महँगा स्कुलका विद्यार्थी भाडाका थोत्रा बसमा, धुलो खाँदै घन्टौँ सकसपूर्ण यात्रा



 

राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् । तर, भाडाका पुराना गाडीमा दैनिक चार घन्टासम्म धुलो र जाममा घुमाउने तिनै केही विद्यालयले बालबालिकालाई बढी सुविधा दिएको भन्दै ‘क’ श्रेणीभन्दा माथिल्लोस्तरको शुल्क असुलेका छन् ।

विद्यालयले उपलब्ध गराएको सुविधाअनुसार सरकारले विद्यालयलाई ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ चार स्तरमा वर्गीकरण गर्दै आएको छ । सरकारले शिक्षा नियमावलीअनुसार गर्ने वर्गीकरणका आधारमा विद्यालयले लिन पाउने शुल्क निर्धारण हुन्छ । विशिष्ट सुविधा दिएका विद्यालयले अभिभावकको भेलाबाट निर्णय गराई ‘क’ श्रेणीमा परेको विद्यालयले भन्दा अझै बढी शुल्क लिन पाउने व्यवस्था छ ।

तर, काठमाडौंमा ‘विशेष सुविधायुक्त’ भनिएका महँगा विद्यालयले समेत विद्यार्थी ओसार्न भाडाका पुराना गाडी प्रयोग गरेका छन् । एक विद्यालय हो, रातो बंगला । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा नजाँदै शिक्षा मन्त्रालयले रातो बंगलालाई ‘विशेष सुविधायुक्त’ भनेर अनुमति दिएको हो ।

ललिपुरका जेम्स र प्रिमियम स्कुलले पनि विशेष सुविधायुक्तका लागि माग गरेका छन् । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले जेम्स र प्रिमियमले विशेष सुविधायुक्त माग गरेर आवेदन दिएको बताए । तर, संघीयता कार्यान्वयन भएपछि केही पालिकामा बाहेक विद्यालयको वर्गीकरण हुन सकेको छैन । कतिपयले पुरानै श्रेणीलाई मान्यता दिएका छन् ।

उपत्यकामा धेरै गाडी प्रयोग गर्ने निजी विद्यालयमा जेम्स, लिटिल एन्जल्स, मोडर्न इन्डियन, आइडियल मोडेल, नाइटिंगल, डिएभी सुशील केडिया, द चाँदबाग, पाठशाला, सिद्धार्थ वनस्थली, एलआरआई, भिएस निकेतनलगायत छन् । सरकारले विद्यालयका बसलाई पहेँलो रङको बनाएर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश विद्यालयले केही गाडी पहेँलो रङका प्रयोग गरे पनि केही भाडाकै प्रयोग गरेका छन् । कतिपय विद्यालयका आफ्नै गाडी पनि पुराना भएका छन् भने भाडामा ल्याउने सार्वजनिक यातायातसमेत पुराना हुने गरेका छन् । सस्तोमा पाइने भएकाले अधिकांश विद्यालयले लिने भाडाका गाडी बा.१ख र बा.२ख लटका छन् । यस्ता बसले धेरै धुवाँ फाल्दा र घ्वारघ्वार आवाज निकाल्दा विद्यार्थीलाई असर गर्ने गरेको छ ।

चप्पल कारखाना, शंखपार्क, धुम्बाराही, सुकेधारा रुटमा चल्ने ललितपुर यातायातको बा.१ख ८७९९ नम्बरको बसले सांसद उमेश श्रेष्ठले चलाएको आइडियल मोडेल स्कुलका विद्यार्थी बोक्ने गरेको छ । यो उदाहरण मात्र हो । चलेका भनिएका विद्यालयले विद्यार्थी बोक्ने यस्तै पुराना भाडाका गाडी प्रयोग गर्छन् । सांसद श्रेष्ठकै लिटिल एन्जेल्सले विद्यार्थी ओसार्न सबैभन्दा बढी गाडी प्रयोग गर्छ । यो विद्यालयले आफ्नै र भाडाका गरी दैनिक सयको हाराहारीमा गाडी प्रयोग गर्छ । आधाजति सार्वजनिक यातायात भाडामा लिन्छ । सेन्ट मेरिजले पनि भाडाकै गाडी प्रयोग गर्दै आएको छ ।

उमेश श्रेष्ठ मात्रै होइन, नाइटिंगल स्कुलका सञ्चालक तेजुलाल चौधरी पनि अहिले सांसद छन् । निजी विद्यालयमा अन्य कतिपय नेतादेखि व्यापारीसम्मको प्रत्यक्ष–अप्रत्यक्ष लगानी छ । उनीहरू नीति निर्माणको तहसम्म पनि पुगेका छन् । उनीहरूले आफ्ना विद्यालयअनुकूल नहुने गरी नीति–नियम आउन नदिने र आए पनि कार्यान्वयन हुन नदिने गरेको शिक्षाका कर्मचारी बताउँछन् । ‘मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक भएकाले छाडापन नियन्त्रण गर्न कठिन छ, अहिले स्थानीय तहको जिम्मेवारी भन्दै पन्छिने गरेका छन्,’ एक कर्मचारीले भने ।

दैनिक औसत साढे तीन हजार गाडीले बोक्छन् विद्यार्थी 

विद्यालयका विद्यार्थी बोक्न दैनिक कति गाडी प्रयोग भएका छन् भन्ने यकिन विवरण कुनै निकायसँग छैन । तर, शिक्षा मन्त्रालयका अधिकारीका अनुसार उपत्यकामा विद्यालय तहका विद्यार्थी बोक्न दैनिक साढे तीन हजारको हाराहारीमा बस प्रयोग हुने अनुमान छ ।

उपत्यकामा एक हजार पाँच सय ६५ निजी विद्यालय छन् । तीमध्ये एक हजार ७२ विद्यालय माध्यमिक तहका छन् । शिक्षाका अधिकारीका अनुसार कक्षा १–५ मा एक लाख ८१ हजार, कक्षा ६–८ मा एक लाख पाँच हजार, मावि (९–१०)मा ६५ हजार र मावि (११–१२) मा २८ हजार विद्यार्थी छन् । निजी विद्यालयमा अध्ययन गर्ने करिब ५० प्रतिशत विद्यार्थी गाडी चढेर विद्यालय जाने प्रक्षेपण छ । प्राथमिक तहमा भन्दा ९–१० मा अध्ययन गर्ने विद्यार्थीले विद्यालयकै गाडी बढी प्रयोग गर्ने अनुमान छ । निजीमा अध्ययन गर्ने तीन लाख ७५ हजारमध्ये करिब ५० प्रतिशतले विद्यालयको बस चढ्दा पनि तीन हजार पाँच सय बस प्रयोग हुने शिक्षाका अधिकारीको विश्लेषण छ ।

पिकआवरमा सार्वजनिक बस निजी स्कुल जाँदा रुटका यात्रुले बस पाउँदैनन्

सार्वजनिक बस विद्यार्थी बोक्न निजी विद्यालयले भाडामा लिन्छन् । त्यसको असर उपत्यकामा बिहान र साँझ यात्रुको चाप हुने समयमा प्रत्यक्ष पर्ने गरेको छ । रुटमा गाडी कम हुँदा सर्वासाधारणलाई सास्ती हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल सार्वजनिक प्रयोजनमा चल्ने गाडी विद्यालयले भाडामा प्रयोग गर्न नपाउने बताउँछन् । ‘विद्यार्थी ओसार्ने र एकैछिनमा फेरि यात्रु पनि बोक्ने एउटै गाडी छन्, यस्तो गर्न पाइँदैन,’ एसएसपी ढकालले भने, ‘भाडाकै गाडीमा विद्यार्थी बोक्ने हो भने पनि पहेँलो रङ लगाउनुपर्छ र अन्य यात्रु बोक्न पाइँदैन ।’

निजी विद्यालयले सार्वजनिक गाडी लैजाँदा र बिहान–बेलुका जथाभावी रोक्दै सहर घुमाउँदा ट्राफिक व्यवस्थापनमै असर परेको ढकाल बताउँछन् । बिहान ९ बजेअगाडि नै विद्यालयमा बस पुर्‍याउन पटक–पटक गरिएको आग्रह पालना नभएको उनले बताए । ‘ट्राफिक व्यवस्थापनमा निकै समस्या परेको छ,’ उनले भने ।

भाडाका गाडीमा बोक्दा दुर्घटनाको जोखिम र बालबालिकामा मनोवैज्ञानिक असरसमेत पर्छ । यस्ता गाडीले हतार गर्छन् । विद्यार्थी झारेर नियमित रुटमा यात्रु टिप्न हतार गर्छन् । ‘विद्यालयको काम भ्याएर अर्को काम गर्छु भन्ने हतारले गाडी चलाएको हुन्छ । चालक हतारमा हुँदा दुर्घटना बढ्ने जोखिम हुन सक्छ,’ एसएसपी ढकालले भने, ‘बालबालिकाको व्यवस्थापनमा विद्यालयकै गाडी र स्टाफले जस्तो भाडाको गाडी तथा स्टाफले नगर्ने भएकाले मनोवैज्ञानिक असर पनि पर्छ । सर्वसाधारणलाई जस्तै व्यवहार बालबालिकामा हुन सक्छ ।’ नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्