सरकार छाडेर आन्दोलनमा जाने उपेन्द्र यादवको तयारी



हाम्रो इकोनोमि

 

आफ्नो मन्त्रालयका काममा प्रधानमन्त्रीले सिधै हस्तक्षेप गरेको भनी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् । हस्तक्षेपको कुरा उठाइरहेका मन्त्री यादवले असहयोग गरेको आरोप पनि प्रधानमन्त्रीमाथि लगाउनपछि परेका छैनन् । तर, केही समययता मन्त्री यादवसँग असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाउनका निम्तिपनि मन्त्रीहरुको सामूहिक राजीनामा गराउन लागेको बताइन्छ ।

 

मन्त्रालयका कामहरुमा गतिशीलता आउन नसकेको ठहर गरी प्रधानमन्त्रीले आफ्नै मातहतमा निरीक्षण तथा अनुगमनका लागि समिति गठन गरी प्रत्येक मन्त्रालयमा निरीक्षण तथा अनुगमन गराइरहेको अवस्थामा मन्त्री यादवबाट यस्तो अभिव्यक्ति सार्वजनिक भएको छ । आफूनिकट नेताहरुसँगको भेटवार्तामा मन्त्री यादवले यस्ताखाले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

 

मन्त्री यादवको पार्टी संघीय समाजवादीबाट सरकार छाड्न चर्को दबाब आइरहेका बेला उपप्रधानमन्त्री यादव र प्रधानमन्त्री ओलीको बीचमा सम्बन्ध बिग्रँदै जानु राम्रो संकेत नभएको राजनीतिक विश्लेषकहरुको ठहर छ । आफूले सम्हालेको मन्त्रालयका कतिपय विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउन पनि प्रधानमन्त्रीले असहयोग गरेको उनको आरोप छ ।

 

स्वास्थ्य मन्त्रालयका कतिपय विभागमा खाली रहेका स्थानमा पदपूर्ति गर्दा विभागीय मन्त्रीसँग परामर्श नै नगरी प्रधानमन्त्रीले स्वविवेक प्रयोग गरी गर्ने गरेको भन्दै मन्त्रीे यादव तर्सन थालेका छन् । तत्कालीन संघीय समाजवादी पार्टीको सिफारिसमा २ नम्बर प्रदेश प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थलाई बर्खास्त गर्दा आफूसँग सल्लाहसमेत नगरेको उनको गुनासो छ । सरकारमा सहभागी दलसँग सल्लाह नै नगरी प्रदेश प्रमुखहरु हेरफेर गरेकोमा उनको चित्त दुखेको छ ।

 

उता प्रधानमन्त्री भने आफू बहाल रहेको मन्त्रालयका कामहरुको वास्तै नगरी विदेश भ्रमणमा मात्र रमाउने मन्त्री यादवको चालादेखि सन्तुष्ट नरहेको बताइन्छ । त्यस्तै विभिन्न संस्थामा रिक्त रहेका पदहरुमा नियुक्तिको लागि मन्त्री यादवले मन्त्रीपरिषदमा प्रस्ताव लगेपनि प्रधानमन्त्रीको निर्देशनमा ति प्रस्तावहरु पेण्डिङमा बसेको चर्चा सिंहदरबारमा छ । त्यसोत यादवले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा आफ्ना सल्लाहकार केके राईलाई नियुक्त गर्ने गरी प्रस्ताव मन्त्रीपरिषदमा पठाएका थिए । तर, प्रधानमन्त्रीले उक्त पदमा डा. भगवान कोइरालालाई नियुक्ति गरिदिए । त्यस्तै स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. शुशील नाथ प्याकुरेलको पदावधि एक वर्ष बढाउन पठाएको प्रस्ताव पनि मन्त्रीपरिषदमा अलपत्र परेको थियो ।

 

सचिव फेरिरहने मन्त्री यादव आफूले इच्छाएको व्यक्तिलाई मन्त्रालयको सचिवमा तान्न चाहन्छन्, तर यो तान्ने र तानिने क्रमले पनि नाटकीय स्वरुप ग्रहण गरिसकेको छ । गएको १९ महिनाको अवधिमा यादवले आफ्नो मन्त्रालयमा ६ जना सचिव हेरफेर गरिसकेका छन् । आफूले चाहेको सचिव सरुवा गर्न नसकेका मन्त्री यादवले सचिव सरुवामा पनि प्रधानमन्त्रीले हस्तक्षेप गर्दै आएको गुनासो गर्दै आएका छन् ।

 

मन्त्री यादवको यो भनाइसँगै संविधान संशोधन नगरिएको र आफूहरुलाई भुलभुलैयामा पारेको भनी संघीय समाजवादी पार्टीमा बढिरहेको असन्तुष्टि सरकारका लागि केही अप्ठेरो हुनसक्ने अनुमान राजनीतिक वृत्तमा फैलिइरहेको छ । अर्कोतिर, सरकार छाड्नका लागि यादवले आफूअनुकूल वातावरण निर्माण गर्न-गराउन लागेको भनी उनीमाथि आरोप पनि लाग्न थालेको छ ।

 

यही कात्तिक २९ र ३० गते समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सरकार छाडेर संघर्षमा जान नेतृत्वलाई दबाबस्वरुप बस्न थालेको खुल्न आएको छ । यसभन्दा अघिल्लो बैठकमा मन्त्री उपेन्द्र यादवमाथि तत्काल सरकार छाड्न दबाब परेको थियो । यसपटक प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि ‘अल्टिमेटम’ दिएर सरकारबाट बाहिरिने संभावना पनि प्रवल देखिएको छ ।

 

यता प्रधानमन्त्रीले मन्त्रीमण्डल पुर्नगठनको तयारी गर्नु र अर्कोतिर समाजवादी पार्टीले सरकार छोड्ने तयारी गर्नु आफैमा संयोग जस्तो हुन गैरहेको छ । आज भन्दा १८ महिनाअघि ओली सरकारमा समाजवादी पार्टीका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री यावदका साथै सहरी विकास मन्त्री इस्तियाक राई र स्वास्थ्य राज्यमन्त्रीमा डा. सरोज यादव सहभागी छन् । भने संसदमा १६ स्थान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...