निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन हुन्छ : मन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताएका छन् । साथै विमानस्थलको नाम फेर्ने सोच बनाएको पनि उनले जानकारी दिए ।

चितवनको सौराहा आएका मन्त्री भट्टराईले  विमानस्थल बन्ने कुरा सुनिश्चत गर्न एकीकृत प्रस्ताव बनाएर मन्त्रिपरिषद् लैजाने तयारी भइरहेको बताए । ‘विमानस्थलको ईआईए गरेर वन मन्त्रालयमा पठाएका छौं, मन्त्रालयले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अब छिट्टै दुवै मन्त्रालयस्तरमा सहमति गरेर एकीकृत प्रस्ताव तयारी गरी मन्त्रिपरिषदमा लैजान्छौं ।’

मन्त्रिपरिषदले प्रस्ताव पास गरेपछि विमानस्थल बन्ने सुनिश्चित हुने उनले बताए । एकीकृत प्रस्तावभित्र टाँगिया बस्ती स्थानान्तरणदेखि रुख कटान, बनाउने मोडल र अन्य व्यवस्थापकीय कार्यहरु समेटिने मन्त्री भट्टराईले जानकारी दिए ।

पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री भट्टराईले मंसिर महिनाभित्र विमानस्थलको शिलान्यास गर्ने बताएका थिए । मंसिरभित्र विमानस्थलको शिलान्यास हुन्छ त भन्ने प्रश्नमा मन्त्री भट्टराईले भने, ‘डोजर लगाएर इँटा राखेपछि मात्रै शिलान्यास भयो भन्ने चलन छ, इँटा राख्नु ठूलो कुरा होइन, इँटा राखेपछि काम धमाधम हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा २५ लाख रुख काटिने भनेर गरिएका चर्चा विमानस्थल बन्न नदिने सानो संख्यामा मान्छेले गरेको हल्ला मात्र भएको मन्त्री भट्टराईले बताए ।

विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत रहेको उनको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक ६ सय उडानबाट २० हजार यात्रुले सेवा लिएको जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘२० लाख पर्यटक भित्राउन पनि यो विमानस्थल सानो भइसक्यो, निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छँदैछैन यसलाई नेपालको सिभिल एभियसनको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ ।’

 

‘विमानस्थलको नाम परिवर्तन हुन्छ’

मन्त्री भट्टराईले विमानस्थलको नाम परिवर्तन गरेर ‘बारा अन्तर्राष्ट्रिय विमानस्थल’ राख्ने तयारी भइरहेको सुनाए । विमानस्थल बन्ने जग्गा निजगढको मात्र नपर्ने भएकाले नाम परिवर्तन गरेर बारा राख्ने सोच बनाएको उनले बताए । ‘निजगढको भन्दा धेरै जग्गा कोल्वीको पर्छ, जीतपुर सिमराको पनि पछर्,’ मन्त्री भट्टराईले भने, ‘निजगढ नाम परिवर्तन गरेर बारा राख्न छलफल चलाएका छौं ।’

 

शनिबार साँझ चितवनको सौराहामा आएर बसेका मन्त्री भट्टराई निजगढ विमानस्थलबारे छलफल गर्न त्यसतर्फ लागेका छन् । उनले सरोकारवाला तीनवटा नगरपालिका, त्यस क्षेत्रका सांसद, प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने छन् । विमानस्थल बन्ने क्षेत्र अध्ययन गर्ने र स्थानान्तरण गर्नुपर्ने टाँगिया बस्तीका बासिन्दासँग पनि अन्तरक्रिया गर्ने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...