कति छ प्याजको मूल्य ?



हाम्रो इकोनोमि

 

सरकारी अड्डाबाट सामान्य काम फत्ते गराउन जति घुस दिनुपर्छ, त्यति पैसाले केही बोरा प्याज खरिद गर्न सकिन्छ । एउटा व्यक्तिले दिनभरमा रित्याउने चुरोटको मूल्यले एक केजी प्याज (अहिलेको बजारभाउमा) किन्न सकिन्छ । अनुहार पोत्नका लागि जति मूल्यमा सन-प्रोटेक्सन क्रिम किन्ने गरिन्छ, त्यसले डेढ केजी प्याज आउँछ । शहरका मल्टिप्लेक्स हलमा एक प्याकेट पपकर्न किन्न जति पैसा चाहिन्छ, त्यसले एक ढाकी  प्याज आउँछ ।

भारतबाट आयात गरिने प्याकेट बन्द किबी फललाई मान्छेले आँखा चिम्लेर प्रतिकेजी चार सय रुपैयाँको दरले किन्छ । चीनबाट भित्र्याइएको स्याउका लागि मन खोलेर दुई सय रुपैयाँ खर्च गर्छ । तर, दुई/अढाई सय रुपैयाँ खर्चेर प्याज किन्ने कुराले मान्छेको सातो उडेको छ । किन ?

सामाजिक सञ्जाल/मिडियामा प्याज आतंक फैलिएपछि धेरैले थाहा पाए, हाम्रो भान्सामा आइपुग्ने प्याज भारतको माटोमा उत्पादन हुँदो रहेछ । वर्षेनी ६ अर्बको त हामीले भारतबाट नै प्याज खरिद गरिरहेका रहेछौं । यसको सोझो अर्थ के भने नेपालीको भान्सामा जति प्याज खपत हुन्छ, त्यतिका प्याज उत्पादन हामीसँग रहेनछ ।

भारतले प्याज निर्यात गर्ने बाटो साँघुरो बनाइदिएपछि हाम्रो बजारमा प्याज फोबिया सुरु भएको हो । अहिले सामाजिक सञ्जालदेखि कतिपय मिडिया ‘प्याजमय’ बनेको छ । यस्तो लाग्छ, प्याजको मूल्य छुनै नसकिने छ । एक केजी प्याज किन्नुपर्दा घरखेत नै जाने अवस्था छ ।

जबकी हाम्रो भान्साका लागि प्याज अनिवार्य तत्व होइन । नुन र बेसार जति अनिवार्य पनि होइन । सागपातमा त प्याज प्रयोग गर्न आवश्यक नै छैन । मासु, दाल, गेडागुडी वा अन्य तरकारीमा प्याज प्रयोग गरिन्छ । यसमा पनि प्याज नराख्दैमा त्यो बेस्वादको हुने होइन । प्याजले मासु वा तरकारीको स्वाद उधुमै बढाउने पनि होइन । त्यसैले प्याज महंगो भनेर चिच्याइरहनुभन्दा राम्रो विकल्प हो सागसब्जीमा प्याजको प्रयोग नै नगर्नु ।

त्यसो त नेपालको अधिकांश माटोमा प्याज उत्पादन गर्न सकिन्छ । महाभारत क्षेत्र प्याज उत्पादनका लागि अनुकूल मानिन्छ । जबकी पूर्वदेखि पश्चिमसम्म तन्किएको महाभारत क्षेत्रमा प्याज उत्पादन गर्न सकिन्छ । त्यति मात्र कहाँ हो र ? हामीले घरको कौसी, बगैंचा, छत, बार्दली जहाँ पनि प्याज रोपेर उत्पादन गर्न सक्छौं । प्याज कुनै दुर्लभ उपज पनि होइन, पौरख र पसिना छ भने ।

अर्को महत्वपूर्ण कुरा, एक केजी प्याज उत्पादन गर्नका लागि किसानले गर्ने लगानी, श्रमको तुलनामा दुई/अढाई सय रुपैयाँ त्यति चर्को मूल्य पनि होइन ।

तपाईं आफै एक केजी प्याज उत्पादन गरेर हेर्नुहोस् । दुई/अढाई सय रुपैयाँ मूल्य पनि कम लाग्नेछ । बिउ-बिजन राख्ने, रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने, सिञ्चाई गर्ने । घामपानी नभनी तपाईंले प्याज रोप्नुहुन्छ । तर, मौसम प्रतिकूल भएमा तपाईंको पैसा, पसिना, पौरख सबै स्वाहा हुन्छ । यति धेरै जोखिम मोलेर तपाईं जब प्याज बजारमा फिँजाउनुहुन्छ, खरिदकर्ताहरु मोलमोलाई गर्न थाल्छन् । प्याजको मूल्य बढी भयो भनेर चर्को आवाजमा विरोध गर्छन् ।

अहिले सबैजना उर्लिरहेका छन्, ‘प्याजको मूल्य महंगो भयो, प्याज खानै नसकिने भयो ।’ अब उनीहरुलाई नै एउटा प्रश्न सोधौं, प्याजको उचित मूल्य कति हो ? एक केजी प्याजको मूल्य कति हुनुपर्छ ?

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...