किन डराए भारतसँग प्रचण्ड भने भारतीय अतिक्रमणलाई तत्काल अन्तर्राष्ट्रियकरण नगरौं
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा विवादका सम्बन्धमा ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने बताएका छन्। भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने उनको भनाइ छ। ‘गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौंला’, संसद्को राज्यव्यवस्था समितिमा उनले भने ।
उनले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेको सुनाए । लिम्पियाधुरापूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेका विषयमा अन्योल नरहेको उनले बताए। ‘महाकाली नदीको मुहान लिम्पियाधुरा हो’, उनले भने, ‘त्यसको पूर्व नेपाल हो भने पश्चिम भारत हो।’ ‘विगतमा स्थिर सरकार नहुँदा समस्या देखिएको जिकिर उनले गरे । ‘नेपालको एक इन्च पनि जमिन छाड्दैनौं’, उनले भने, ‘अर्काको भूमि पनि लिँदैनौं।’
अब लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्छाैं:
गृहमन्त्री थापा
भारतको अतिक्रमणमा परेको दार्चुलासहितका क्षेत्रमा सरकारले सीमा सुरक्षा बल थप्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले सीमा समस्या समाधान गर्न सरकारले पहलकदमी लिइरहेको बताए । उनले आफ्नो भूमि रक्षाका लागि सीमा सुरक्षा बल थप्न लागिएको जानकारी दिए।

‘सीमा समस्या हल गर्न सिंगो राष्ट्र एक भएको छ । सीमा सुरक्षाको जिम्मेवारी गृहमन्त्रालयको हो’, उनले भने, ‘दार्चुलामा अहिले पनि सीमा सुरक्षा बल छ। तर विवादित क्षेत्रमा सीमा सुरक्षा बल राख्न सकिएको छैन।’ गृहमन्त्री बादलले भारतबाट भएको नेपाली भूमि अतित्रक्रमणको समस्या आगामी दिनमा हल गरेसँगै लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्ने जानकारी दिए।


