भारतमा कर्फ्यू : अत्यावश्यक सेवाबाहेक सबै बन्द



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ ।

यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न लागेको छैन । तर, सामाजिक सञ्जालमा घरबाहिर निस्कनेहरुलाई प्रहरीले ११ हजार रुपैयाँ जरिवाना गराउँछ भन्ने अफवाहका कारण भने नागरिकहरु त्रसित बनेको नवभारत टाइम्सले जनाएको छ ।

यद्यपि सो अफवाहमा दिल्ली प्रहरीले खण्डन गरिसकेको छ । यो नागरिकको तवरबाट भएको कर्फ्यू भएकाले आवश्यक काम परेमा निर्बाध रुपमा बाहिर निस्कन सकिने प्रहरीले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा बिदाको दिन पारेर २२ मार्च अर्थात् आइतबारको लागि जनता कर्फ्यूको घोषणा गरेका थिए ।

विशेष परिस्थितिमा राज्यले लगाउने कर्फ्यूभन्दा भिन्न यो कर्फ्यूका कारण ३६ घण्टासम्म कोही पनि बाहिर ननिस्कँदा कोरोना भाइरसको महामारी कम हुने उद्देश्यसहित यस्तो प्रस्ताव गरिएको मोदीले सम्बोधनको क्रममा बताएका थिए ।

के–के बन्द छन् भारतमा ?

जनता कर्फयूका कारण यतिबेला दिल्ली मेट्रो, सयौं रेलगाडीहरु, दिल्लीको थोक बजार, कर्नाट प्लेस र सबैजसो भोजन गृहहरु यतिबेला बन्द छन् । त्यस्तै, सुपरमार्केटहरु, मेट्रो फिडर सेवा, पेट्रोल पम्पहरू, पर्यटक ट्याक्सी पनि आइतबार पूर्ण रुपमा बन्द गरिएको छ ।

सरकारले अत्यावश्यक भनेर तोकेका सेवाबाहेक अरु सबै सेवाहरु स्वतस्फूर्त बन्द गरिएको छ । अर्कोतर्फ, यो कर्फ्यूका बाबजुद पनि दूध पसल, किराना पसल, सीएनजी स्टेशन, अस्पताल, नर्सिङ होम, प्रहरी सेवा र सञ्चार सेवाहरु खुला छन् ।

कर्फ्यूमा के गर्न प्रतिवन्ध छ ?

जनता कर्फ्यूको दिनमा सबैभन्दा मुख्य कुरा अत्यावश्यक बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन भनिएको छ । यद्यपि अत्यावश्यक सेवा लिनको लागि भने बाहिर जान कुनै रोकतोक छैन ।

एक अर्कालाई भेट्ने, पार्कमा भेला हुने जस्ता काममा प्रतिबन्ध लगाइएको छ । चियापसलमा हरेक बिहान लाग्ने भीड रोक्न चिया पसल बन्द गरिएको छ । नागरिकहरुलाई समेत अनावश्यक काममा बाहिर नटहलिन सरकारले आग्रह गरेको छ ।

जनता भयभीत

धेरै व्यक्तिहरू सार्वजनिक कर्फ्यूदेखि भयभीत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, प्रहरीले यसमा डराउनु पर्ने कुनै कारण नभएको बताएको छ । दिल्ली प्रहरीका अनुसार यदि कर्फ्यूको दिनमा यदि कुनै व्यक्ति बाहिर घुम्न निस्किएको खण्डमा पनि ऊ विरुद्ध कुनै कारबाही नगरिने स्पष्ट पारेको छ ।

सार्वजनिक रुपमा नै प्रहरीले भनिरहेको छ कि उनीहरू घरमा बस्न आग्रह गरिएको हो । तर, काम विशेषले बाहिर जानेहरुलाई पनि कुनै कारबाही गरिने छैन । सामाजिक सञ्जालमा यदि यो दिन घर बाहिर गएको खण्डमा प्रहरीले ११ हजार जरिवाना गराउँछ भन्ने अफवाहको समेत दिल्ली प्रहरीले खण्डन गरेको छ ।

प्रहरीका अनुसार चिकित्सा सम्बन्धी आपतकालीन अवस्थामा, घर नजिकै दूध वा पानीको लागि वा अरु अत्यावश्यक सामान किन्नको लागि पनि घरबाट बाहिर निस्कन सकिने प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...