भरतपुर महानगरको बजेट सवा ४ अर्ब



हाम्रो इकोनोमि

 

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल चार अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

यो चालु आव २०७६/७७ को तुलनामा केही कम हो । चालु आवमा सरकारले ४ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

महानगरले कोभिड-१९ संक्रमितको उपचारसँगै क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्थानीय स्तरमै रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ ।

यसका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्ने बजेटमा उल्लेख छ । बजेटले राखेका उद्देश्य तथा प्राथमिकता कार्यान्वयनमा संघ र प्रदेश सरकार तथा छिमेकी स्थानीय तहसँग समेत सहकार्य गरिने उपप्रमुख शाहले बताइन् ।

बजेटको स्रोत के हो ?

भरतपुर महानगरले आन्तरिक स्रोतबाट ९० करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ । घरजग्गा रजिस्ट्रेसन, खानी तथा खानीजन्य पदार्थको बाँडफाँटबाट पाउने रकमलाई आन्तरिक स्रोत मानिएको छ । अन्तरसरकारी अख्तियारीबाट ६० करोड प्राप्त हुने अनुमान गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट भने एक अर्ब ६९ करोड प्राप्त हुने भएको छ । केन्द्र र प्रदेशबाट हुने राजस्व बाँडफाँटबाट ४६ करोड १२ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

जनसहभागिताका माध्यमबाट २५ करोड तथा बैङ्क मौज्दात ८२ करोड रुपैयाँलाई पनि बजेटमा राखिएको छ ।

क्रिकेट रंगशाला बनाउन समपूरक कोष

धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरले संयुक्त कोष खडा गर्ने भएको छ ।

रंगशाला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न साझेदारी तथा समपूरक कोष स्थापना गरिने बजेटमा उल्लेख छ । सहरी विकास तथा पूर्वाधारमा मात्र महानगरपालिकाले ४७ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । उता, युवा तथा खेलकुदसम्बन्धी गतिविधि सञ्चालनमा भने दुई करोड बजेट राखिएको छ ।

अधुरा आयोजना पूरा गर्न ८२ करोड

महानगरपालिकाले अधुरा आयोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने घोषणा गरेको छ । चालु आवको भुक्तानी तथा बहुवर्षीय ठेक्का प्रणालीबाट कार्यान्वयनमा रहेका आयोजनाको भुक्तानीका लागि ८२ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य सेवा र शिक्षामा ९/९ करोड

महानगरले स्वास्थ्य सेवाको सुधार र पहुँच बिस्तारमा साढे ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो बजेट वडामा स्वास्थ्य संस्था स्थापना, कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिको परीक्षण गर्न आवश्यक औषधि तथा उपकरण खरिदमा खर्च हुने भएको छ । क्वारेन्टिन व्यवस्थित गर्न समेत सोही बजेट उपयोग गर्ने योजना महानगरको छ । शैक्षिक उन्नयनका लागि भने ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

एक वडा एक पशु फर्म

भरतपुर महानगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यो रकम एक वडा एक पशु फर्म, दूधमा अनुदान, कृषि ऋणमा २ प्रतिशत ब्याज अनुदान, बिउविजन र मल वितरणमा अनुदानलगायतमा खर्च गरिने भएको छ । महानगरमा हरियाली प्रवर्द्धन, सरसफाइ तथा वातावरण संरक्षणमा ८ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति र पर्यटन प्रवर्द्धनमा तीन करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

रोजगारी सिर्जना गर्न ४ करोड बजेट

भरतपुर महानगरले रोजगारी सिर्जनालाई लक्षित गरी ४ करोड रुपैयाँ बजेट छुट्याएको छ । कृषिसहित साना उद्यम गर्न चाहने युवालाई शून्य ब्याजदरमा अनुदान उपलब्ध गराइने छ भने नवीन काम गर्न चाहनेलाई सुरुवाती पुँजी प्रदान गर्ने योजना छ । निजी क्षेत्रसँग सहकार्य गरी स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्न एक करोड ५० लाख रुपैयाँ उपयोग गर्ने समेत महानगरको बजेटमा उल्लेख छ ।

प्रशासनिक खर्च ४८ करोड

भरतपुर महानगरपालिकाको प्रशासनिक खर्चका लागि भने ४८ करोड रुपैयाँ छुट्याइएको छ । हरेक वडालाई महानगरपालिकाले एक करोडका दरले रकम दिने र वडास्तरमा कार्यक्रम बनाएर कार्यान्वयन गरिने पनि बजेटमा उल्लेख छ । यसका लागि २९ वडामा २९ करोड रुपैयाँ खर्च हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...