यस्तो बन्दैछ नारायणीमा ‘मिनी पानीजहाज’



हाम्रो इकोनोमि

 

चितवनको नारायणी नदी किनारमा ‘मिनी पानीजहाज’ बनाउने काम अन्तिम चरणमा पुगेको छ । आगामी डिसेम्बरभित्र सबै काम सकेर व्यवसायिक यात्रा गराउने गरी काम भइरहेको सम्वद्ध कम्पनीले जनाएको छ ।

दशैं अगाडि नै सञ्चालनमा ल्याउने लक्ष्य लिए पनि डिजाइनमा केही परिवर्तन गर्नुपरेकोले दुई महिना ढिला भएको पानीजहाज बनाइरहेको राइनो वाटर इन्टरटेन्मेन्टले जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । डिजाइन परिवर्तन गर्दा १ करोड रुपैयाँ लागत र १० टन वजन थप भएको उनले बताए ।

भरतपुर महानगरपालिका– १६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा निर्माण भइरहेको १०० फिट लम्बाइ र २५ फिट चौडाइको पानीजहाजमा दुईवटा इञ्जिन जडान भइसकेको छ । जहाजको दुई तलामा सीसा राख्न बाँकी छ ।

प्रवन्ध निर्देशक कँडेलले जहाजभित्र चेन्जिङ रुम, पानी ट्ंयाकीलगायत राख्ने काम भइरहेको बताए । उनका अनुसार, जहाजको पहिलो तलामा ९० र दोस्रो तलामा सयजना यात्रु अटाउने छन् ।

‘पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र, म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ’, उनले भने, ‘दोस्रो तलाको एक छेउमा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सीहरु राखिने छ ।’

गत चैतबाट बनाउन थालिएको जहाजको कुल लागत १५ करोड रुपैयाँ पुग्ने प्रबन्ध निर्देशक कँडेलले बताए । उनका अनुसार, जहाजको प्राविधिक पक्ष भारतको ग्राउण्डी मल मरिन इन्टरनेसल कम्पनीले हेरिरहेको छ भने बनाउने काममा केरलाका प्राविधिकहरु खटिएका छन् । कँडेल भन्छन्, ‘सुरुमा जहाज सञ्चालन गर्दा १५ सदशीय ‘क्र्यू’ र प्राविधिक विदेशी नै हुनेछन् ।’

उनका अनुसार, पानीजहाज विहान ‘ब्रेकफास्ट’, दिउँसो ‘लन्च’ र साँझ ‘डिनर’को मजासहित दैनिक करीव तीन घण्टाको तीन ‘सिफ्ट’ चल्नेछ । ‘अब नारायणी किनार पूर्ण रुपमा ‘रिक्रिएसन सेन्टर’ बन्नेछ’, प्रवन्ध निर्देशक कँडेल भन्छन्, ‘नेपालको जल पर्यटनमा यो हाम्रो प्रयास कोशेढुंगा सावित हुनेछ ।’

सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने तयारी गरिरहेको बेला नारायणीमा एकैपटक दुईसय जनालाई जलयात्रा गराउने जहाज निकै उपयोगी साबित हुने उनको विश्वास छ । कँडेलका अनुसार, पर्यटकहरुले यो जहाजमा बसेर प्रतिघण्टा ३५ किलोमिटरको वेगमा काभ्रेघाट–देवघाट र देवघाट–गोलाघाट जलयात्रा गर्नसक्ने छन् ।

कम्पनीले पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार सरकारबाट सञ्चालन स्वीकृती लिएको छ । पानीको अत्यधिक बेग हुने बर्खाको तीन महिना यो सेवा बन्द रहनेछ ।

कम्पनीका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले देशको पहिलो ठूलो पानीजहाजको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाउने तयारी थालिएको बताए ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले रिसोर्ट पनि सञ्चालन गर्ने जनाएको छ । पानीजहाजले पूर्णता पाउनासाथ करिब १० करोड रुपैयाँ लगानीमा रिसोर्टको काम थाल्ने प्रबन्ध निर्देशक कँडेलले बताए । उनका अनुसार, पानीजहाज र रिसोर्ट सञ्चालनका लागि कम्पनीले ज्ञानेश्वर सामुदायिक बनसँग २० बर्षका लागि डेढ बिघा जग्गा भाडामा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...