मन्त्रिपरिषद् पुनर्गठनः ९ मन्त्री बर्खास्त, ९ जना नियुक्त (सूचीसहित)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बिहीबार विहान सपथग्रहण हुनेछ ।

उपेन्द्र यादवको मन्त्रालय फेरियो

नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेका छन् भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् । समाजवादी पार्टीबाटै स्वास्थ्य राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादवलाई भने हटाइएको छ ।

रघुवीर, गोकर्ण र लालबाबुको मन्त्री पद गयो

प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

कोको भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । भट्ट प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदमा श्रम मन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।

राज्यमन्त्रीमा तीन जनाको इन्ट्री

यस्तै माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री बिना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...