अमेरिकाले सन् २०२० भर ग्रिनकार्ड नदिने
अमेरिकाले सन् २०२० भर विदेशी कामदारलाई ग्रिनकार्ड नदिने भएको छ । कोरोना भाइरसको महामारीलगत्तै ग्रिनकार्ड वितरण रोक्ने निर्णय गरेको अमेरिकाले यसमा समीक्षा गर्दै सन् २०२० को अन्त्यसम्मै त्यसलाई बढाउने निर्णय गरेको हो । सस्पेन्डेड भिसाको हकमा पनि ग्रिनकार्डको जस्तै निर्णय गरिएको छ ।
अमेरिकाको यस्तो कदमले विभिन्न देशका कामदार प्रभावित हुनेछन् । प्रविधि क्षेत्रका दक्ष कामदारसँगै गैरकृषि मौसमी सहयोगीलगायत यसबाट प्रभावित हुने बीबीसीले जनाएको छ । भिसा अवधि बाँकी रहेका भने यसबाट प्रभावित हुने छैनन् ।
ह्वाइट हाउसले ग्रिनकार्ड र भिसाबारे लिइएको निर्णयबारे ब्रिफिङ गर्दै यसबाट करिब ५ लाख २५ हजार प्रभावित हुने जनाएको छ । जसमा ग्रिन कार्डका दाबेदार झण्डै १ लाख ७० हजार यसबाट वञ्चित हुनेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी सिर्जनाका लागि यस्तो कदम चालेको जनाएका छन् ।
कोरोनाका कारण सिर्जित अवस्थाले विश्वमा बेरोजगारी दर बढेको छ । शक्तिशाली मुलुक अमेरिका पनि यसबाट अछुतो नरहेको र त्यहाँ बेरोजगारी दर ह्वात्तै बढेको रिपोर्टहरू प्रकाशमा आएका छन् ।
ह्वाइट हाउसको यस्तो कदमबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । आलोचकहरूले भने कोरोना महामारीको वहानामा आप्रवासी कामदारमाथि कस्ने काम भएको टिप्पणी गरेका छन् ।


