नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, दुई तिहाइ भन्दा बढी मतले संशोधन पारित



हाम्रो इकोनोमि

 

मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेेताहरुले भाग लिएका थिए ।

सत्तारुढ नेकपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अधयक्ष प्रचण्डले संविधान संंशोधन गरेर नेपालले दुश्मनी चाहेको भन्ने अर्थ नलगाउन आग्रह गरे । कूटनीतिक र राजनीतिक सम्वादमार्फत यो समस्या सदाका लागि अन्त्य गर्न चाहेको उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको मुद्दामा सरकारलाई सधैं समर्थन रहने बताए । राजपाका नेता राजेन्द्र महताले संविधानप्रतिको असन्तुष्टि थाती राखेर नक्सासम्बन्धी प्रस्तावलाई समर्थन गर्ने घोषणा गरे ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन प्रस्तावको समर्थन गरे । सुगौली सन्धिभन्दा पछाडि हटेर महाकाली सन्धि गरिएको भन्दै उनले कांग्रेस र कम्युनिस्ट नेताहरुले माफी माग्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा बोल्ने सबै सांसदले संशोधनको पक्षमा मत राखेका छन् र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन अब गम्भीर पहल गर्नुपर्ने बताएका छन् ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

नक्साको जवाफ नक्सा

जम्मुकश्मीरबाट छुट्याएर लद्दाखलाई नयाँ राज्य बनाएको भारतले १६ कार्तिक २०७६ मा नयाँ नक्सा जारी गरेको थियो, जसमा कालापानी-लिपुलेक पश्चिमका नेपाली भू-भाग समेत समेटेको थियो । त्यसविरुद्ध नेपालमा प्रदर्शन चर्किन थालेपछि २० कार्तिकमा परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा निकालिएको त्यो नक्सालाई अस्वीकार गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूतको ध्यानाकर्षण गराए ।

२३ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक-एक भू-भाग नेपालको भएको निष्कर्ष निकालेको थियो ।

त्यसको पर्सिपल्ट २५ कार्तिकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो । सीमासम्बन्धी अभियान्ताहरू पनि सरकारलाई त्यही दबाब दिइरहेका थिए ।

सरकार भने अझै पनि द्विपक्षीय समझदारीका लागि कूटनीतिक सम्वादको प्रयासमा रहृयो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नक्सा छाप्नु ठूलो कुरा नभएको, अतिक्रमित भूमि फिर्ता ल्याउनु मुख्य काम भएको सार्वजनिक अभिव्यक्ति दिए ।

परराष्ट्र मन्त्रालयले कार्तिकयता सीमाको विषयमा तीनवटा कूटनीतिक नोट पठायो । प्रधानमन्त्री ओलीले विशेष दूत पठाउन चाहे तर भारतले नेपालको हरेक कूटनीतिक पहललाई बेवास्ता गर्‍यो ।

त्यही बेला कोभिड- १९ को महामारी सुरु भयो । त्यही महामारीका बीच भारतले लिपुलेकमा नेपाली भू-भाग अतिक्रमण गरेर बनाएको मानसरोवर जाने सडक उद्घाटन गरेर सीमा विवाद बल्झायो । लकडाउनको बेवास्ता गर्दै नेपालीहरू भारतीय दूतावास घेराउ र प्रदर्शनमा उत्रिन थाले ।

नेपाल सरकारले भारतीय कदममा आपत्ति जनाउँदै वार्ताको आग्रह गर्दा कोभिड-१९ महामारीपछि भन्दै पन्छायो । नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडक उद्घाटन गर्न महामारीले नछेक्ने तर नेपालसँग सम्वाद गर्न महामारी देखाएपछि नेपालमा झन् आक्रोश बढ्यो ।

नयाँ नक्सा जारी गर्न संसदीय समितिले दिएको निर्देशन किन कार्यान्वयन भएन भनेर संसदमा प्रश्न उठ्यो । संसदीय समितिले परराष्ट्र र भूमिसुधारमन्त्रीलाई बोलाएर लगातार दबाब दियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूका अनुसार सरकार अझै पनि सम्वादकै पक्षमा थियो । भारत सम्वादमा आइहाले नक्साको कुरा मिलाउने आशामा थियो, सरकार । तर, भारतले सम्वादको साटो आफ्ना सेना प्रमुखलाई ‘चिनियाँ उक्साहट’ भनेर बोल्न लगायो ।

परिणाम, २ जेठको नेकपा सचिवालय बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय लियो । सचिवालयका एक नेताका अनुसार सरकारको नीति तथा कार्यक्रम टाइप भइरहेको ठाउँमा रहेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने बुँदा थप्न लगाइएको थियो । नीति तथा कार्यक्रम आएको तीन दिनपछि सरकारले मन्त्रिपरिषद्बाटै औपचारिक निर्णय गरेर ७ गते पश्चिममा लिम्पियाधुरासम्म फैलिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...