मोदीले पाकिस्तानमाथी आक्रमण गर्न खोजे–इमरान खान
भारतमा चलिरहेको आन्दोलनलाई मत्थर पार्न पाकिस्तानमाथी जतिबेला पनि हमला हुनसक्ने भन्दै प्रधानमन्त्री इमरान खानले देशबासीलाई सजग बनाएका छन् । नागरिकता विधेयकलाई लिएर यतिबेला भारतमा चर्काे आन्दोलन भइरहेको छ भने डेढ दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ ।
भारतभर भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेका बेला पाकिस्तानमाथी आक्रमण हुन सक्ने आशंका इमरान खानले गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीट गर्दै भारतमा भइरहेको प्रर्दशनलाई मत्थर पार्न जतिबेला पनि सैन्य कारवाही हुन सक्ने बताए । उनले भारतका सेना प्रमुखले आक्रमणको पुष्टी गरेको दावी पनि गरेका छन् ।
गत बुधवार भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले कश्मिरको सीमा अवस्था कुनैपनि बेला फेरिन सक्ने बताएका थिए । त्यसका लागि तयार रहन भारतीय सेनालाई निर्देशन पनि दिएका थिए । त्यही आधारमा पाकिस्तानका प्रधानमन्त्रीले पाकिस्तानमाथी आक्रमण हुनसक्ने बताएका छन् ।
‘भारतीय सेनाले कश्मिमलाई कैद गरेको छ र जब त्यो प्रतिबन्ध हटाइन्छ तब रक्तपात हुने आशङ्का छ। भारतमा बढिरहेको विरोध प्रदर्शनले पाकिस्तानमाथि खतरा बढेको छ र भारतीय सेना प्रमुखको भनाइले त्यो चिन्तालाई पुष्टि गर्छ’ पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीटमा भनेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले भारतलाई मोदीले हिन्दू राष्ट्र बनाउन खोजेको आरोप लगाएका छन् । ‘भारतलाई हिन्दू राष्ट्रवादको भावना बहकाएर आन्तरिक विरोधलाई मन्थर गर्न कुनै कारबाही गरेमा पाकिस्तानका सामु त्यसको जवाफ दिनुभन्दा अरू विकल्प छैन’ उनले भनेका छन् ।


