सडकका बिजुलीका पोलका विज्ञापन हटाउन प्राधिकरण र महानगरबीच गलफती



हाम्रो इकोनोमि

 

थापाथलीबाट माइतीघर हुँदै बानेश्वर जाने सडकका बिजुलीका पोलहरूमा हेर्नुभयो भने धेरैजसोमा व्यावसायिक विज्ञापनका बोर्ड देख्नुहुन्छ । यी बोर्डले सरकारले बनाएको विज्ञापन ऐनलाई नै गिज्याइरहेका छन् ।

विज्ञापन ऐनले बिजुलीका पोलमा, टेलिफोनको तार राखिएको पोलमा विज्ञापन बोर्ड राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर, थापाथली–बानेश्वरमात्र होइन, काठमाडाैंका अन्यत्र स्थानमा पनि पोलहरूमा विभिन्न कम्पनीका विज्ञापनजन्य सामग्री जतासुकै टाँगिएका पाइन्छन् ।

विज्ञापन नियमन गर्न बनेको ऐन, २०७५ ले बिजुलीका पोलमा विज्ञापन गर्न रोक लगाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक ७ गते प्रमाणीकरण गरेसँगै यो ऐन लागु भइसकेको छ । यो ऐन लागु भएको एक महिनासम्म पोलबाट बोर्डहरू हटाउन सरकारका कुनै पनि निकायले अग्रसरता देखाएका छैनन् ।

उक्त ऐनमा सार्वजनिक स्थलमा देखिने गरी होर्डिङ बोर्ड राख्न र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिनुपर्ने उल्लेख छ । ऐनको दफा ५ को उपदफा (४) (च) मा भने विद्युत्, टेलिफोनलगायतका खम्बामा विज्ञापन राख्नै नपाइने उल्लेख छ ।

महानगर भन्छ– प्राधिकरणको जिम्मेवारी

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानहरूमा बोर्ड राख्दा शुल्क लिएर अनुमति दिने गरेको छ । महानगरका राजस्व महाशाखाका प्रमुख नुरनिधि न्यौपानेले महानगरको विज्ञापन नीति, २०७० अनुसार महानगरले बोर्डहरू राख्न अनुमति दिने गरेको बताए ।

तर विज्ञापन विधेयकले बन्देज लगाएको बिजुलीको पोलहरूमा भने महानगरले विज्ञापन गर्न अनुमति नदिएको न्यौपानेको भनाइ छ ।

उनले भने, ‘जुन पोलहरूमा विज्ञापन गरिएको छ, त्यो महानगरले होइन, विद्युत् प्राधिकरणले ठेक्कामा लगाएर दिएको हो ।’

त्यसरी बोर्डहरू टाँगिएबापत महानगरले शुल्क नलिएकोसमेत उनले जानकारी दिए । न्यौपानेका अनुसार, तिनीहरूबाट विज्ञापन करमात्रै महानगरले लिने गरेको छ ।

विज्ञापन कर पनि प्राधिकरण वा ठेकेदार कम्पनी नभई सम्बन्धित कम्पनीहरूले तिर्ने गरेका छन् । जस्तो कि अहिले पोलहरूमा एनसेलको विज्ञापन राखिएकोमा विज्ञापन कर एनसेलले नै तिर्ने गरेको छ ।

प्राधिकरण भन्छ– छलफल हुनै बाँकी छ

प्राधिकरणले विज्ञापन बोर्ड हटाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको बताएको छ । प्राधिकरणका प्रशासन महाशाखा प्रमुख शिव आचार्यले नयाँ ऐन जारी भएपछि के गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले भने ठेक्का प्रक्रियाबारे आफू जानकार नरहेको बताइन् ।

प्राधिकरणका अधिकारीहरूले भने प्रचलित कानून अनुसार नै ठेक्का लगाइएको बताएका छन् । ठेक्का लगाउने बेला विज्ञापन ऐन लागू भइसकेको थिएन । नयाँ ऐन भर्खरै लागू भएको सन्दर्भमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनीहरूको प्रतिक्रिया छ ।

काठमाडौं उपत्यकामा वातावरण प्रतिकूल हुनेगरी विज्ञापनजन्य सामग्रीहरू नराख्न ०७३ मै सर्वोच्च अदालतले आदेश दिएको थियो । ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड राख्न नदिने र राखेमा भए हटाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...