बजेट समाजवाद उन्मुख हैन, नव उदारवाद उन्मुख आयो : भीम रावल
सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य भिम रावलले सरकारले नयाँ अर्थिक वर्षका लागि अघि सारेको बजेटको कटु आलोचना गरेका छन् । कोरोनाको कहरले थला परेका बेला त्यसका विरुद्ध लड्ने र आत्मनिर्भर अर्थतन्त्र बनाउन केन्द्रित हुनुपर्ने बजेट त्यस दिशामा कमजोर देखिएको उनले टिप्पणी गरे । नेपालको सीमालगायत राष्ट्यि सुरक्षाका विषयलाइ मजबुत बनाउन बजेट केन्द्रित हुन नसकेकोमा उनले आपत्ति जनाए । नेता रावलले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई आफ्नो स्वामित्वमा ल्याएर त्यहाँ सडकलगाएतका सूविधाका लागि बजेट विनियोजन नहुनु आपत्तिजनक भएको बताए ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा जारी बजेटमाथिको छलफलमा धारणा राख्दै नेता रावलले भने, ‘कोरोना नियन्त्रणका लागि अघि सारिएका कार्यक्रम स्वागतयोग्य भएपनि कम छन् ।’ नेपालको संविधानको मर्म, नेकपाले चुनावमा जनताका अघि सारेको घोषणापत्र र लोककल्याणकारी राज्यको सिद्धान्तलाई बजेटले आत्मसाथ गर्न नसकेको नेता रावलको तर्क छ ।
उनले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्र बढाउने भन्ने तर मेल नखाने विषय बजेटमा कसरी आए ? राष्ट्रिय सुरक्षा प्रणाली लाई बलियो बनाउने कुरा मैले बजेटमा देखिन । नेपालका अतिक्रमित भूमिमा सडक सुविधा लगायतका विषय नआउनु विडम्बनापूर्ण छ ।’ उनले पेट्रोलियम अन्वेशणका लागि जम्मा १५ लाख छुट्याईएको भएपनि कृषि प्राथामिकतामा नपरेको बताए । नेकपाको घोषणा पत्रमा आगामी ३ वर्षभित्र काठमाडौंमा विद्युतीय गाडी मात्र गुड्ने व्यवस्था गर्ने उल्लेख गरिएकोमा त्यसलाई अर्थमन्त्रीले लत्याएर विद्युतीय गाडी आयातमा कर लगाएर निरुत्साहन गरिएको उनको तर्क छ । संसदबाट अनुमोदन नभई एमसीसी परियोजनाको विषय बजेटमा परेकोमा उनले आपत्ति जनाए ।


