीको अन्त हुनुपर्ने आवश्यकता औल्याउदै सरोकारवालाले यसका लागि सरकार र नागरिक समाजको असल सहकार्य आवश्यक हुनुपर्नेमा जोड दिए ।
सञ्चारकेन्द्र नेपालले बुधबार आयोजना गरेको सो कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले राजधानीलाई सुशासनयुक्त र अपराधमुक्त बनाने अभियानका साथ आफूँहरु खटिइरहेको दावी गरे । पछिल्लो समय विश्वसँगै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) का कारण संकटमा रहेकाले आफूँहरुमा लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने जिम्मेवारी रहेको र सर्वसाधारणको जनजीवनलाई समेत सहजीकरण गर्नुपर्ने चुनौतीपूर्ण अवस्था रहेकाले आफूँहरु त्यसतर्फ केन्द्रित भई दिनरात खटिई सेवा प्रवाह गरिरहेको जानकारी गराए ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले लामो समय लकडाउन गरेको भएपनि पछिल्लो समय संसारको अभ्यासअनुसार सामाजिक दुरी मेन्टन गर्दा सबैभन्दा सुरक्षित रहन सकिने भन्दै उनले भने –‘सामाजिक दुरी कायम राख्नुहोस्, आफैँ सुरक्षित बन्नुहोस् ।’
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले लकडाउनको समयम अफिस सञ्चालन र बजार अनुगमनको कार्यलाई जारी राखेको कारण लकडाउनमा कालाबजारीका घटनामा न्यून भएको दाबी गरे । उनले लकडाउनको समयमा समेत २ सय २५ वटा फर्ममा र गत साउनदेखि यता अर्थात चालु आर्थिक वर्षमा १८२३ वटा फर्ममा अनुगमन गरेको बताउँदै विभाग उपभोक्ताको हित संरक्षणमा अहोरात्र खटिरहेको बताए ।
कोभिड १९ को कारण मुलुक संकटकालिन अवस्थामा रहेको मौका छोपेर कालाबजारी गर्नेहरुलाई तत्काल एक्सनमा गएर कारबाहीलाई अगाडि बढाएको बताउदै लकडाउनमा मात्र १ करोड ३१ लाख रुपैँया जरिवाना गरि राजस्व संकलन गरिएको जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले उपभोक्ताको हित प्रवद्र्धनमा सरकारले दिएको म्यान्डेट अनुसार आफूँहरु सक्रिय भएको बताए ।राजधानीमा हाल १४ सय ४५ जना ट्राफिक प्रहरी रहेको र उनीहरु रात दिई खटिएर कोरोना भाइरससम्बन्धी सचेतनासँगै सडक सुरक्षामा जुटेको उनले जानकारी खिदए । उहाँले लकडाउनको अवधिमा ६७ हजार र पासको दुरुपयोग गर्ने ३४ हजार सवारी साधनलाई कारबाही गरिएको बताए ।
उपत्यका अपराध महाशाखाका प्रमुख दिपक थापाले अपराध नियन्त्रणका लागि सबैको सुझावबाट आफूँहरुले योजना बनाएर अगाडि बढेको बताए । उनले लकडाउनमा नक्कली सेनिटाइजरलगायत कस्मेटिक सामानहरु बरामद गरेको जानकारी समेत गराए ।
उपभोक्ताकर्मी तथा उपभोक्ता संघका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले हाल सर्वसाधारण नागरिकले भौतिक दुरी कायम नगरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न थालेको बताए । उनले यतिबेला कालाबजारीहरुले टाउको उठाउन थालेका कारण लकडाउन खुकुलो भएपछि मूल्य आकाशिने निश्चित भएको भन्दै त्यसतर्फ सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराए ।
त्यसैगरी कार्यक्रममा राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डितले यतिबेला राष्ट्रसेवक कर्मचारीहरु असली राष्ट्रसेवक बन्न जरुरी भएको भन्दै प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण राष्ट्रसेवकहरुले यो संकटको बेला जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औल्याए । पण्डितले लकडाउन खुकुलो भएपछि उपभोक्ताहरु झन् मारमा पर्नसक्ने तर्फ ध्यानाकर्षण गराउँदै सरकारका निकायहरुले अनुगमनलाई चलाएमान बनाउन सुझाव दिए ।
त्यसैगरी युवानेता पर्शुराम बस्नेतले छिटो काम लिनको लागि कानुन मिच्ने कार्य भएकाले त्यसतर्फ सचेत हुन आम उपभोक्ताहरुलाई सुझाव दिए । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईंले लकडाउनको त्राससँगै बजार खुलेकाले बजारमा सर्वसाधारणहरु अस्वाभाविक मूल्यबृद्धिको मारमा पर्न सक्ने तर्फ प्रशासनको ध्यानाकर्षण हुन जरुरी रहेको बताउँदै सुशासन कायम गर्न जरुरी रहेको बताए ।


