तत्काल विद्यालय बन्द नहुने
सरकारले विद्यालयहरू बन्द र परीक्षा स्थगन भने तत्काल नगर्ने निर्णय गरेको छ । ‘संक्रमणको जोखिम बढ्यो भने यस विषयमा निर्णय गर्न सक्छौं,’ मन्त्री खतिवडाले भने । उनले अहिले विद्यालय नियमित रूपमै सञ्चालन गरेर समस्या आइहाले तत्कालै ‘एक्सन’ मा जाने निर्णय भएको जानकारी दिए ।
बढी मानिस भेला हुने गरी सार्वजनिक समारोह, राजनीतिक भेला, सामाजिक कार्यमा निरुत्साहन गरिने भएको छ । ‘भेलाहरू नगर्न सार्वजनिक रूपमै आह्वान गर्ने छौं,’ मन्त्री खतिवडाले भने ।
सातै प्रदेशमा आईसीयूसहितको पूर्वाधार
संक्रमणको रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि कानुनलाई केही खुकुलो बनाउने निर्णय समितिले गरेको छ । सार्वजनिक खरिद ऐनको ‘विशेष परिस्थिति’ सम्बन्धी प्रावधान प्रयोग गरी ‘फास्ट ट्र्याक’ बाट स्वास्थ्य मन्त्रालयले खरिद गर्ने तयारी गरिएको हो ।
मन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयले तयारीका सन्दर्भमा क्वारेन्टाइन सेन्टर र उपकरणलाई व्यवस्थित गर्ने तथा स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न गराउने बताए । उनले संक्रमित देखिए घना बस्तीभन्दा टाढा हुने गरी प्रारम्भिक रूपमा उपचार गर्ने तयारी रहेको बताए ।
मन्त्री खतिवडाले आवश्यक पर्दा सुरक्षाकर्मीले पनि सहकार्य गर्ने जानकारी दिए । ‘चाँडै संरचना बढाउने तयारी छ । आवश्यक पर्यो भने मेडिकल कलेज, रेडक्रस, स्काउटलगायतका संस्थाबाट स्वयंसेवी परिचालन गर्ने तयारी छ,’ उनले भने, ‘अहिले पूर्वतयारीको अवस्थामा रहनुपर्ने भएको छ ।’
मन्त्रालयलाई आईसीयूसहितको आइसोलेसन कक्ष भएको पूर्वाधार काठमाडौंलगायत सात वटै प्रदेशमा तयार गर्ने गरी प्रस्ताव ल्याउन समितिले निर्देशन दिएको छ । समितिको अर्को बैठकमा स्वास्थ्य मन्त्रालयले प्रस्ताव पेस गर्नुपर्नेछ ।